अर्थ

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुन आवेदन दिने समय पुनः सुरु गरेको छ।अनलाइन आवेदन गत वैशाख ४ देखि खुला गरिएको थियो। ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो।

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो। यसअघि आवेदन दिइसकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरिसकेपछि महासंघबाट इमेलमार्फत सम्पर्क गरिने बताइएको छ।

आवेदन सबै क्षेत्र (जस्तोः कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिने छ। उक्त आवेदन प्रक्रियालाई पुनः सुरु गरी कार्यक्रममा मुलुकभरबाट बढीभन्दा बढी स्टार्टअप उद्यमीको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातैवटा प्रदेश च्याप्टरलाई आग्रह समेत गरेको छ।

लगानीकर्ताको व्यावसायिक अभिरूचिसँग छानिएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायी सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्ने बताइएको छ।

प्रकाशित: ११ भाद्र २०७८ ०१:२० शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ कोभिड महामारी लगानीकर्ताको व्यावसायिक अभिरूचि उद्यमीको सहभागिता