अर्थ

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलमा हवाईजहाजबाट ओर्लेका यात्रु । तस्बिरः उमेश पुन÷नागरिक

बुद्ध एयरले गत साउन १७ देखि पोखरा–नेपालगञ्ज सिधा हवाई सेवा सुरु गर्दा सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) मात्र उडान तालिका राखेको थियो । पोखरा–नेपालगञ्ज रुटमा यात्रु थपिएमा उडान संख्या बढाउने बुद्धको उत्तिबेलाकै भनाई थियो । सातामा तीनदिनबाट उडान थालेको यो रुटमा अहिले ६ दिन (शनिबार बाहेक) उडान भईरहेको छ । यात्रुको माग थपिँदै गए सातैदिन र अहिले प्रयोगमा आएको भन्दा ठुलो आकारको जहाजबाट उडान गर्न सकिने बुद्धको भनाई छ ।  

कोरोनाको दोश्रो लहर केही कमजोर भएर आन्तरिक हवाई सेवा सुरु भएपछि बुद्धले पोखरा–भैरहवा रुटमा पनि एकदिन बिराएर उडान गरिरहेको थियो । अहिले यो रुटमा दिनमा दुइवटा उडान भईरहेको छ । यात्रु पर्याप्त भएपछि उडान थप्न बाध्य भएको बुद्धको भनाई छ । त्यस्तै पोखरा–भरतपुर दैनिक एउटा उडानमा पनि यात्रु अभाव छैनन् । निजी सवारीमा पोखराबाट तीनघण्टामा भरतपुर पुगिने छोटो रुटमा समेत दिनमा एउटा उडान भईरहेको छ ।  

त्यत्ति मात्र नभई पोखरा–काठमाडौं रुटमा अहिले बुद्धले दिनमा आठवटा उडान गरिरहेको छ । पोखरा–काठमाडौं रुटमा त भनेको बेलामा टिकट पाउन पनि हम्मेहम्मे पर्छ । बुद्ध बाहेक पोखरा–काठमाडौं रुटमा अहिले यती एयरलाइन्सले पनि दिनमा चारवटा उडान गरिरहेको छ । बुद्ध र यतीका सबै जहाजमा अहिले यात्रु्को संख्या पर्याप्त रहेको एयरलाइन्सले बताएका छन् । बुद्धले पोखरा–सिमरा पनि उडानको तयारी गरिरहेको छ । केहीदिनपछि पोखरा–सिमरा उडान गर्ने बुद्धको भनाई छ ।  

कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । ‘कोरोनाको संक्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । लामो समय लगाएर बसमा यात्रा गर्दा जोखिम हुने भएकोले छोटो समयमा गन्तव्यमा पुग्न खोज्दा पनि हवाई यात्रा माग भएको हो,’बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘वर्षायामले गर्दा होला, स्थलमार्गको यात्रा जोखिमपूर्ण पनि छ । बेलाबेला सडक अवरुद्ध भएर हैरानी खेप्नुपर्ने भएकोले पनि यात्रुले हवाई यात्रा रोजेका छन् ।’ हुन त पोखरा–काठमाडौं अरुबेला पनि पर्याप्त हवाई उडान हुने रुट हो । अरुबेला पनि भनेको बेला यात्रुले हवाई टिकट पाउन मुस्किल थियो ।  

अहिले नेपालगञ्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको बरालको भनाई छ । ‘पोखरा–नेपालगञ्ज उडान सोचेको भन्दा राम्रो भयो । हामीले सातामा तीनदिन उडान गर्ने भनेर सुरुवात गरेको हौ,’ बरालले भने, ‘सुरुवातताका केहीदिन मात्र ग्याप रह्यो । नत्र अहिले सातामा ६ दिन उडान भईरहेको छ । अब शनिबार पनि उडान हुने अवस्था देखिएको छ ।’ बुद्धले केहीदिनपनि सिमरा उडान गर्ने र त्यहाँ पनि यात्रु अभाव नहुने बरालको अनुमान छ । ‘बोर्डर सिटी नजिक भएकोले सिमरामा पनि यात्रु पाइन्छ भन्ने अनुमान हो । नेपालगञ्ज, भैरहवा, सिमरा सबै बोर्डर सिटी हुन्,’ उनले भने ।  

केही सस्तो भाडा दरमा उड्न पाउँदा पनि यात्रुले अहिले हवाई यात्रा रोज्ने गरेको बरालको भनाई छ । ‘तुलनात्मक रुपमा सस्तो भाडादरमा अहिले उडान भईरहँदा यात्रुलाई बानी पर्न थालेको छ । हामीलाई रुटको स्थायित्व कायम गर्न बल पुगेको छ,’ उनले भने । अहिले पोखरा–काठमाडौं रुटमा उड्ने मध्ये कतिपय आन्तरिक पाहुना पनि छन् । बिदाको दिनमा त झनैं पोखरा–काठमाडौं रुटमा हवाई यात्रामा यात्रुको भीडभाड हुने गरेको छ । ‘बिदाका केहीदिन थपिँदा पोखरा–काठमाडौं हवाई रुटमा यात्रु अभाव हुँदैन,’ यतीका एकजना अधिकारीले भने, ‘अहिले तीनदिन बिदा हुँदा पोखरामा आन्तरिक यात्रुको भीड नै छ । अरुबेला पनि पोखरा–काठमाडौं रुटमा हवाई यात्रु खासै अभाव हुँदैन ।’

पर्यटन व्यवसायी पनि अहिले हवाई यात्रामा यात्रु बढेकोमा खुसी छन । यसले पर्यटनमा टेवा पुग्ने संकेत देखिएको उनीहरुको भनाई छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पश्चिमाञ्चल उपाध्यक्ष हरिराम अधिकारी भन्छन, ‘हवाई यात्रामा यात्रु थपिँदा अहिले पर्यटन क्षेत्रमा आशावादी तुल्याएको छ । अहिले पोखराबाट हुने सबै रुटका आन्तरिक उडानमा पर्याप्त यात्रु छन । यसले अब पर्यटन क्षेत्र चलायमान हुने देखिएको छ ।’

उनका अनुसार अहिले स्थलमार्गको यातायातमा भने यात्रु पाउन मुस्किल छ । पोखराबाट विभिन्न रुटमा चल्ने पर्यटक बसमा यात्रु अभाव भईरहँदा त्यही रुटका हवाई यात्रामा भने खचाखच यात्रु रहेको उनले बताए । ‘कोरोनाको त्रासले पनि यात्रुले छोटो समयमा गन्तव्यमा पुग्न खोज्दा हवाई यात्रा रोज्न थालेका छन् । यसले हवाई यातायातलाई पनि सफल बनाएको छ,’ उनले भने, ‘हवाई यात्रा सफल हुँदा पोखराको पर्यटन क्षेत्रमा केही चहलपहल बढेको देखिएको छ ।’ वर्षायाममा बाढी पहिरोको अवरोध झेल्नुपर्ने त्रास र लामो यात्रामा कोरोना जोखिम हुने भन्दै यात्रुले स्थलमार्ग छाडेर केही महंगो रकम तिरेर भएपनि हवाई यात्रामा आकर्षित भएको अधिकारीको भनाई छ ।  

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठसय छ । अहिले बुद्ध र यति एयरलाइन्सले ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा मात्र उडान गरिरहेका छन् । त्यस्तै बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदी बताउँछन् ।

‘अहिलेको कोरोनाको त्रासमा पनि हवाई यात्रामा आन्तरिक यात्रु पर्याप्त छन । यात्रु बिना उडान सम्भव थिएन । अहिले नयाँ रुटमा हवाई उडान सफल बनाउन पनि यात्रुकै साथ छ,’ सुवेदी भन्छन, ‘संक्रमण कम हुने हो भने हवाईयात्रामा अझ यात्रु बढ्नेछन ।’ वर्षायामको स्थलयात्रा छल्न कतिपयले हवाई यात्रा रोज्दा हवाईजहाजमा केही भीड बढेको पनि उनले बताए । पोखराबाट विभिन्न रुटमा भईरहेको हवाई यात्रा करिब पहिलेकै आकारमा आईसकेको उनले बताए । ‘विदेशी यात्रु मात्र देख्न नपाईने हो । आन्तरिक यात्रुको अभाव भन्न मिल्दैन,’ सुवेदीले भने । 

प्रकाशित: ६ भाद्र २०७८ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App