अर्थ

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मनाङेले बुझाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताको अधीनमा रहँदै यहाँका ९ जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदमा ११ जना सदस्य रहे पनि युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) र कृषि मन्त्री चन्द्र बहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

मन्त्रीहरूमध्ये सबैभन्दा धनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका कानुनमन्त्री विन्दुकुमार थापा र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ देखिएका छन्। गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापासबैभन्दा धनी देखिएका छन्। आफ्नो, दुई श्रीमती तथा छोराको नाममा उनीसँग पोखराका विभिन्न ठाउँमा ६ वटा घरसहित बैंकमा करिब ७ करोड रुपैयाँ रहेको छ। घरमा भने उनले ५५ हजार मात्रै नगद भएको जनाएका छन्।

मनलक्ष्मी थापा तथा राधा थापा क्षेत्री उनका श्रीमतीको नाममा पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा १५७ कित्ता जग्गा भएको उल्लेख गरेका छन्। यस्तै, व्यवसाय तथा पैत्रिक सम्पत्तिमार्फत सानादेखि ५० रोपनीभन्दा माथिका घरेडी उनिसँग छन्। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट प्रालि, सिटी टे«ड मल, गण्डकी टे«ड हाउस, अंशुभरा स्क्वायर प्रालि, रोयल हिमालय रिसोर्ट प्रालिलगायतका होटल तथा बिजनेस हाउसले ओगटेको क्षेत्र उनले ऋणमा लिएको उल्लेख गरेका छन्।  

उनीसँग जिजिओ र फोर्डका २ वटा गाडी, मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंंकलगायतका बैंकको लाखौंको सेयर छ। ती बैंकहरूमा छोरा सौगात थापा एवं दुई जना श्रीमतीको नाममा पनि सेयर रहेको छ। उनिसँग पैत्रिक सम्पत्तिमार्फ १५ तोला हीरा, १ किलो १९ तोला सुन र ७ किलो २ चाँदी भएको जनाएका छन्।  

सम्पत्ति विवरणमा मन्त्री थापाले ५ वटा बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन्। उनले माछापुच्छ्रे बैंकबाट ११ करोड ७३ लाख ५३ हजार, एनएमबी बैंकबाट १० करोड ३५ लाख २१ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५ करोड २९ लाख ६५ हजार, नविल बैंकबाट ४० लाख १३ हजार र सानिमा बैंकबाट ३ करोड २५ लाख १७ हजार रुपैयाँ ऋण लिएका छन्।

वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापासँग स्याङ्जाको विरुवा गाउँपालिका २ मा पैतृक सम्पत्तिबाट प्राप्त घर र पछि ५० हजार रुपैयाँमा किनेको जग्गा रहेको छ। सोही ठाउँमा तलब र आफन्तको सहयोगमा ८ रोपनी जग्गामा सुन्तला व्यवसाय गरिरहेको जनाएका छन्। तलबबाटै उनले पोखरा–१४, छिनडाँडामा ४० लाखको घडेरी किनेको उल्लेख गरेका छन्।  

पैतृक सम्पत्तिबाट ३० तोला सुन र २० तोला चाँदी  प्राप्त भएको र विभिन्न बैंकमा ४० हजार नगद रहेको उनले जनाएका छन्। मन्त्री थापाले सहकारीबाट २० लाख ऋण लिएका छन्। उनीसँग २५ वटा बाख्रा, ७५० बोट सुन्तला र चर्ती नर्सरी उद्योग छ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग पैतृक सम्पत्तिको ५ तोला सुन छ। उनले नवलपुरको गैंडाकोटमा पैतृक सम्पत्ति बेचेर ०।३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे २ तले पक्की घर खरिद गरेको उल्लेख गरेका छन्। पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ। उक्त जग्गा बैंकबाट ऋण लिएर १५ लाखमा खरिद गरेको उल्लेख छ। यस्तै, पोखरेलको नाममा तनहुँमा पनि जग्गा छ।

मुख्यमन्त्री पोखरेलको एभरेष्ट बैंकमा तलब भत्ताको ५ लाख रुपैयाँ नगद मौज्दात छ। कृषि विकास बैंकबाट उनले २०७६ मा २५ लाख ऋण लिएका छन्। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पोखरा९१६ मा ३८२ वर्गमिटर क्षेत्रफलमा घर छ। उक्त घरजग्गालाई खड्काले पैतृक सम्पत्ति र स्वआर्जन भनेका छन्। उनका श्रीमती कमला खड्काको नाममा पोखरा९३३ मा २२२ वर्गमिटर जग्गा छ। उक्त जग्गा माइतबाट प्राप्त जग्गा साटफेरबाट आएको उल्लेख गरेका छन्।

यस्तै खड्काले ९५ तोला सुन पैतृक रहेको बताएका छन्। तलब भत्ताबापत् एभरेष्ट बैंकमा २० लाख ३३ हजार नगद मौज्दात, अमरदीप सहकारीमा ६५ लाख र अन्य बैंकहरूमा १५ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन्। उक्त रकम जमिन बेचेर प्राप्त लाभांश र छोराले विदेशबाट पठाएको उल्लेख गरेका छन्।

https://ocmcm.gandaki.gov.np/list/act_and_rules/mananaya-makhayamanatara-tatha-manatarajayaharaka-samapatata-vavaranae?fbclid=IwAR0lIbIepnpIlA6_4koWT6ZjvVTHGgigkP2kOL1qP3O4PT4WgCA-RkcngQk

प्रकाशित: ९ भाद्र २०७८ १०:३५ बुधबार

गण्डकी प्रदेश मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक