अर्थ

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टि

पंचकोशी तिर्थस्थलमध्ये नाविस्थानमा सदियौंदेखि बलिरहेको ज्वाला । चिनियाँ टोलीले ठाउँलाई केन्द्रविन्दू मानेर अन्वेषणको काम सुरु गरेको हो । तस्बिरः गोविन्द/नागरिक

नेपालको भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोली गरेको अन्वेषणले पनि पुष्टि गरेको छ। २०७६ असोजबाट दैलेखको दुल्लु नगर पालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेका थिए। 

कोभिड सुरुसंगै ३ महिना प्रारम्भित अन्वेषणको काम सकेर चिनियाँ टोली फिर्ता भएको थियो। धन्ने दुई वर्ष ढिला गरि चिनियाँ टोलीले दिएको प्रतिवेदनमा पेट्रोलियम पदार्थ रहेको उल्लेख गरेका हुन्। तर, परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको भूगर्भ विभागले जनाएको छ।

दैलेखको पंचकोशी क्षेत्रको पश्चिमतिर कम्तिमा ४ किलोमिटरमा तत्काललाई एक ठाउँमा मात्र ड्रिलिङ हुने चिनियाँ प्रतिवेदनमा उल्लेख रहेको भूर्गभ विभागले जनाएको छ। भौगलिक अवस्था अग्लो र होचो भएकाले ड्रिलिङ गर्ने ठाउँ अति संवेदनशिल रहेको जनाईएको छ। ‘चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको छ।’ भूर्गभ विभागका भूगर्भ विद् सुधिर रजौरेले भने, 'कोभिडले गर्दा ढिलाई भएको हो अब, ड्रिलिङ गर्ने कार्य सकिए पेट्रोलियम पदार्थ कहाँ कति मात्रामा छ पुरै विवरण आउँछ।’ 

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनीको अवस्था कस्तो भनेर एमआरआई जस्तो सर्वे गर्ने गरिएको थियो। अब, चिनियाँ टोलीले ड्रिलिङपछि भण्डारण कति छ,  कहाँसम्म फैलिएको कहाँबाट निकाल्न मिल्छ, उत्खननमा खर्च कति आउने, फाईदा कति हुने ईत्यादि कुरा गर्नेछ। भूगर्भ विभागका अनुसार ड्रिलिङ गर्न काम सुरु भएको समयले कम्तिमा ५ महिना लाग्ने भूगर्भ विभाग भूगर्भ विद् तथा पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए।

अन्वेषणका क्रममा अनुसन्धान टोलीले जमिनमुनीमा कम्तिमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्नेछन्। अन्वेषणमा चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्वविद् टयान फुएनले गरेका छन्।

प्रकाशित: २१ भाद्र २०७८ १२:५४ सोमबार

पेट्रोलियम चिनियाँ टोली