अर्थ

महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका कारण सुस्ताएको अर्थतन्त्र चलायमान बनाउँदै लगानीको वातावरण निर्माणका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन्। प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन शनिबार बालुवाटार पुगेका महिला उद्यमी महासंघ टोलीसँगको भेटमा उनले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारले आवश्यक पहलसमेत जारी राखेको बताएका हुन्।  

उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए। नेपाल रिपब्लिक मिडियाकी निर्देशक एवं महिला उद्यमी महासंघकी द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीले महामारीका कारण देशभरिकै महिला उद्यमीले धेरै पीडा भोग्नुपरेको भन्दै विगतमा जस्तै महिला उद्यमी महासंघले आर्थिक तथा नीतिगत सहयोग तथा सहकार्यको अपेक्षा राखेको बताइन्। जनस्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताउँदै ज्ञवालीले सबै जनतालाई छिटो खोपको व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्।

कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्रीसँग महिला उद्यमीले थप अन्तर्क्रिया गर्न चाहेको बताउँदै द्धितीय उपाध्यक्ष ज्ञवालीले छिट्टै समय प्राप्त हुने अपेक्षा पनि व्यक्ति गरिन्। महिला उद्यमी महासंघको तर्फबाट सफल कार्यकालका निम्ति बधाई तथा शुभकामना दिँदै ज्ञवालीले नेपाली जनताले प्रधानमन्त्री देउवाबाट मुलुकको आर्थिक, सामाजिक विकासका साथै राजनीतिक स्थायित्वको आशा राखेको बताइन्।  

भेटमा महासंघकी वरिष्ठ उपाध्यक्ष निरु रायमाझीले महासंघले भदौ १७ देखि २१ गतेसम्म भर्चुअल माध्यमबाट गर्न लागेको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२१ उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई आमन्त्रण गरेकी छन्। प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममा सहभागी हुने आश्वासन दिँदै कोरोना महामारीकै बिच पनि भर्चुअल माध्यमबाट हुने मेलाले महिला उद्यमीको श्रम र सिर्जनालाई अगाडि ल्याउन सहयोग पुग्ने बताए।  

महिला उद्यमीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचानका साथै औद्योगिक क्षेत्रमा अगाडि बढ्न प्रोत्साहित गर्ने उद्देश्यका साथ हुने गरेको मेलामा देशभरका महिला उद्यमीका साथै सार्क मुलुकसहित अन्य देशका महिलाको पनि उल्लेखनीय सहभागिता रहने वरिष्ठ उपाध्यक्ष रायमाझीले प्रधानमन्त्रीलाई जानकारी गराइन्।  

त्यस्तै, महासचिव सुनिता वैद्य श्रेष्ठले महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन आग्रह गर्दै प्रधानमन्त्री देउवालाई माग पत्र बुझाएकी थिइन्। जवाफमा प्रधानमन्त्री देउवाले महासंघले अघि सारेका मागप्रति आफू सकारात्मक रहेको जनाउँदै भवन निर्माणका लागि जग्गाको पहिचान गरी आवश्यक प्रस्ताव ल्याउन पनि सुझाएका छन्।

प्रकाशित: ३१ श्रावण २०७८ ०२:४७ आइतबार

महिला उद्यमी महासंघ प्रधानमन्त्रीबीच भेट