अर्थ

बुद्धको पोखरा–सिमरा उडान सुरु

बुद्धले बुधबारदेखि सुरु गरेको पोखरा सिमरा उडान । तस्बिरः नागरिक

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि संख्यामा उडान गर्न सकिने बुद्धको भनाई छ ।  

पोखरा–सिमरा रुटमा सानो जहाज (१८ सिट) बाट उडान थालेको बुद्धले आवश्यकता अनुसार सबैभन्दा ठुलो (७० सिट) आकारको जहाज पनि प्रयोगमा ल्याउन सक्ने बताएको छ । बुद्धले पोखराबाट भारतीय सिमा नजिकको तराईको गन्तव्यमा गर्न थालेको तेश्रो उडान हो । यसअघि भैरहवा, नेपालगञ्ज सिधा उडान गरिरहेको छ । सिमरा पछि विराटनगर उडान थाल्ने बुद्धको योजना छ ।  

भैरहवा र नेपालगञ्जसम्मको उडानबाट उत्साही भएपछि सिमरा उडान गर्न प्रोत्साहन मिलेको बुद्धको भनाई छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट बुधबार दिउँसो १२ः२० मा सिमराका लागि जहाज उडेको थियो । जहाज सिमराबाट सब १ बजे पोखराका लागि उडेको थियो । यही समयमा सधैं उडान हुने बरालले बताए । पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार उडान थाल्ने योजना रहेको उनले सुनाए ।

‘हुन त सिमरा पनि भारतीय सहरसँग नजिकको गन्तव्य हो । पहिलो चरणमा सातामा तीनदिन उडान गर्ने हो । आवश्यकता अनुसार जहाजको आकार ठुलो हुन सक्छ वा दैनिक उडान संख्या पनि बढाउन सकिन्छ,’ उनले भने, ‘सातैदिन उडान गर्न पनि सकिन्छ ।’ १८ सिट क्षमताको बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान थालेको उनले बताए । पोखराबाट सिमराको ७१ सय ७०, ५२ सय ७० र ४७ सय ७० रुपैयाँ भाडा तोकिएको छ । पोखराबाट सिमरा पुग्न ३५ मिनेट लाग्छ ।  

पहिलो उडानमा पोखरबाट १८ जना यात्रु सिमरा पुगेका थिए । सिमराबाट ८ जना यात्रु लिएर जहाज पोखरा आएको थियो । उडान शुभारम्भमा गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा सहित पोखराका पर्यटन व्यसायी सिमरा गएका थिए । मन्त्री शर्माले पर्यटन प्रवद्र्धनमा आन्तरिक उडानले महत्वपूर्ण अर्थ राख्ने बताए । 

प्रकाशित: १६ भाद्र २०७८ १२:०५ बुधबार

बुद्ध एयर पोखरा–सिमरा उडान