अर्थ

उजाडिएको बस्तीले प्रवासीको सहयोगमा पुनर्जीवन पाउँदै

जिल्लाको काठेखोला गाउँपालिका-५ बिहुँ कर्लिम। यो ठाउँबाट अधिकांस युवाहरु वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएकाहरुमध्ये पनि ९० प्रतिशत बढिको गन्तव्य जापान बनेको छ। विश्वका राम्रा तेस्रो मुलुकमा पुगेका उनीहरुको आम्दानी पनि राम्रो हुँदै गएपछि बसाइँ सराईका कारण अहिले बस्ती खाली हुँदै गएको छ। २०५०/५५ सालतिर गाउँमा करिब दुई सय हाराहारीमा घर परिवार थिए। वैदेशिक रोजगारीमा गएर आर्थिक स्थीतिमा सुधार भएपछि अहिले त्यो ठाउँमा बस्नेहरुको संख्या दैनिक घट्दो छ। अहिले मुस्कीलले ८०/८२ घर पुग्न कठिन छ। अधिकांस घरमा ताल्चा झुण्डिएका छन्।

गाउँमा बसाइँ सरेर जानेक्रम बढ्दै जाँदा गाउँकै कर्लिम आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या घट्दै गयो। विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय नै नरहने हो कि भन्ने अवस्थामा आएपछि अहिले विद्यालयले नयाँ जुक्ति निकालेको छ। विद्यार्थी संख्या कम भएकै कारण एक प्राथमिक विद्यालय गतवर्ष मात्रै कर्लिम आधाभूत विद्यालयमा गाभिई सकेको छ। वर्षेनी विद्यार्थी घट्दै संख्या विद्यालय नै अर्को विद्यालयमा मर्ज गर्ने जोखिम देखिएपछि विद्यालयले विद्यार्थीसंगै अभिभाव समेत खोजी गर्न थालेको छ।

विदेशमा गएर रित्तिदै गएको गाउँ फेरी विदेश गएकाहरुकै सहयोगमा भरिभराउ बनाउने विद्यालयको योजना छ। गाउँमा रहेको विद्यालय जोगाउनका लागि कर्लिमबाट विदेशमा गएकाहरुले पनि ठूलो रकम जुटाउन सुरु गरेका छन्। विद्यालयले गाउँमा बस्ती नै बसाएर भए पनि विद्यार्थी संख्या बढाउने तयारी गरेको छ। ‘हामीले विद्यार्थीका लागि निःशुल्क आवासीय सुविधा सहित पठन पाठनको व्यवस्थापन मिलाउँदैछौं,’ विद्यालयका प्रधानाध्याक लिलाधर कँडेल भन्छन्,‘त्यसका लागि हामीलाई विदेशमा रहेका यहाँका स्थानीय युवाहरुको सहयोग छ। एउटा कोष निर्माण गरेर हामी अगाडि बढ्दैछौं।’  

विद्यार्थी लिएर आउने अभिभावकलाई विद्यालयले नै गाउँमा बस्ने र खेतीपाती गर्ने जग्गा जमिन उपलब्ध गराउने र परिवारको एक जनालाई रोजगारीको ग्यारेन्टी गर्नेसम्मको योजना विद्यालयको छ। ‘हामीले यहाँ १० देखि १५ घरलाई यहाँ ल्याएर विद्यार्थी सहित बस्ती बसाउने समेत योजनामा रहेका छौं,’ उनले भने,‘हामी त्यस्तो परिवार खोजिरहेका छौं। घरबार बिहीन भएका परिवारलाई यहाँ ल्याएर पुनःस्थापित गर्ने र उहाँहरुको घरपरिवार लालन पालनका लागि पुग्ने रोजगारी र खेतीपातीका लागि जग्गा जमिन उपलब्ध गराउने तयारीमा हामीले गरेका छौं।’

गाउँबाट बसाइँ सरेर गएकाहरुको खाली जमिन र खाली घर बसाइँ सरेर आउने परिवारलाई उपलब्ध गराउने गरी सल्लाह भएको उनले बताए। ‘यहाँ खाली भएका ४०/५० घर छन्, तीमध्ये १०/१५ घरसंग हाम्रो कुरा भैरहेको छ। खाली भएको जग्गा जमिन बाँझै राख्नु भन्दा कसैले खेतीपाती गर्दिए हुन्थ्यो भन्ने धेरैको विचार छ,’ उनले भने। विद्यालयले गुणस्तरीय शिक्षा प्रदानका लागि थप योजनाहरु बनाईरहेको उनले बताए।

‘हामीले अग्रेजी माध्यमको खोजीमा बजार जानेहरुलाई सम्बोधन गर्नका लागि अँग्रेजी माध्यमबाट पढाउँदैछौं,’ उनले भने,‘प्राविधिक धारलाई पनि जोड दिनेछौं। सरकारले स्थानीय पाठ्यक्रम बनाउने पनि भनेको छ। हामीले कृषि तथा पशुपालन सम्बन्धी पाठ्यक्रम निर्माण गरेर त्यसतर्फ पनि विद्यार्थीलाई लैजानेछौं।’ विद्यार्थीलाई नैतिक शिक्षामा पनि विशेष जोड दिने उनले बताए। हुने खानेहरु रहरले बसाइँ सर्दै जाादा बस्ती खाली हुँदै गएपछि अन्य मानिहरु पनि बाध्यतामा बसाइँ सर्नुपर्ने अवसथा नआओ भन्नका लागि प्रयास थालिएको उनी बताउँछन्।  

प्रवासीको सहयोगमा तीन करोडको कोष निर्माण गरिदै

विद्यालयले अगाडि सारेको योजना पूरा गर्नका लागि प्रवासमा रहेको स्थानीय युवा पूर्व विद्यार्थीहरुले सहयोग गरिरहेका छन्। प्रवासीको सहयोगमा तीन करोड बढिको कोष निर्माण गर्ने गरी काम अगाडि बढिरहेको छ। कोष निर्माणका लागि मुख्यगरी जापान तथा आयरल्याण्ड र अन्य मुलुकमा पुगेकाल पनि सहयोग संकलन गरिरहेका छन्। विद्यालयले छात्रावास निर्माण गरेको छ। अब विद्यार्थीले आवासीय सुविधा पाउनेछन्। गरिब तथा विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासंगै हुनेखानेहरुको छोराछोरीबाट शुल्क लिएर समेत होस्टेलको व्यवस्था गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदत्त सवेदी बताउँछन्।

‘बाउआमा विदेशमा भएर यहाँ छोराछोरी पढ्न राख्नेहरुसंगबाट त हामीले थोरै शुल्क पनि लिन्छौं,’ उनले भने,‘विपन्न परिवारका बालबालिका लागि सबै निःशुल्क हुनेछ।’ होस्टेलका लागि अहिले आवास निर्माणको काम भैरहेको र भदौ १  गतेदेखि नै सञ्चालनमा आउने उनले बताए। सिंगो गाउँ नै खाली हुने भएपछि यो योजना अगाडि सार्नुपरेको उनको भनाई छ। ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नाराका साथ यो कार्यक्रम गर्न थालिएको बताईएको छ। अहिले सयको हाराहारीमा रहेका विद्यार्थीलाई आगामी तीन वर्षमा दोब्बर पुर्‍याउने गरी विद्यालयले काम गरिरहेको बताए।

कोष निर्माणका लागि जापानमा लक्ष्मणदत्त सुवेदीको नेतृत्वमा दीपक सुवेदी, दीपक कँडेल ‘दण्डपाणी’, ऋषिराम कँडेल, नारायणदत्त कँडेल (आयरल्याण्ड), सागर कँडेल ‘सन्तोष’, प्रेमप्रसाद कँडेल, सुमन कँडेल, अशोक सुवेदी ‘गोपाल’, अनन्त रिजाल, तोयनाथ रिजाल लगायतले फाउण्डरको रुपमा सुरुवात गरेका छन्। कोष निर्माणका लागि सहजीकरण गर्दै आएका केशवप्रसाद कँडेलले तीन करोड बढिको कोष तयार गरिने बताए। ‘हामी पहिले विद्यालयमा पढेका पूर्व विद्यार्थीहरु अधिकाँंस जापानमा छौं, जापानमा ८/१० जना भएर यो कामको सुरुवात गरेका छौं,’ उनले भने,‘एक करोड बढी रकम संकलन भैसकेको छ। हामीले जापानका अन्य व्यक्तिहरु र अन्य मुलुकहरुबाट समेटेर यो कोष तयार गर्दैछौं।’

पछिल्ला दिनहरुमा बसाइँ सरेर गाउँ रित्तो हुँदै गएपछि यो योजना अगाडि बढेको उनी बताउँछन्। रित्तो हुँदै गएको गाउँमा फेरी चहल पहल ल्याउनका लागि विद्यालयले ल्याएको कार्यक्रमल महत्वपूर्ण भूमिका खेल्ने काठेखोला गाउँपालिका—५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए। ‘एक हिसाबले अहिले गाउँ नै खाली भैसकेको छ, यहाँ भएका घरमा पनि बुढाबुढीको मात्रै बसोबास रहेको छ,’ उनी भन्छन्,‘युवाहरु सबै कमाउन जाने बालबालिका बोर्डिङ पढ्ने भनेर बजार झर्ने  गरेका कारण खाली भएको गाउँ यो अभियानले फेरी गुल्जार हुने अपेक्षा राखेका छौं।’

विद्यालयले ल्याएको अभियानमा वडा कार्यालयले पनि हातेमालो गरेर अगाडि बढ्ने उनले बताए। ‘हामी संगै मिलेर अगाडि बढिरहेका छौं, मैले वडाको तर्फबाट गर्ने सबै सहयोग गरेको छु, व्यक्तिगत तर्फबाट पनि बस्ती व्यवस्थापनका लागि पनि घरजग्गा उपलब्ध गराउँछु भनेको छ,’ उनले भने। केही वर्ष अगाडिसम्म मासिक दुई अढाई करोड रेमिट्यान्स भित्रिने बिहुँ कर्लिममा अहिले बसाइँ सर्ने चलनले रेमिट्यान्स समेत भित्रिन छोडेको छ। अहिले गाउँमा घरखर्चका लागि मात्रै रेमिट्यान्स आउने गरेको वडाध्यक्ष कँडेलले बताए।  

प्रकाशित: २५ श्रावण २०७८ ०६:५६ सोमबार

उजाडिएको बस्तीले पुनर्जीवन पाउँदै