अर्थ

तराईका ग्राहकको पहिलो रोजाइ पहाडी फलफूल

चुरे गाउँपालिका–३, सहजपुरकी नन्दादेवी शाहले किराना पसललाई बदल्दै पछिल्लो समयमा पहाडी क्षेत्रमा किसानले फलाएका फलफूल बेच्न थालेकी छिन्। किराना पसलमा खासै व्यापार नहुने भएपछि उनले स्थानीय कृषि उत्पादन बेच्न थालेकी हुन्। कैलाली र कञ्चनपुरको तराई क्षेत्रबाट गर्मी छल्न पहाड उक्लने आन्तरिक पर्यटकलाई पछिल्लो समयमा यहाँ उत्पादित फलफूल पहिलो रोजाईमा पर्न थालेको छ।

तराईका ग्राहकले स्थानीय फलफूल रोज्न थालेपछि सोही अनुसारको व्यापार परिवर्तन गरिएको बताउँदै उनले भनिन्, ‘अहिले यहाँका सबै व्यापारीले स्थानीय कृषि उपज बेच्न थालेका हुन्।’ यहाँ मौसम अनुसारका फलफूल तथा तरकारीहरुमा ग्राहकको पहिलो रोजाइ भएको भन्दै सम्झना तरकारी तथा फलफूल पसलका सञ्चालक ललित शाहले भने, ‘पहाडको तरकारी तथा फलपूmलमा तराईबाट आएका ग्राहकको पहिलो रोजाई हुन्छ, त्यसैले अहिले यहाँ पहाडी कृषि उपजहरु बिक्री गर्ने व्यापारी बढेका छन्।’ अहिले उनले पसलमा खुद्रा सामानका साथै पहाडी क्षेत्रमा किसानले उत्पादन गरेका अदुवा, टमाटर, काँक्रा, अचार र दालहरु राखेका छन्। ‘हामीले पहाडमा उत्पादन हुने फलफूललाई अचारका रुपमा डिब्बामा प्याक गरेर बेच्न थालेका छौँ,’ उनले भने, ‘यहाँको उत्पादन तराईका ग्राहकका लागि आकर्षित भएका कारण पछिल्लो समयमा हामीले पनि व्यापार व्यवसायमा परिवर्तन गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन थालेका छौँ।’

सहजपुर बजारमा कृषि उपजको राम्रो व्यापार हुन थालेपछि आसपासका किसानले पनि व्यवसायिक तरकारी खेती गर्न थालेका छन्। ‘हामीले यहाँका किसानका तरकारी फलफूल बेचिदिन थालेपछि किसानले व्यवसायिक कृषि गर्न थालेका छन्,’ उनले भने, ‘योभन्दा पहिले परम्परागत तरकारी खेती गर्ने किसानहरु अहिले भने, ‘आधुनिक कृषि फर्ममा जान थालेका छन्, जसले गर्दा पहिलेभन्दा बढी कृषि उत्पादन भएपछि किसानको आर्थिक अवस्था सुध्रिन थालेको छ।’

अहिले पहाडी काँक्राको सिजन भएको बताउँदै व्यापारी इन्द्रा रिजालले भनिन्, ‘अहिले यहाँ बढी पहाडी काँक्राको व्यापार बढ्दो छ।’ खासगरी सहजपुर बजार मौसमी बजार भएको बताउँदै उनले भनिन्, ‘यहाँ पहाडमा फल्ने मौसम अनुसारका फलफूलको बजार हो ।’ अहिले भने सहजपुर बजारमा डोटी बडिकदारको चुक, अदुवा, तामाको अचार, पहाडी काँक्रा, लिउँडो, डल्ले खुर्सानी लगायतका पहाडी फलफूलहरु बजारमा बिक्रीका लागि राखिएका छन्। बजारमा ग्राहकको पहिलो रोजाइ पहाडी काँक्रा, पहाडी केरा र तरकारीहरु भएको उनले बताइन्।

सहजपुरको व्यापारका लागि अहिले बर्खे उत्पादन जत्तिकै आकर्षित छ, त्यत्तिकै आकर्षित भने हिउँदे फलफूल पनि हुने गरेका छन्। हिउँदमा सहजपुर पूरै सुन्तलामय हुने गरेको बताउँदै उनले भनिन्,‘अब कात्तिकदेखि यहाँ पूरै बजार सुन्तलामय हुन्छ।’ निगालीका सुन्तला सुदूरपश्चिमका ग्राहकका लागि प्रमुख रोजाइमा पर्ने गरेको उनले बताइन्। ‘निगाली क्षेत्रका सुन्तला रसिला पनि उत्तिकै हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले यहाँ पुग्ने जो कोहीले सहजपुरमा पुगेर सुन्तला किनेर लैजाने गर्छन्।’

यस्तै डोटीको बोगटान क्षेत्रको मह पनि यहाँ पुग्ने ग्राहकको पहिलो रोजाइमा पर्ने उनले बताइन्। ‘बोगटान क्षेत्रको मह यहाँका ग्राहकको पहिलो रोजाइमा पर्छ,’ उनले भनिन्, ‘यसका साथै कैलालीको निगाली क्षेत्र र डोटीको बडिकेदार र जोरायल क्षेत्रका किसानको उत्पादन नै हामीले बिक्री वितरणका लागि पसलमा राख्ने गरेका हौँ, जो पूर्ण अर्गानिक छन्।’  

प्रकाशित: २६ भाद्र २०७८ १२:४८ शनिबार

पहाडी फलफूल उखु किसान