अर्थ

साढे १० अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

कोरोना महामारीकै अवधिमा वाणिज्य बैंकहरूले साढे १० अर्ब रूपैयाँभन्दा बढी नाफा बढाएका छन्। आर्थिक वर्ष २०७७/७८ को अन्तिम चौमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकहरूको नाफा बढेको देखाएको हो। आर्थिक वर्ष २०७६/७७ मा सबै बैंकहरूले ५२ अर्ब ८० करोड रूपैयाँ नाफा गरेकोमा गत वर्ष बढेर ६३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ। 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूका अनुसार पछिल्लो विवरण हेर्दा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा वृद्धि हुँदा लगानीकर्तालाई वितरण गर्ने लाभांश पनि केही बढ्ने देखिएको छ। यद्यपि बैंकहरूले कति लाभांश दिने भन्ने विषय सञ्चालक समितिले निर्णय गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ ।

‘कुन बैंकले कति लाभांश वितरण गर्छन् भन्नेबारे अहिले नै केही भन्न नसकिए पनि धेरै बैंकले अघिल्लो वर्षको तुलनामा बढी नै आम्दानी गरेका छन्,’ वाणिज्य बैंकका एक कार्यकारी अधिकृतले भने। बैंकहरूले नाफा अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरूले औसतमा १३ प्रतिशत लाभांश वितरण गरेका थिए। त्यतिखेर केही बैंकले ३५ र केहीले पाँच प्रतिशत लाभांश वितरण गरेका थिए। 

आर्थिक वर्ष २०७६/७७ अघि भने बैंकहरूले लगानीकर्तालाई औसतमा २० प्रतिशत लाभांश दिँदै आएका थिए। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरले बैंकिङ क्षेत्र पनि समस्यामा पर्दा नाफा घटेको थियो। यद्यपि कोरोना महामारीमा बैंकहरूले लगानीकर्तालाई लाभांश वितरण गर्ने हैसियत बनाएपछि धेरैले बैंकिङ प्रणाली सबल बन्दै गएको ठानेका थिए। ‘अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले नाफा वृद्धि गर्नुलाई पनि सोही अर्थमा बुझ्न सकिन्छ,’ एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘बैंक पारदर्शी हुँदा पनि सर्वसाधारणले विश्वास गरिरहेका छन् ।’  

कोरोना महामारीमा पर्यटनबाहेक अन्य क्षेत्रको व्यवसाय त्यति नराम्रो नभएको उल्लेख गर्दै उनले यतिखेर बैंक मात्र नभई धेरै व्यवसाय सोचेजस्तो समस्यामा नपरेको दावी गरे। अपरिष्कृत वित्तीय विवरण अनुसार केही बैंकले गत वर्षको आम्दानीबाट ५० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएका छन्। नेपाल राष्ट्र बैंकले २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत वर्षको आम्दानीमा लेखांकन गर्न सक्ने सुविधा दिएकाले धेरै बैंकका नाफा अझै बढ्ने सम्भावना छ।  

बैंकका सिइओहरू गत वर्षको आम्दानीबाट औसतमा बैंकहरूले २० प्रतिशत लाभांश वितरण गर्न सक्ने बताउँछन्। त्यस्तै अघिल्लो आर्थिक वर्षमा कमाएको आम्दानी र जगेडामा राखेको रकमबाट समेत बैंकहरूले लाभांश दिन सक्ने व्यवस्था छ।  

गत वर्ष नबिल बैंकको नाफा साढे चार अर्ब रूपैयाँ बढी पुगेको छ। नबिलले प्रकाशित गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा चार अर्ब ५० करोड ४४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। ग्लोबल आइएमई बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा ४१.८७ प्रतिशत नाफा वृद्धि गरेपछि असार मसान्तसम्म उक्त बैंकले चार अर्ब १२ करोड ६५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।  

सञ्चालनमा रहेका अधिकांश बैंकहरूले कोरोना महामारीमा अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष चार अर्ब ५२ करोड रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ। चुक्ता पुँजी नौ अर्ब १८ करोड ४८ लाख रूपैयाँको आधारमा बैंकले सेयरधनीलाई ४९ प्रतिशतभन्दा बढी लाभांश वितरणको क्षमता राख्छ। यो बैंकले अहिलेसम्म सर्वसाधारणलाई सेयर जारी गरेको छैन। सरकारी स्वामित्वकै नेपाल बैंकले गत आवमा तीन अर्ब ४९ करोड ७० लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ।  

गत वर्ष एभरेस्ट बैंकले दुई अर्ब ३६ करोड ४९ लाख रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। चुक्ता पुँजी आठ अर्ब ९३ करोड ३७ लाख रूपैयाँ रहेको उक्त बैंकले गत आवको नाफाबाट करिब २६ प्रतिशत लाभांश दिने क्षमता राख्छ। त्यस्तै, एक अर्ब ९२ करोड १७ लाख रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको एनआइसी एसिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रूपैयाँ हो। जसअनुसार गत आवको नाफाबाट बैंकले १६ प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता राख्छ। गत आवमा दुई अर्ब ३३ करोड ४७ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको एनएमबि बैंकले लगानीकर्तालाई करिब साढे १४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।  

इन्भेस्टमेन्ट बैंकसँग मर्जरको अन्तिम तयारीमा गरेको हिमालयन बैंकले दुई अर्ब १६ करोड ९८ लाख रूपैयाँ वितरणयोग्य नाफा गरेको छ। गत आवमा सानिमा बैंकले एक अर्ब ६८ करोड ९७ लाख रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। प्राइम बैंकले दुई अर्ब ६६ करोड ३१ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष वितरणयोग्य नाफा बढाएर नेपाल बंगलादेश बैंकले एक अर्ब ४७ करोड ५२ लाख रूपैयाँ पु¥याएको छ।  

गत आवमा एक अर्ब ५७ करोड ८५ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको सिटिजन्स बैंकले लगानीकर्र्तालाई करिब १४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्ने देखिन्छ। त्यस्तै एक अर्ब ४८ करोड २४ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको प्रभु बैंकको अपरिष्कृत विवरण अनुसार सेयरधनीलाई करिब १३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।  

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा वृद्धि गरी गत आवमा एक अर्ब १७ करोड १७ लाख रूपैयाँ पुर्‍याएको छ। माछापुच्छे बैंकले गत आवमा एक अर्ब १३ करोड २७ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले गत आवमा एक अर्ब ९९ करोड ३३ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएकाले कायम सेयरधनीलाई करिब १२ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।  

बैंक अफ काठमान्डूले गत आवमा एक अर्ब १२ करोड ७१ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रूपैयाँ छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई करिब १२ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।  

त्यस्तै, सिद्धार्थ बैंकले पनि गत वर्ष नाफा वृद्धि गरी एक अर्ब २१ करोड ७६ लाख रूपैयाँ पुर्‍याएको छ। चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रूपैयाँ रहेको उक्त बैंकले गत आवको नाफाबाट सेयरधनीलाई करिब ११ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। कृषि विकास बैंकले गत आवमा एक अर्ब ७३ करोड ५० लाख रूपैयाँ वितरण योग्य नाफा कमाएको छ। जस अनुसार कायम चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रूपैयाँलाई हिसाब गर्दा करिब साढे १० प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ।  

मेगा बैंकले गत आवमा एक अर्ब ५१ करोड ५८ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएकाले सेयरधनीलाई १० प्रतिशतभन्दा बढी प्रतिशत लाभांश बाँड्न सक्छ। लक्ष्मी बैंकको भने लाभांश केही घट्ने देखिएको छ। गत आवमा एक अर्ब ३६ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको उक्त बैंकले साढे नौ प्रतिशत हाराहारी लाभांश बाँड्ने क्षमता राख्छ।  

गत आवमा करिब एक अर्ब १० करोड रूपैयाँ वितरणयोग्य नाफा गरेको कुमारी बैंकले करिब आठ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। एनसिसी बैंकले ७१ करोड ४७ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएपछि गत वर्षको नाफाबाट लगानीकर्तालाई करिब सात प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल कायम चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख रूपैयाँलाई आधार मान्दा उक्त बैंकले लगानीकर्तालाई करिब ६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

गत आर्थिक वर्षमा २२ बैंकको नाफा बढेको छ। स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, एसबिआई, सेन्चुरी कमर्सियल र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको भने केही नाफा घटेको छ। गत वर्ष नाफा वृद्धिको कारण कोरोना महामारीले राष्ट्र बैंकले दिएको प्राभेजनिङको सुविधा मुख्य रहेको बताइन्छ।  बैँक सञ्चालक भने लगानीको तुलनामा बैंकको नाफा अझै न्यून भएको बताउँछन्। लगानीको रकमलाई आरओई (रिटर्न अन इक्विटी) सँग तुलना गरेर हेर्ने हो भने नाफा न्यून रहेको उनीहरूको भनाइ छ। 

प्रकाशित: १५ भाद्र २०७८ ०२:०८ मंगलबार

कोरोना महामारीकै अवधि वाणिज्य बैंक