सरकारको संशोधित कार्यतालिका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग आर्थिक वर्ष २०७९/८० सम्म १८८७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । संशोधित कार्यतालिका अनुसार आयोजनाको म्याद अब एक वर्ष मात्रै बाँकी छ । प्रगतितर्फ अहिलेसम्म ११ सय १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । लक्ष्य अनुसार अझै ७ सय ६६ किलोमिटर सडक कालोपत्रे बाँकी छ । त्यति मात्रै होइन, आयोजनाअन्तर्गत पर्ने २३६ किलोमिटर खण्ड र २९ वटा पुलको ठेक्का व्यवस्थापन अझैसम्म भएको छैन । यस्तो अवस्थामा संशोधित कार्यतालिका अनुसार सम्पन्न नहुने लगभग निश्चित छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले मध्यपहाडी राजमार्ग अन्तर्गत विभिन्न खण्डमा २३६ किलोमिटर खण्डको अझैसम्म ठेक्का व्यवस्थापन हुन नसकेको बताए । ‘कतिपय स्थानमा स्थानीयको अवरोधले आयोजनाको लक्ष्य अनुसार काम हुन सकेको छैन,’ उनले भने, ‘आयोजना अन्तर्गतका २९ वटा पुलको अझै पनि ठेक्का व्यवस्थापन हुन सकेको छैन ।’
सरकारले आर्थिक वर्ष २०६४/६५ मा मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको थियो । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेका पालामा आयोजना निर्माण सुरु गरिएको हो । सुरुआती चरणमा यो आयोजना आव २०७४/७५ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर जिम्मेवार अधिकारीको अकर्मण्यता, ठेकेदार कम्पनीको ढिलासुस्ती, मुआब्जा विवाद र बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्न नसक्दा आयोजना निर्माण तोकिएको समयभन्दा ज्यादै ढिलो भएको छ ।
संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म यो राजमार्ग निर्माण सम्पन्न हुनेछ । सरकारले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २६ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ । आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान थियो । समयमै निर्माण सम्पन्न नहुँदा संशोधित लागत अहिले एक खर्ब एक अर्ब ५० करोड रूपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म मध्यपहाडी राजमार्गको समष्टिगत भौतिक प्रगति ५७.८४ प्रतिशत छ। वित्तीय प्रगति ६३.२५ प्रतिशत छ । यसमा ५३ अर्ब ३४ करोड रूपैयाँ खर्च भइसकेको छ। १८७९ किलोमिटरमध्ये आयोजनाबाट ६५१ किलोमिटर र अन्य निकायबाट ४६२ किलोमिटर कालोपत्रे भएको छ । हालसम्म ११ सय १३ किलोमिटर कालोपत्रे भएको छ ।
आयोजना अन्तर्गत १३७ पुलमध्ये ९० वटा निर्माण भइसकेको छ । अहिले ५३० किलोमिटर सडक र १८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । सरकारले गत आर्थिक वर्षमा आयोजनाको लागि सात अर्ब ६५ करोड ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
आयोजनाले गत आर्थिक वर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा १९९ किलोमिटर कालोपत्रे भएको छ । गत आवमा ८२ किलोमिटर ग्राभेल भएको छ । ग्राभेल लक्ष्य अनुसारै भएको छ । चालु आवमा १४ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा ७ वटा तयार भएका छन् । गत आवमा ८२.५८ प्रतिशत भौतिक प्रगति र ९४.०७ वित्तीय प्रगति भएको छ ।
सडक विभागका अनुसार गत आवमा तीन सय किलोमिटर सडक कालोपत्रे भएको छ । गत आवमा १४ वटा पुल निर्माण भएको छ । सरकारले स्वदेशी पुँजीमा पूर्व–पश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइफलाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो ।
यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङलाई पश्चिममा बैतडीको झुलाघाटलाई जोड्छ । राजमार्ग तयार भएपछि २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा जोडिनेछन् । यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ ।
यसले ग्रामीण बस्तीबाट सहर बसाइँ सर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पु¥याउने अपेक्षा छ । एक हजार आठ सय ७९ किलोमिटर लामो पुष्पलाल (मध्यपहाडी) राजमार्ग बनेसँगै मुलुकको एक तिहाइ अर्थात एक करोड जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइन्छ ।
प्रकाशित: १५ भाद्र २०७८ ०१:५४ मंगलबार