अर्थ

भन्सारविन्दुमा स्क्यानर राख्न निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन्। भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।

भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण र मूल्यांकनमा इमान्दारी कायम गरी राजस्व संकलन बढाउन कर्मचारीलाई निर्देशन दिए। अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनको जोड थियो।  

राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारी माथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएको भन्दै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व संकलन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सदाचार र राष्ट्रहितलाई ध्यानमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित: २८ भाद्र २०७८ ०५:०८ सोमबार

अर्थमन्त्री जनार्दन शर्मा भन्सार विभाग भेइकल स्क्यानर जडान