अर्थ

आम्दानीको स्रोत बन्दै जुम्ली काठे ओखर

जुम्लाको जंगलमा पाइने काठे ओखर प्रमुख आम्दानीको स्रोत बन्न थालेको छ। जिल्लाको पातारासी ६ उर्थु र तातोपानी ४ हाँकुमा ओखर प्रशोधन केन्द्र स्थापना भएपछि आम्दानीको स्रोत बन्न थालेको हो। पहिले जंगलमै खेर गइरहेको हुन्थ्यो। घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो। तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतीमा चासो दिदैनथे। अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतीमा किसान आकर्षित हुन थालेका हुन्।  

जुम्लामै काठेओखर बाट निकालिएको तेल प्रति लिटर १ हजार पाँच सय रुपैयाँ पर्छ। यो तेल स्वास्थ्यवद्र्धक छ। हिमाली क्षेत्रमा पाइने ओखरको फलबाट निकालिएको तेल विश्वमै अर्गानिक हो। ओखरको तेल मसाज, व्युर्टिपार्लर देखि हाडजोर्नी सम्बन्धिको काम गर्दछ। स्थानीयले चुली ओखर प्रशोधन केन्द्र स्थापना गरेर काठेओखरको तेल निकाल्न थालेका हुन्। हेल्भेटासको आर्थिक र प्राविधिक सहयोग,सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा मिठो परियोजनाले काठे ओखर संरक्षण र उपयोग गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ।  

ओखर खेति बारेको कार्यक्रम चन्दननाथ नगरपालिका, तातोपानी र पातारासी गाउँपालिकामा लागु गरिएको छ। सुर्य सामाजिक सेवा संघका अध्यक्ष घनश्याम नगरकोटी तीन वर्षदेखि काठे र दाँते दुबै प्रकारको ओखरमा काम गरिरहेको बताउँछन्। उनले भने,‘दुईवटै जातको ओखरको मुल्य श्रृंखलालाई परिवर्तन गर्न, बजारीकरण गर्दै किसानको क्षमता विकास गर्न किसान समूह बनाएर ओखर खेतीको कार्यक्रम चलिरहेको छ। तीन वटा स्थानीय तहमा गरेर दुई सय बढि ओखर किसान छन्। अहिले सबै किसान ओखरको दाना संकलन गरेर प्रशोधन कार्यमा अग्रसर छन्। ’

व्यापारी र उत्पादकबीच बीचमा अन्तरक्रिया गर्ने, विजनेश प्लान निर्माण गरिदिनेदेखि गुणस्तरीय ओखर उत्पादन कसरी गर्ने भन्ने विषयमा किसानलाई सहजीकरण गरिँदै आएको उनी बताउँछन्। जुम्लामा उत्पादित दाँते ओखरको स्वाद निकै राम्रो छ। ओखर टिप्ने,भण्डारण गर्ने, सुकाउनेदेखि प्याकेजिङ सम्मको काम सञ्चालन गर्न प्राविधिक सहयोग भइरहेको उनले बताए।  

प्रशोधन केन्द्रले दाँते र काठे दुवै प्रकारको ओखर प्रशोधन गर्छ। तर जुम्लामा काठेओखरको प्रशोधन बढि भइराखेको छ। काठे ओखर बनमा बेवारिसे अवस्थामा उम्रिएर फलेको हुन्छ। ओखरको तेल स्विजरल्यान्डबाट माग आइराखेको थियो। तर कोभिडका कारण अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसकिएको किसान बताउँछन्। दुई वर्षमा झण्डै ८० लिटर तेल उत्पादन भएकोमा हिमालयन ट्रेडस   काठमाडाैंले किनेको छ। साे ट्रेडसले एक हजार पाँच रुपैयाँ लिटरमा किनेर लिएको किसान बताउँछन्।  

प्रशोधन केन्द्रमा पहिले खुट्टाले चलाएर प्रशोधन गर्ने मेसिन राखिएको थियो। त्यो मेसिन झंझटिलो भएकोले अहिले विद्युतबाट चल्ने मेसिन राखिएको छ। यो प्रशोधन केन्द्र अवलोकनका लागि अधिकांश स्थानीयतहका किसान पुगेका छन्। प्रशोधन भएर तेल उत्पादन भइराखेको हेर्छन्। अनि फर्केर सिको गर्ने जनाउँदछन्। जुम्लामा ओखरको प्रशस्त संभावना भएकोले किसानलाई प्रोत्साहित हुनेखाले नीति स्थानीयतहले ल्याउनु पर्ने किसानको माग छ।  

पाँच लाख रुपैयाँले बनेको प्रशोधन केन्द्रबाट उत्पादित ५ लिटर तेल फ्रान्सको ल्यावमा पठाइएको थियो। ल्यावले जुम्ली ओखरबाट उत्पादित तेल निकै गुणस्तर भएको प्रमाणित गरिसकेको छ। नेपालमा ओखरको तेलको जाँच गर्ने ल्याव रहेनछ, किसान बिर्खबहादुर बुढाले भने, ‘जुम्लाबाट तेल गुणस्तर जाँचका लागि लिएपछि मात्रै थाहा भयो। उनले  भने,‘ल्यावबाट जुम्ली काठेओखरको तेल निकै गुणस्तर भएको प्रमाणित भइसकेकोले बजारीकरणमा खासै समस्या छैन। ’

ओखरको तेलको बजार राम्रो छ। स्थानीयस्तरमा पनि तेलको माग बढ्दो छ, बिर्खबहादुरले भने,‘ काठेओखर बचाइदिनु पर्‍यो। बृक्षारोपण गरेर जंगल बनाइदिनु पर्‍यो। यसैमा जुम्लाबासी र काठेओखरको भविष्य छ। ’गाउँमै ओखर प्रशोधन हुन थालेपछि ओखरको नर्सरी स्थापना गर्ने किसानको संख्या बढ्दो छ। काठेओखरलाई व्यवसायीक रुपमा लगाउन सुरु गरिएको छ। यो तेल अन्य तेल भन्दा नरम प्रकारको हुन्छ। राम्रो १४ केजी ओखर बराबर १ लिटर तेल उत्पादन हुन्छ।  

प्रशोधन हुन थालेपछि जंगलमा खेर जाने काठेओखरको दाना प्रतिकेजी २५ देखि ३५ रुपैयाँ सम्म बिक्छ। प्रशोधन केन्द्रमा ओखर फुटाल्ने मेसिन,फुटेको ओखर ग्रेडिङ गर्ने र तेल निकाल्ने मेसिन राखिएको छ। एक घण्टामा एक क्वीन्टल ओखर प्रशोधन भइसक्छ। स्थानीय लालबहादुर बुढा ओखर प्रशोधन केन्द्रले धमाधम प्रशोधन गर्न थालेपछि ओखरको नर्सरी राख्ने किसान बढ्न थालेका छन्। बिरुवा बेचेर आम्दानी गरिहेका छन्। अब सहकारी मार्फत ओखर खेतिको प्रबद्र्धन गर्ने उनी बताउँछन्। दुइ बर्ष देखि यहाँ ओखर प्रशोधनको कार्य भइराखेको छ। जुम्लाको पातारासीमा मात्रै ४ टन जति काठेओखर उत्पादन हुने गरेको छ।

प्रकाशित: २९ श्रावण २०७८ ११:३९ शुक्रबार

जुम्ली काठे ओखर आम्दानीको स्रोत बन्दै