अर्थ

आर्थिक तथ्याङ्क तोडमोड गरियोः निवर्तमान अर्थमन्त्री पौडेल

निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका विषयमा सत्ता र प्रतिपक्षसँग कुनै विमति नहुने र तथ्यहरुको तोडमोड गर्न नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) का नेता पौडेलले अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत मुलुकको आर्थिक स्थितिको वक्तव्यले पूर्ववर्ती सरकारलाई आरोपित गर्ने काम गरेको टिप्पणी गरे।

पौडेलले सामान्य स्थिति र कोभिडपछिको स्थितिबीचको तुलना गरिनु उपयुक्त नहुने उनले स्पष्ट गरे। नेता पौडेलले तथ्यहरुलाई स्वीकार गरेर अघिल्लो सरकारले चालेका न्यायपूर्ण समाजको निर्माण र समृद्धितर्फको यात्रातर्फका कदमहरुलाई दोषारोपण नगर्न आग्रह गरे। उनले हालसम्म सञ्चालित ठूला आयोजना र मुलुकको विकासमा सकारात्मक रुपान्तरणका लागि ल्याइएका कार्यक्रमको निरन्तरताबारे जिज्ञाशा राखेका थिए।

उनले कोभिडका कारणले पछिल्ला वर्षमा आर्थिक वृद्धिदर घटेको तथ्यलाई नयाँ सरकारले बेवास्ता गरेर श्वेतपत्र ल्याएको आरोप लगाउँदै अघिल्लो सरकारले विकास खर्चका लागि ऋण लिनुपर्ने स्थितिलाई चिर्दै लिइएको ऋणलाई पूर्वाधार विकासमा प्रयोग गर्न सुझाव दिए।

प्रकाशित: २८ श्रावण २०७८ ११:५२ बिहीबार

आर्थिक तथ्याङ्क