सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘अहिले हेलिकप्टर चढेर वा आठ किलोमिटर हिँडेर मात्रै आयोजनामा पुग्न सक्ने अवस्था छ । मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रको काम गर्नको लागि सुरुआती चरणमा आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल तयार पार्नुपर्ने अवस्था छ।’
कार्यकारी निर्देशक श्रेष्ठले सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर आयोजनाको एकीकृत कार्ययोजना बनाएर तत्कालै काम सुरुआत गर्नुपर्ने आवश्यकता देख्छन्। ‘अहिले मेलम्ची आयोजनामा देखिएको समस्या एउटा निकायले मात्रै समाधान गर्न खोज्दा धेरै समय लाग्न सक्छ। त्यसैले सरकारले विभिन्न सरकारी निकायलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘सबै निकाय मिलेर अघि बढ्ने हो भने आगामी माघसम्म मेलम्चीको पानी उपत्यकामा खसाल्न सकिन्छ होला।’
समितिले तयार पारेको कार्ययोजनामा असोजको पहिलो साताबाट पहुँचमार्गको काम सुरु गर्ने उल्लेख छ। समितिले असोजको दोस्रो साताबाट हेडवक्र्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन थाल्नेछ। मेलम्ची नदीमा गत जेठ मसान्तमा बाढीपहिरोसँगै आएको बालुवा, गिट्टीसहितको ग्रेगानको कारणले हेडवक्र्समा रहेका संरचनाहरू करिब १५ मिटरभन्दा धेरै पुरिएको छ। मेलम्ची आयोजनाको पहुँचमार्गमा रहेका दुई र हेडवक्र्ससँगै रहेका तीन गरी पाँचवटा पुलमा क्षति पुगेको छ। मेलम्ची नदीको पानी पथान्तरणको लागि प्रयोग गरिएको अस्थायी बाँधसमेत बाढीपहिरोबाट पूर्ण रूपमा क्षति भएको छ।
आयोजनाको हेडवक्र्समा रहेको अस्थायी बाँधदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा धेरै क्षेत्रफल ढुंगा, गिट्टी तथा ग्रेगानले भरिएको छ। अम्बाथान पोर्टलदेखि तल मेलम्ची बजारसम्मको भागमा ढुंगा, गिट्टी, बालुवा र माटो थुप्रिएको छ। समितिले आगामी कात्तिक दोस्रो सातादेखि अम्बाथान पोर्टल खुला गरी टनेल डिवाटरिङ गर्ने कार्ययोजना तयार पारेको छ। त्यसैगरी, पुस दोस्रो सातासम्म बाढीपहिरोले क्षतिग्रस्त अस्थायी बाँध पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । समितिले सोचेअनुसार काम भएको खण्डमा अस्थायी बाँधबाट आगामी माघमा मेलम्चीको सुरुङमा पानी पथान्तरण गर्ने कार्यतालिका छ। त्यसको १५ दिनपछि पानी उपत्यका खसाल्न सकिनेछ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोबाट क्षतिग्रस्त भएको आयोजना एउटा निकायको पहलकदमीले मात्रै तत्कालै सञ्चालनमा ल्याउन नसकिने बताउँछन्। ‘अन्तरसरकारी निकायबीच समन्वय भएको खण्डमा मेलम्ची नदीको पानी छिट्टै उपत्यकाबासीको धारामा ल्याउन सकिन्छ,’ उनले भने। बाढीपहिरोले भत्किएको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले निर्माण गर्नुपर्नेछ। मेलम्ची नदी नियन्त्रण तथा रोकथामको काम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाई विभागले गरेको खण्डमा आयोजनालाई सहज हुनेछ। बाढीप्रभावित आयोजना क्षेत्रमा वर्षा मापन केन्द्र, पूर्वसूचना प्रणाली स्थापना जल तथा मौसम विज्ञान विभागले गरिदिएको खण्डमा आयोजनाको कामले गति लिन सक्ने समितिले जनायो। मेलम्चीको क्षतिग्रस्त वस्तीमा खानेपानी सुविधा पु¥याउने काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्नेछ।
पुनःस्थापनाको लागि एक अर्ब ८८ करोड आवश्यक
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त आयोजना पुनस्र्थापनाको लागि एक अर्ब ८८ करोड रूपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले बाढीपहिरोेले क्षतिगस्त संरचना पुनः निर्माणको लागि एक अर्ब ८८ करोडमध्ये तत्कालै पहुँचमार्ग निर्माणको लागि ५० करोड रूपैयाँ आवश्यक पर्ने बताए।
आयोजनाले बाढीको कारणले क्षति पुगको स्थानीय तहलाई राहतस्वरूप हेलम्बु गाउँपालिका र पाँचखाल थाङ्पाल गाउँपालिकालाई एक करोड ५० लाखको दरले राहत रकम उपलब्ध गराएको छ। त्यसैगरी, मेलम्ची नगरपालिकालाई ५० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । आयोजनाले ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट हेलम्बु गाउँपालिकालाई एक करोड ५० लाख र मेलम्ची नगरपालिकालाई थप ८६ लाख रूपैयाँ सहयोग गरेको छ। स्थानीय तहको समन्वयमा पहुँचमार्ग खोल्ने काम भइरहेको छ। बाढीको कारणबारे अध्ययन समेत गर्ने तयारी छ । रिभर रिस्टोरेसन एवं संरचना पुनर्निर्माणको लागि विस्तृत सर्वेक्षण कार्य भइरहेको छ।
यस्तो छ क्षति
भीषण बाढीपहिरोले मेलम्ची आयोजनामा कार्यरत चार कामदारको ज्यान लियो, त्यत्तिकै संख्यामा बेपत्ता बनाएको छ। बाढीपहिरोले मेलम्ची बजारदेखि अम्बाथान हेडवक्र्ससम्मको २१ किलोमिटर सडकमध्ये ८ किलोमिटर तहसनहस बनाएको छ। मेलम्ची बजारदेखि मेलम्ची आयोजनाको दोस्रो खण्डमा निर्माण गरिने भनिएको यांग्रीतर्फको ६ किलोमिटर सडक पनि ध्वस्त भएको छ। आयोजनाका अनुसार बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा रहेका स्थायी संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।
बाढीपहिरोसँगै आएको बालुवा, गिट्टीसहितको ग्रेगानले हेडवक्र्समा रहेका संरचनाहरू करिब १५ मिटरभन्दा धेरै पुरिएका छन्। ‘यस क्षेत्रमा जम्मा भएका ढुंगा, गिट्टी, बालुवा र माटो सफा नभएसम्म वास्तविक क्षति यकिन गर्न सकिने अवस्था छैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अहिले करिब आठ किलोमिटर हिँडेर आयोजनासम्म पुग्न सकिएको छ।’ अब सैनिक हेलिकप्टरको सहायता लिएरै भए पनि एस्काभेटर लगेर आवश्यक काम सुरु गर्ने कि भन्ने सोचमा पुगेको उनले जानकारी दिए। मेलम्ची नदीमा पानीको बहाव कम नभएकाले अझै पनि आयोजनाका संरचना कटान हुने क्रम रोकिएको छैन। हेडवक्र्स क्षेत्रमा अझै पनि लेदो थुप्रिने क्रम जारी छ।
सरकारले निर्देशन दिए सडक र पुल बनाउन तयार छौं : सडक विभाग
सडक विभागका उपमहानिर्देशक शिव नेपाल मेलम्ची पुल बजारदेखि अम्बाथानसम्मको सडक तथा पुल निर्माणको लागि सरकारबाट कुनै पनि निर्देशन नआएको बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको पुलबजारदेखि मेलम्ची आयोजनाको मुख्य हेडवक्र्स क्षेत्रसम्म सडक तथा पुल भत्किएर ठूलो क्षति भएको छ,’ उनले भने,‘पाँचखालदेखि मेलम्ची बजारसम्मको सडक मर्मतसम्भारको जिम्मेवारी सडक विभाग मातहत पर्छ। तर मेलम्ची पुल बजारदेखि अम्बाथानसम्मको सडक विभाग मातहत पर्दैन। त्यसैले यो आवमा विभागसँग कुनै पनि कार्यक्रम, बजेट र योजना नभएकाले कुनै योजना बनेको छैन।’ उपमहानिर्देशक नेपालले सरकारबाट निर्देशन आएको खण्डमा आफूहरू योजना तथा कार्यक्रम अघि बढाउन तयार रहेको बताए।
प्रकाशित: ८ श्रावण २०७८ ०१:३९ शुक्रबार