अर्थ

ऊर्जामन्त्री भुसालद्वारा लगानी गर्न अनुरोध

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएकाले लगानी गर्न संयुक्त अरब इमिरेट सरकारलाई अनुरोध गरेकी छन्। 

मन्त्री भुसालले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटघाटको क्रममा संयुक्त अरब इमिरेट (युएई) का राजदूत सइद हम्दन अल–न्वाबीसँँग नेपालमा लगानीको पर्याप्त सम्भावना भएकाले लगानी गर्नअनुरोध गरेकी हुन्।  

सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए। उनले आगामी नेभेम्बर १५ देखि १८ तारिखसम्म अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन अनुरोध गरेका थिए। 

सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसाललाई युएई सरकारको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए। मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई आभार व्यक्त गर्दै आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन्।

मन्त्री भुसालले रोजगारीको सिलसिलामा दुई लाखभन्दा बढी नेपाली युएईमा रहेका र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन्। उनले कोभिड–१९ महामारीबीच पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको भन्दै युएई सरकारप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।

प्रकाशित: २ आश्विन २०७८ ०३:०३ शनिबार

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल