अर्थ

त्रिशुली माथि जिपलाईन संचालन गरिँदै

जिपलाइन संचालन हुने रिसोर्ट। तस्बिरः नागरिक

गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।  

उक्त परियोजनाका डिजाईनर इन्जिनियर मुकेश अधिकारीले साहसिक प्रडक्ट निर्माण गरेको बताए। ‘अहिले करिब ७० प्रतिशत काम सकिएको छ, आउँदो डिसेम्बरबाट संचालन गर्ने तयारीमा छौं’ अधिकारीले भने। पाँचसय मिटर लामो बन्ने जीपलाइनको चारसय मिटर भाग त्रिशूली नदीमाथि पर्ने भएकाले झनै साहसिक र रोमाञ्चक हुने उनले बताए।  

‘रिभर फन बिच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना हुने बताए।  दुईवटा डोरीको प्रयोग गरिने हुँदा सुरक्षित भईने उनले बताए। २०७७ फागुन ४ गते जिपलाइनको शिलान्यास गरिएको थियो। १८ मिटर अग्लो पाँचतले टावरको चौथो तलाबाट जीपलाइन सुरु हुने इन्जिनियर अधिकारीले बताए। जीपलाइन युरोपियन मापदण्डमा भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ।  

८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशूली नदीमाथि निर्माण भइरहेको छ। मिनी जीपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एडभेञ्चर पार्क पनि निर्माणको चरणमा रहेको इन्जिनियर अधिकारीले बताए। जीप लाइनका लागि बनाइएको टावरको तीनवटा तलामा क्याफे सञ्चालन गर्ने तयारी छ। पर्यटकका लागि खान बस्न सहज होस् भन्ने उद्देश्यले रेष्टुरेन्ट दुवैतर्फ र रिसोर्टमा बास बस्ने ब्यवस्था पनि रहेको उनले बताए।  

उक्त कम्पनीले नौवर्ष देखि रिसोर्ट र र्‍याफ्टिङ व्यवसाय संचालन गर्दै आएको छ। आन्तरिक र बाह्य पर्यटक त्रिशुलीमा र्‍याफ्टीका लागि आउने गर्छन्। मुख्य सिजनका बेला रिसोर्ट खचाखच हुने गरेको छ। जिपलाईन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा पर्ने संचालक अधिकारी बताउँछन्। 

प्रकाशित: ३ आश्विन २०७८ ०९:०८ आइतबार

त्रिशुली जिपलाईन