अर्थ

जुम्ला भन्दैछ : यो समय स्याउको हो

जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागिपरेका छन्। स्याउको बगैँचामै व्यापारी पुगेर स्याउ लिन थालेपछि किसानलाई निकै राहत मिलेको छ। अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।  

स्याउ किसान जीवनबहादुर बुढा स्याउले जुम्लाको समृद्धि हासिल गरिरहेको बताउँछन्। उनले भने, ‘यो समय स्याउको हो। अहिले निरन्तर कर्णाली राजमार्गबाट स्याउ निर्यात भइरहेको छ। किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। व्यापारीलाई स्याउ उठाउन भ्याइनभ्याइ छ। जुम्ला यो समय स्याउमय छ।

कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउ बगैँचामै पुगेर रमाउन थालेका छन्। उनीहरु बगैँचामै पुगेर स्याउको स्वाद लिने र रमाइलो गर्ने गरेका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष स्याउ उत्पादनमा गिरावट आएको छ। तर कम उत्पादन भएपनि माग बढ्दो छ। जसका कारण किसान घाटामा पर्ने स्थिति छैन।  

स्याउ नै स्याउ भएकोले यो समय निकै मनोरम पनि छ। यो वर्ष स्याउको क्षेत्रफल मुताविक स्याउ फलेन। तर मूल्य पनि कम छैन। कृषि प्रमुख बालकराम देवकोटाले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन हुँदैछ। हरेक स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको छ। तर यो वर्ष ५ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन नहुने अनुमान गरिएको छ।’

यो पटकको स्याउ पूर्ण रुपमा पाक्न पाएको छ। कलर भरिन पाएको छ। गुलियोमात्र शतप्रतिशत छ। कृषि विकास कार्यालयले भदौ १० भन्दा अगावै किसानलाई स्याउ नटिप्न आग्रह गरेपछि यहाँको स्याउले पूर्ण रुपमा पाक्न पाएको हो।  

अहिले बगैंचामै व्यापारीले प्रतिकेजी ६० रुपैयाँमा स्याउ खरिद गरिरहेका छन्। अहिलेसम्म २ सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भइसकेको छ। यहाँको स्याउको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगंञ्ज हुदै काठमाडौँ र पूर्वतिरका बजारसम्म यहाँको स्याउ जान्छ। नेपालगनजमा जुम्ली स्याउको प्रतिकेजी १ सय ३० रुपैयाँ र सुर्खेतमा ९० देखि १ सय रुपैयाँसम्म प्रतिकेजी मूल्य छ।  

कृषि कार्यालयले ए र बी ग्रेडको स्याउमात्र निर्यात गर्न किसानलाई सुझाव दिएको छ। सी ग्रेडको स्याउ जिल्लामा बेच्न र डि ग्रेड र ड्यामेज भएको स्याउ प्रशोधनका लागि उद्योगमा लैजान भनेको छ। यहाँ स्याउ प्रशोधनका लागि एपी ब्राण्ड उद्योग र आरके डिस्टीलरी उद्योग छन्। यी उद्योगबाट स्याउका बिभिन्न ब्राण्ड उत्पादन गरिन्छ। किसानले स्याउबाट चाना, जाम, जेली, साइटरसमेत बनाउँदछन्।  

यो व्र्ष कृषि विकास कार्यालय जुम्लाले ९ हजार मेट्रिकटन स्याउ फलाउने लक्ष्य राखेको थियो। तर पाँच हजार मेट्रिकटन स्याउमात्र फल्ने अनुमान गरिएको छ। यो वर्ष स्याउ कम फलेपनि निकै गुणस्तरीय दाना बेच्न पाएकोमा किसान उत्साहित छन्।  

जुम्ला स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ। यहाँका किसानले त्यही कार्टुनमा स्याउ बजारसम्म पुर्याएका छन्। यो कार्टुनमा केमिकल प्रयोग नगरको शुद्ध अर्गानिक स्याउमात्र राखिन्छ। जो स्याउ खान योग्य हुन्छ।  

गत पुष माघ महिनामा हिउँ नपर्नु, चैत बैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ वर्षैपिच्छे पालो गरेर फल्ने भएकोले यो वर्ष स्याउ उत्पादनमा कमी आएको कृषि विज्ञहरु बताउँछन्। केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो। तर त्यसको क्षति एकिन गरेर किसानले विमाङ्क रकम पाउनेछन्।

जुम्लामा १६ हजार स्याउ बगैचा छन्। ३ हजार ८ सय ५० हेक्टरमा स्याउ खेती गर्छन्। एक बगैँचा हुनका लागि न्यूनत्तम २५ विरुवा स्याउको लगाएको हुनुपर्छ। यो वर्ष ५० हेक्टर उच्च जनघनत्वको स्याउको क्षेत्रफल बढेको हो।

जुम्ला स्याउमय छ। तर किसानले सिधैँ स्याउ बजारसम्म लैजाने भएकोले जुम्ली बजारमा स्याउ फाट्टफुट्टमात्र पाइन्छ। अहिले ए ग्रेड स्याउ प्रतिकेजी ६० रुपैयाँ, बी र सी ग्रेडको स्याउ प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ। यो वर्ष स्याउको उत्पादन घटेपछि मूल्य र माग बढ्दो छ। कृषि प्रमुख देवकोटाले भने, ‘कुल उत्पादनको आधा स्याउ जिल्ला बाहिर निर्यात हुन्छ। जुम्लादेखि गोल्डेन, रोयल, रेड डेलिसियस जातको स्याउ फल्छ। योसँगै चक्लेट, स्वीटएम्री र पिनि जातको स्याउ पनि फलिरहेको छ।’  

स्याउ टिप्न किसानको आफ्नै सामाजिक नियम

जुम्लाका किसानले स्याउ टिप्नको लागि सामाजिक नियम बनाएका छन्। त्यो नियमअनुसार भदौ २० देखिमात्र स्याउ टिप्न मिल्छ। त्योभन्दा अगावै स्याउ टिप्ने किसान यो नियमभित्र पर्दैन। जिल्लाको पातारासी, गुठिचौर र कनकासुन्दरी गाउँपालिकाका किसानले आफ्नै सामाजिक नियम बनाएर स्याउ टिप्न थालेका हुन।  

अहिलेसम्म ती स्थानीय तहका स्याउ टिपिएको छैन। उनीहरुका अनुुसार स्याउ टिप्न भदौ २० गते माथिको समय उपयुक्त हो। यो बेला स्याउमा पूर्ण कलर आउँछ। गुलियोको मात्रा पूर्ण रुपमा भरिन्छ। हेर्न लायक ठूलो र आकर्षक दाना लाग्छ। बजारमा लैजाँदा थन्कदैन। यही स्याउको माग र मुल्य दुइटै बढ्छ।  

स्याउ टिपी सकेपछि भण्डारण गर्ने व्यवस्था नभएकोले रुखमै राम्रोसित पाक्न दिइएको किसान बताउँछन्। स्याउ किसान रमेश रावतले भने, ‘सामाजिक नियमले यहाँको स्याउमा गुणस्तरता प्रदान गरेको छ। यो नियम वर्षैपिच्छे लागू हुनेछ।’

यहाँको एक नगरपालिकासहित ८ वटै स्थानीय तहमा स्याउ फल्छ। पहिले सडक नहुँदा स्याउ थन्किथ्यो। गाईबस्तुलाई दानाका रुपमा खुवाइन्थ्यो। कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै यहाँको जिल्ला बाहिर निर्यात हुन थालेको छ। उत्पादित सबै स्याउ जिल्ला बाहिर जाँदा किसानलाई स्याउ खेती गर्ने हिम्मत मिलेको छ।  

जुम्ला विमानस्थल र बसपार्कमा बेच्न राखिएको स्याउ फाट्टफुट्ट बिक्री हुने गरेको छ। कृषि विकास कार्यालय जुम्लाले आगामी दिनमा उच्च जनघनत्वको स्याउको क्षेत्रफल बढाउने र नयाँ स्याउ बगैँचा स्थापना गर्ने, स्याउको प्रशोधन, उत्पादन, रोगकिराको व्यवस्थापन र बजारीकरणका बारेमा सचेतना फैलाउने कार्यक्रम राखिएको कृषि प्रमुख देवकोटा बताउँछन्।

प्रकाशित: १८ भाद्र २०७८ ११:३० शुक्रबार

कर्णाली राजमार्ग जुम्ली स्याउ