अर्थ

मुस्ताङी स्याउः नपाक्दै टिप्दा स्वादै हरायो

असोज अघि स्याउ नटिप्नुः स्याउ जोन

मुस्ताङको बगैंचामा फलेको स्याउ । तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मुस्ताङको स्याउको पहिचान धेरैतिर छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङमा उत्पादित स्याउले धेरै उपभोक्ताको मन पनि जितेको हो । तर, पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आएपछि पूर्ण रुपमा नपाक्दै स्याउ नटिप्न अनुरोध गरिएको छ ।  

बेला नपुग्दै स्याउको दाना टिप्दा स्वाद नपाउने भएकोले असोज पहिलो साता अघि नटिप्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाइ (स्याउ जोन)ले किसानलाई अनुरोध गरेको छ । इकाइका प्रमुख डा. सुधिर थापाका अनुसार असोज पहिलो साता अघि टिपेको दानामा उत्तिसारो स्वाद नलाग्ने भएकोले हतारमा स्याउ नटिप्न किसानलाई अनुरोध गरिएको छ ।  

‘असोज पहिलो साता अघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौ । छिटो दाना टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘स्वाद नै पस्न नपाउँदै दाना टिप्दा मुस्ताङी स्याउको पहिचान गुमेको गुनासो आयो ।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन् । तीजको छेको पारेर किसानले स्याउ टिप्छन् । बगैंचा नै ठेक्का लिएका ठेकेदारले बेला नपुग्दै स्याउको दाना टिपेर बजारमा पठाउँदा वास्तविक स्वाद नपाइने गरेको उनले बताए ।

‘मुस्ताङी स्याउको स्वाद हरायो भन्ने गुनासो छ । उपभोक्ताले वास्तविक स्वाद पाएका छैनन । त्यसो हुनुमा छिटोगरि दाना टिपेर हो । पूर्ण रुपमा रस पस्न नपाउँदा स्वाद पाइदैन,’ उनले भने, ‘मुस्ताङको स्याउको ‘ओरिजिनल’ स्वाद नै हरायो भन्ने गुनासो आउन नदिन यो पहल गरेका हौ ।’ स्याउको स्वाद नै हराएको भन्ने उपभोक्ताको गुनासो आएपछि बेला नहँुदै दाना नटिप्न अनुरोध गरेको उनले बताए ।  

मुस्ताङका सबै स्थानीय तहमार्फत किसानलाई जानकारी दिँदै असोज पहिलो सातापछि मात्र दाना टिप्न अनुरोध गरिएको उनले बताए । ‘भदौ आधादेखि नै स्याउका दाना टिप्न थालिन्छ । विभिन्न ठाउँबाट आएका ठेकेदारले छिटोगरि बजारमा पु¥याउनका लागि बेला नपुग्दै दाना टिप्ने गरेका छन् । यसले मुस्ताङी स्याउको पहिचान नै गुमेको छ,’ उनले भने, ‘मुस्ताङी स्याउको स्वाद पहिलेजस्तो हुन छाड्यो भन्ने गुनासो छ ।’

परियोजनाले पोहोर पनि किसानलाई बेला नपुग्दै स्याउ नटिप्न भनेको थियो । तर, किसानले मानेनन । तीजको बेला पारेर बढी बिक्री हुने भन्दै ठेकेदारले नपाक्दै स्याउ टिप्दा समस्या भएको उनले बताए । चाँडबाँडको मौका पारेर टिप्दा बढी बिक्री हुने भन्दै ठेकेदारले पनि पाक्न नपाउँदै दाना टिप्ने गरेको उनले बताए । उनका अनुसार स्याउको दानामा स्वाद पस्न घाम लाग्नुपर्छ भने चिसो पनि हुनुपर्छ । तर, पछिल्लो समय बढीमात्रामा पानी पर्न थालेकोले पनि दानामा पहिलेको जस्तो स्वाद पाउन छाडिएको छ । राम्रोसँग रस नपस्दै दाना टिपेर बजारमा पु¥याउँदा स्वाद कम हुने गरेको उनले बताए । उनका अनुसार जलवायु परिवर्तनको असरले पनि मुस्ताङी स्याउको स्वाद हराउँदै गएको अनुभूति भएको छ ।  

परियोजना कार्यन्वयन इकाइका संचालक समितिका सचिव विष्णु थकालीका अनुसार बगैचा नै ठेक्का लिएका ठेकेदारले तीजको बेला पारेर बजारमा पु¥याउने गरि हतारहटारमा पाक्नै नपाएको स्याउ टिप्ने गरेका छन् । त्यसले गर्दा स्याउमा स्वाद पस्न पाएको हुँदैन । तीजताका स्वाद नपस्ने र दशैं–तिहारसम्म ढिला भईसक्ने भएकोले पनि हतारमा स्याउ टिप्ने गरिएको थकालीले बताए ।

‘यो पटक हामीले भदौ अन्तिम भन्दा अगाडि स्याउ नटिप्नु भनेका छौ । हुन त किसानले टिप्ने होईन, ठेकेदारले अग्रिम रुपमा बगैंचा नै ठेक्का लिन्छन । किसानले त रकम पाउने हो, तर, मुस्ताङको स्याउको स्वादले पहिचान गुमाउँछ,’ थकालीले भने, ‘व्यापारिले बेलैमा बेच्न पाइदैन र नोक्सान खेप्नुपर्ने त्रासले पनि हतारहतारमा टिप्ने गरिएको छ । अब ठेकेदारलाई पनि असोज नलाग्दै स्याउ नटिप्नु भनेका छौ । ’ उनले भारत र चीनबाट यो बेला स्याउ नल्याउने हो भने मुस्ताङी स्याउले बजार पाउने भएपनि त्यतातर्फ ध्यान नदिइएको उनले बताए । भारतीय र चिनियाँ स्याउ नल्याउने हो भने मुस्ताङी स्याउले बजार पाउनेमा सरकारी उच्च अधिकारीहरुलाई पनि सचेत गराएको उनले बताए ।  

परियोजनाका अनुसार मुस्ताङमा १४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । त्यो मध्ये ५५० हेक्टर क्षेत्रफलमा स्याउ फल्छ । प्रतिहेक्टर झन्डै साढे १४ मेट्रिक टन स्याउ फल्ने गरेको इकाइ प्रमुख थापाको भनाई छ । अघिल्लो वर्ष मुस्ताङका ७ हजार १५० मेट्रिक टन स्याउ फलेको थियो । थापाका अनुभवमा मुस्ताङमा स्याउ फल्ने क्रम फरक हुन्छ । एकवर्ष अधिक फल्ने र अर्काे वर्ष कम फल्ने गरेको उनको अनुभव छ । यो पटक कम फल्ने पालो भएकोले मुस्ताङमा ६५ सय मेट्रिक टन फल्ने अनुमान छ ।  

मुस्ताङले पोहोर स्याउबाट मात्र १४ करोड रुपैयाँ कमाई गरेको थियो । किसानले प्रतिकिलो ८० रुपैयाँका दरले स्याउको आम्दानी लिँदा पोहोर १४ करोड रुपैयाँ कमाई भएको थियो । मुस्ताङमा मुख्यगरि रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, गाला, फुजि लगायतका स्याउको खेती  छ । ती मध्येपछि रेड डेलिसियसको खेती अधिक हुने गरेको छ ।  

प्रकाशित: ३ भाद्र २०७८ ०९:३२ बिहीबार

मुस्ताङको स्याउ स्वादै हरायो