अर्थ

तीजमा पनि भएन सुनचाँदीको कारोबार, व्यवसायी निराश

फाइल तस्बिर

सुनको गहना बढी कारोबार हुने हरितालिका तीजमा समेत कारोबार नभएपछि व्यवसायी मारमा परेका छन्। कोरोना तथा सुनको मूल्यमा भारी वृद्धि भएपछि तीजको बेला पनि सुनको कारोबारमा गिरावट आएको हो।

दुई वर्ष अघिसम्म तीजको बेला राम्रो कारोबार गरेका सुनचाँदी व्यवसायीहरुले यस वर्ष पसल सुनसान बनेको बताए। अहिले सुन तोलाको ९० हजार रुपैयाँ बढी छ।

कोरोना र मूल्यवृद्धिको असर सुनचाँदी व्यापारमा परेको सुनचाँदी बिक्रेताहरु बताउँछन्। ‘तीजमा समेत सनुचाँदीको कारोबार भएको छैन’ तौलिहवाको शिवमन्दिर टोलस्थित संजय ज्वेलर्सका मालिक प्रदीप बर्माले निराश हुँदै भने ‘ तीजको १५ दिनयता खासै कारोबार भएको छैन।’ मूल्यवृद्धिको प्रत्यक्ष असर सुनचाँदी व्यापारमा परेको उनी बताउँछन्। एक महिना यता कारोबार स्थिर छ। २ वर्ष अघिसम्म तीजको सिजनमा दैनिक २० देखि ३० तोला सुन बेचेको तौलिहवास्थित अर्जुन सुनचादी पसलका मालिक अर्जुन बर्माले अहिले दैनिक २ तोला सुन पनि बिक्री नभएको गुनासो गरे। ‘सुनको अधिक कारोबार हुने तीजमा समेत सुनको कारोबार भएको छैन,’ उनले भने, ‘सुनको कारोबार नभएपछि आफूहरु निकै मारमा परेको चोकबजारमा रहेको नित्यानन्द ज्वेलर्सका मालिक नित्यानन्द बर्माले गुनासो गरे। ‘एक महिनादेखि कारोबार खासै छैन, तीजमा समेत माल बिक्री नभएकाले व्यापार चौपट भएको छ,’ उनले  दुःखी हुँदै भने।

दुईवर्ष अघिसम्म तीज आउनु एक महिना अघिदेखि सुनचाँदी पसलमा ग्राहकको भीडभाड हुने गरे पनि यस वर्ष तीजमा कारोबार नै नभएको उनी बताउँछन्। तौलिहवा बजारमा रहेका डेढ दर्जन बढी सुनचाँदी पसलहरु तीजमा समेत सुनसान छन्। सुनको कारोबार हुने मुख्य सिजन तीजका बेलासमेत व्यापारमा मन्दी छाएको व्यापारीहरु बताउँछन्।

सुनचादी व्यवसायी संघका अध्यक्ष देवी बर्माले सुनमा भएको अधिक वृद्धिदर र कोरोनाले यस वर्ष तीजमा हुने कारोबारलाई ठूलो असर गरेको बताए।

उनका अनुसार मूल्य बढेकाले किन्नेभन्दा बेच्नेको संख्या बढ्दो छ। उता सुनका सामग्री बनाउने कालीगढ  काम नपाउँदा फुर्सदिला बनेका छन्। कालीगढ उमेश बर्माले भने ‘तीजको बेला कामको मारामार हुन्थ्यो, यसपालि त कामविहीन बन्नु परेको छ।’

तीजका लागि व्यापारीहरुले पसलमा राखेका छड्के तिलहरी, मंगलसुत्र, झुम्का, चन्द्रमा लगायतका सुनका आइटम बिक्री गर्न नपाएपछि थन्काएर राखेको व्यापारीहरु बताउँछन्।

प्रकाशित: २४ भाद्र २०७८ ०८:२९ बिहीबार

सुनको गहना