अर्थ

पर्यटक आउने सहज व्यवस्था मिलाउनु पर्छ: होटल व्यवसायी

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन्।  

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए। 

उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा लगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताए। उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए।

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताए। उनले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताए।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको शंकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताए। कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ। 

प्रकाशित: ३१ भाद्र २०७८ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App