जुम्ला पातारासी गाउँपालिका ६ का लालबहादुर बुढा गाजर खेती उत्पादक किसान हुन्। उनको बारी अहिले गाजरमय छन्। उनी गाजरको गाना बेच्छन्। बीउ उत्पादन गरेर पनि बेच्छन्। गाजरको खानाभन्दा बीउ बेच्दा बढी फाइदा हुने गरेको उनले बताए। उनी वर्सेनी उत्पादन भएको गाजरबाट सहजै रुपमा परिवारको खर्च टार्छन्। बालबालिका पठाउँछन्। परिवारको लुगोरोटीको जोहो गर्छन्।
बारीमै गाजरको बीउको प्रतिकेजी ६ सय ९५ रुपैयाँ मूल्य पर्छ। गानाको प्रतिकेजी ८० रुपैयाँ छ। उनले भने,‘गाजर खेती किसानको रोजाई बन्दै गइरहेको छ। बजारमा पनि माग राम्रो छ। माग अनुसार गाजरको बीउ र गाना पुर्याउन नसकिएको उनी बताउँछन्।
उनले भने,‘गाजर खेती जुम्लामा संभावना बोकेको खेती हो। अहिले किसान गाजर खेतीलाई राम्रोसंग अंगालिरहेका छन्।’
गाजर खेती गर्ने लालबहादुर एक उदाहरण मात्र हुन्। उनी जस्ता झण्डै १ सय ५० जनाले व्यवसायीक रुपमा गाजर खेती गरेका छन्। काठमाडौँ थानकोट स्थित सिएन्सी सर्भिस सेन्टरले यहाँ उत्पादित बीउ लिने गरेको छ। किसानको बीउ बारीबाटै हिमालयन बहुद्धेशीय सहकारी संस्था लिमिटेडले उठाउँछ। सहकारीले काठमाडौँ पठाइदिन्छ।
‘किसानलाई न बजारीकरणको समस्या छ, नत कुनै घरमा थन्क्याउनु पर्ने बाध्यता छ। उल्टै पर्याप्त मात्रमा उत्पादन नहुँदा माग बमोजिम पठाउन नसकेर पछुताउनु परिरहेको छ,’ उनले थपे।
किसानले बारीमा गाजरको बीउ उत्पादन मात्र गर्नु पर्यो। गाउँमै सबै बीउ बजार सम्म लैजाने माध्यम सहकारी बनिसकेको छ। लालबहादुरले भने, ’गाजर होटलमा सलाद गर्ने देखि लिएर गाउँमा अचारका रुपमा खाने गर्छन्। गाजरको गाना स्वास्थ्यका लागि लाभदायक पनि छ।’
अहिले यहाँका खेतबारीमा गाजर खेती गरिएको छ। गाजरको बजारीकरणमा कुनै समस्या नभएको हिमालयन सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र बुढा बताउँछन्। उनले भने,‘किसानले गाजरको गाना र बीउ उत्पादन गर्छन्। गाना किसानले बजारमा लगेर बेच्छन्। बीउ सहकारीले बारीमै गएर खरिद गर्छ। निश्चित बजारसम्म पुर्याउन सहयोग गर्छ। किसानलाई गाजर उत्पादन गर्न मात्र समस्या छ। अरु कुनै प्रकारको समस्या झेल्नु परिरहेको छैन।’
गत वर्ष मात्रै यहाँका किसानले १२ क्वीन्टल गाजरको बीउ बेचेका छन्। दस वर्षअघिदेखि किसानले गाजर लगाउन थालेका हुन्। गाजरमा किरा लाग्दैन। अहिले सम्म किरा लागेर नष्ट भएको रकर्ड पनि छैन। राजेन्द्रले भने,‘गाजर आनन्दको खेती हो। धेरै बीउ बेचे मनग्गे आम्दानी हुने र दाना बेचेर गुजारा चलाउन सकिने अवस्था छ। किसान गाजर खेतीमा आकर्षित बनेका छन्।’
पाक्ने समयमा बर्षा हुने भएकोले बीउ बचाउन गाह्रो हुन्छ। तर बीउ निकै स्वस्थकर हुन्छ। गाजर एकैपटक नपाक्ने भएकोले पटक पटक रेखदेख र संरक्षणको आवश्यक हुन्छ। पटक पटक गरेर बीउ झिक्नुपर्छ। अनिमात्र गुणस्तरीय र पाको बीउ भित्र्याउन सकिन्छ। असार साउन महिनामा लगाएर कार्तिकमा गाजरको बीउ भित्र्याइन्छ। गाजरको गाना अगाडि नै निकालेर बेच्न सकिन्छ।
बीउ स्टोरेज गर्न पनि समस्या हुँदैन। अहिले सम्म उत्पादिन गाजरको बीउ लामो समय स्टोर गर्नु परेको पनि छैन। पातारासीको तत्कालिन पटमारा र डिल्लीचौरमा गाजर खेती पर्याप्त हुन्छ। तिला गाउँपालिकाको ४,५ र ६ वडा लगायत सिँजा र तातोपानी गाउँपालिकामा समेत गाजर खेती गरिँदै आएको छ।
एक जना किसानले न्यूनतम ५ केजीदेखि ३ क्वीन्टलसम्म गाँजरको बीउ उत्पादन गर्ने गरेको राजेन्द्र बुढा बताउँछन्। धेरै आम्दानी गर्ने किसानलाई प्रोत्साहित गर्ने गरेको उनले बताए। पटक पटक सहकारीले किसानलाई गाजर खेतीका बारेमा प्राविधिक ज्ञान समेत दिँदै आएको छ।
सुर्य सामाजिक सेवा संघ जुम्लाका सचिव मयादत्त आचार्य गाजर खेती किसानको राम्रो आम्दानीको स्रोत भएको बताउँछन्। अहिले हरेक किसानको बारीमा गाजर लगाइएको छ। गाजर खेती गर्न मनपराउने किसान बारीमै पुगेर सुझाव लिन्छन्।
उनले भने,‘गाजर पनि समृद्धिको एक आधार हो। यो गाजर खेतीलाई जिल्लाभर विस्तार गर्दै लैजानुपर्छ।अनिमात्र आर्थिक रुपमा जुम्ला बलियो हुन सक्छ। गाजर स्याउ बगैँचा भित्र पनि लगाउन सकिन्छ। मकैसंग पनि किसानले लगाउने गरेका छन्।’
हरेक स्थानीय तहले गाजर खेतीलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने किसानको माग छ।
प्रकाशित: ३१ श्रावण २०७८ १२:४६ आइतबार