अर्थ

जुम्ली स्याउ नपाक्दै बजारमा

जुम्ला किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा बढेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरेको छ। तर किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन्। केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी ५० रुपैयाँका दरले स्याउ बेचेका छन्।  

उक्त स्याउ सुर्खेत, नेपालगन्जका बजारसम्म पुगिसकेको छ। स्याउको पुर्णरुपमा कलर भरिएको छैन। गुलियो मात्रमा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन्।  

जुम्ला स्याउको राजाधानी हो। स्याउको पहिचानको जिल्ला जुम्ला हो। यहाँका हरेक घरमा न्युनतम २५ स्याउका बिरुवादेखि एक हजार बढी बिरुवाका स्याउका बगैँचा छन्। यहाँका प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ नपाक्दै टिप्नाले समस्या देखिन थालेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। 

 कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भदौ १० गते अगावै स्याउ नटिप्न किसानलाइ आग्रह गरिएको बताउँछन्। बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ। पुर्णरुपमा पाकेको स्याउ लैजाँदा बजारीकरणमा समस्या पनि आउँदैन। उनले भने,‘नपाकेको स्याउ बजारसम्म पुर्‍याउनु किसानका लागि फाइदाजनक हुदैन। यसमा सबै किसान सचेत हुन जरुरी छ। ’

उनले नपाकेको स्याउ लैजान नदिन सडक सञ्जाल संग जोडिएका स्थानीय सरकार र प्रहरी चौकीलाई भनिएको बताए। किसान र व्यापारीको अटेरीपनका कारण जुम्लाको स्याउको पहिचान गुम्ने खतरा देखिएको प्रमुख देवकोटा बताउँछन्। भदौ महिनाको दोस्रो साता देखि मात्र जुम्ली स्याउ पूर्णरूपमा पाक्छन्। एउटा स्याउमा हुनु पर्ने गुलियोपनाले पुर्णता पाउँछ। स्याउमा पुरै कलर भरिन्छ। हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्री हुन थालेपछि समस्या हुन थालेको हो।  

जिल्ला बाहिर स्याउ निर्यातका लागि सम्बन्धित गाउँपालिका तथा वडापालिकाको सिफारिस अनिवार्य हुनुपर्छ। यहाँका स्थानीयतहले स्याउ पाके नपाकेको ख्याल नराखेर सिफारिस दिनाले समस्या भइरहेको छ। हरेक वर्ष नपाकेको स्याउ निर्यात गर्न सिफारिस नदिनु होला भनिराखेका हुन्छौँ। तर स्थानीय सरकारले धमाधम सिफारिस दिन्छन्। जुम्ली स्याउको पहिचान बचाउँन स्थानीय सरकार संवेदनशिल नबनेको सरोकारवाला बताउँछन्।  यो रोग जुम्लाको पहिलैदेखिको रोग हो।  

अहिले जुम्ली स्याउ सुर्खेत तथा नेपालगन्जका बजारसम्म पुगिसकेको छ। व्यापारी स्याउ खोज्दै बगैँचामै पुग्छन। बगैँचामै पुगेको व्यापारीलाई किसानले स्याउ सहजै रुपमा दिने गरेका छन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचामै किसानले ५० देखि ६० रुपैयाँ सम्म प्रतिकिलो स्याउ बेचिरहेका छन्।

यहाँको स्याउ सुर्खेत नेपालगन्जमा १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ। व्यापारीले किसानबाट स्याउ लगेर दोब्बर फाइदा अशुलीरहेका छन्। तर यहाँका किसान नपाक्दै स्याउ व्यापारीलाई दिएर पहिचान धरापमा पार्दैछन्। पाकीसकेपछि टिपेको स्याउको मुल्य अझै बढ्न सक्ने कृषि प्राविधिकहरुले अनुमान गरेका छन्। यहाँ स्थानीय रेड,गोल्डेन,जनाथन र रोयल जातको स्याउ फल्छ। उन्नत जाततर्फ रेड र गोल्डेन जातको स्याउ फल्छ। उन्नत जातको स्याउ पुर्णकलर भरिसकेपछि मात्र टिपिन्छ। तर स्थानीय जातको स्याउ नपाक्दै टिप्न थालिएको छ।  

स्याउले वर्षेनी करोडौँको आमदानी भित्र्याँउछ। तर स्याउको गुणस्तरता बारेमा किसानले चासो राखेको पाइँदैन। स्थानीय जीवनबहादुर बुढा जुम्ली स्याउ काँचो टिप्ने परीपार्टीको अन्त्य हुनु पर्ने बताउँछन्। उनले भने,‘नपाकेको स्याउ टिप्नु किसानको कमजोरी हो। नपाकेको स्याउ लैजानु व्यापारीको कमजोरी हो। नपाक्दै स्याउ निर्यात गर्न दिनु स्थानीय सरकारको कमजोरी हो। त्रिपक्षीय कमजोरीका कारण यहाँको स्याउको भविष्य अन्यौलमा परेको हो।’  

अहिले जुम्लामा ३ हजार ८ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको छ। कृषि कार्यालयका अनुसार वर्षेनी स्याउको क्षेत्रफलमा वृद्धि भइरहेको छ। एक हजार ६ सय हेक्टरमा लगाइएको स्याउले उत्पादन दिन्छ।  यो वर्ष १६ करोड बरावरको स्याउ बिक्रि हुने अनुमान गरिएको छ। जुम्ली स्याउको पहिचान बचाउन र स्याउको महत्वलाई विस्तार गर्न पाकेको स्याउ मात्र टिप्न कृषि प्राविधिकहरु आग्रह गर्छन्।  

काचो स्याउ निर्यात रोक्न स्याउ किसान धनबहादुर परियारले आग्रह गरे। उनले भने,‘ठुला किसान र अगुवा किसान भनिएकाहरुबाटै नपाकेको स्याउ निर्यात भइरहेको छ। साना किसानको स्याउ बगैँचामै छ। उनले भने, ‘साना स्याउ किसानलाई मार पर्ने गरि ठुला किसानले गरेको यो गैरजिम्मेवारी कार्य रोक्नु जरुरी छ। ठुला किसानको मारमा साना किसान पर्न दिनु हुदैन।’ पाकेको स्याउ विक्री गर्दा आम्दानी राम्रो हुन्छ। पहिचान पनि बढ्छ।  उनले भने,‘ स्थानीय जातको स्याउ भदौ दोस्रो साता पछि र उन्नत जातको स्याउ असोज महिनामा टिप्दा उपयुक्त मानिदै आएको छ।  

काँचो स्याउ निर्यात हुन थालेपछि प्रहरी चौकीमा रोक्न लगाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्। तर कृषि कार्यालयको परिपत्रको अवज्ञा गर्दै किसानले काँचो स्याउ टिपेका छन्। व्यापारीले काचो स्याउ बजार सम्म लिइरहेका छन्। यो दूर्भाग्यपुर्ण कार्य हो।

स्याउ बजारीकरण ऐन नभएका कारण नियमन गर्न गाह्रो भइरहेको छ। नियमनकारी निकायलाई नियमन गर्न अफ्ठयारो बनिरहेको छ। स्याउ नपाकेकोले जुम्ली स्याउको कार्टुन पनि बनिसकेको छैन। अहिले भारतीय तथा चाइनिज स्याउको कार्टुनमा स्याउ निर्यात भइरहेको छ। 

प्रकाशित: २६ श्रावण २०७८ ०९:३६ मंगलबार

जुम्ली स्याउ नपाक्दै बजारमा