अर्थ

२ करोड ३५ लाखको नक्कली स्टिकर बरामद

रूपन्देहीमा ठूलो परिमाणमा आन्तरिक राजस्व विभागको नक्कली स्टिकर बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट डण्डाले भैरहवास्थित एक घरबाट २ करोड ३५ लाख मूल्यको नक्कली स्टिकर सहित दुईजनालाइ पक्राउ गरेको हो।

सशस्त्रको टोलीले सिद्धार्थनगर नगरपालिका -३, दरखसवास्थित एक घरबाट आन्तरिक राजस्व विभागको २ लाख ४० हजार वटा नक्कली स्टिकर बरामद गरेको हो।  

स्टिकरसँगै दरखसवा ३ का घरधनी २४ वर्षका अमानत अली र २३ वर्षका सहिद अन्सारी पक्राउ परेका छन्। अलीको घरमा भाडामा बस्ने अन्सारीको कोठाबाट उक्त परिमाणको नक्कली स्टिकर बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका एसपी राजेश उप्रेतीले बताए।  

बरामद सामग्री र पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए। स्टिकर ढुवानीका लागि प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी पनि नियन्त्रणमा लिई राजस्व कार्यालय बुझाइएको छ।  

सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा शुक्रबार साँझ सो घरमा छापा मारेको थियो। सो क्रममा ८० रोल स्टिकर प्रतिरोल ३ हजार थानका दरले अन्सारीको कोठाबाट बरामद भएको एसपी उप्रेतीले जानकारी दिए।  

बरामद गरिएको नक्कली स्टिकरबाट अन्तःशुल्क, भ्याट र आयकर गरी २ करोड ३५ लाख रूपैयाँभन्दा धेरै राजस्व छली हुन सक्ने राजस्व कार्यालय बुटवलको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित: ७ भाद्र २०७८ ०६:३२ सोमबार