अर्थ

पत्रकार जोशीद्वारा आर्थिक सहयोग

पत्रकार मनोज जोशीले दैलेखका ८ वर्षीय बालक नारायण सुनारको उपचारको लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन्। बालककी आमा आमा गंगा विकले आफ्ना बिरामी छोराको जीवन बचाउनका लागि अपिल गरेको  समाचार प्रकाशित भएपछि जोशीले उक्त सहयोग गरेका हुन्। एपी वान टेलिभिजनमा कार्यरत जोशीले व्यक्तिगततर्फबाट २५ हजार र उनकी बहिनी मञ्जु जोशी अर्याल र र जुवाइँ हरि अर्यालका तर्फबाट १५ हजार गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।  

तीन वर्षदेखि विरामी रहेका बालक सुनारको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन। दैलेख  नारायण नगरपालिका–२ कुसाडा गाउँका बालक सुनार हातखुट्टा सुनिने र दुख्ने समस्याबाट ग्रसित छन्। उनी उभिन समेत सक्दैनन् भने उनको हात पनि नचल्ने परिवारले जनाएको छ।

नारायण तीन वर्षको हुँदा बुवा टेकबहादुर सुनारको मृत्यु भएको थियो। आर्थिक अवस्था निकै नाजुक भएका कारण उनको उपचार हुन सकेको थिएन। उनको घरमा उनकी आमा र ७० वर्षीय हजुरवुवा मात्र छन्। घरमा कमाउने कोही नहुँदा उपचारबाट वञ्चित बालकको अवस्था झन् नाजुक बन्दै गएपछि आमाले सहयोगको याचना गरेकी थिइन्।

प्रकाशित: २८ श्रावण २०७८ ०३:२९ बिहीबार

एपी वान टेलिभिजन पत्रकार मनोज जोशी नारायण सुनार