अर्थ

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ। प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको भूमिगत विद्युत्गृह जान प्रयोग हुने भेन्टिलेसन टनेलको मगंलबारदेखि निर्माण सुरु गरिएको हो।  

यो आयोजना निर्माण अवधिको ब्याजसहित ६४ करोड ७३ लाख अमेरिकी डलरमा निर्माण गर्न लागिएको हो। यो आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्नेछन्।बाँकी रकम स्वपुँजीबाट जुटाइनेछ। यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो। आयोजनाको ठेक्का कोरियन कम्पनी डुसानले पाएको छ।  

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ। आयोजनास्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँध लगायत संरचना निर्माणका लागि रुख कटान, सर्ज ट्यांकतर्फको पहुँच सडक निर्माण लगायत काम धमाधम भइरहेको छ। 

निर्माणमा अहिले दुई सय श्रमिक आयोजनास्थलमा खटिएका छन्। उत्पादित बिजुली आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली १ हालसम्मकै ठूलो आयोजना हो। आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी छ।

आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म सेयर लगानी सुनिश्चित गरिएको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदमा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।  

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि यो आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभर १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुनेछ।

प्रकाशित: ३ भाद्र २०७८ ०१:४३ बिहीबार

वैदेशिक लगानी त्रिशूली १ जलविद्युत् आयोजना निर्माण सुरु