अर्थ

अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटेर प्याकेज घोषणा गर्न सुझाव

 नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आभूषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्‍याउने बारे सुझाव प्रस्तुत गरेको छ।  

विभिन्न कारणले अर्थतन्त्र अपेक्षित गति लिन नसकिरहेको अवस्थामा कोभिड–१९ को दुष्चक्रले शिथिल अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न अर्थतन्त्रका प्रत्येक क्षेत्रमा रक्तसञ्चार हुने गरी विशेष प्याकेजको व्यवस्था हुनुपर्ने माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष ०७८/७९ को लागि निकट भविष्यमै सार्वजनिक गरिने मौद्रिक नीतिमार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई सञ्चालनमा रहेका सबै उद्यम, व्यवसायले उपभोग गर्न सक्ने प्रावधान राखिनुपर्नेमा पनि महासंघले जोड दिएको छ। 

आयात–निर्यातको पछिल्लो अवस्थाबारे उल्लेख गर्दै महासंघद्वारा प्रस्तुत सुझावमा नेपाल राष्ट्र बैंकले हालै सार्जजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा देशको कुल वस्तु निर्यात एक सय २१ अर्ब २५ करोड रूपैयाँ र कुल वस्तु आयात १३ सय ८३ अर्व २६ करोड रूपैयाँ छ। प्रस्तुत तथ्यांक अनुसार उक्त अवधिमा कुल व्यापार घाटा १२ सय ६२ अर्ब ११ करोड पुगेको छ। अर्थात कुल वस्तु व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यात आठ प्रतिशत  रहेको छ।  

महासंघद्वारा प्रस्तुत प्रमुख सुझावमा निर्यात प्रवद्र्धन र व्यापार सन्तुलनमा आभूषणको योगदान, बहुमूल्य गहनाको निर्यात स्थिति, सुनको आयात तथा बिक्री वितरण व्यवस्थापन, कालीगढ तालिम, स्वदेशी रत्न, पत्थरको प्रवद्र्धन, नेपाली मौलिक बहुमूल्य गहनाको निर्यात प्रवद्र्धनबारे रहेका छन्। महासंघले नेपाली मौलिक गहनाको निर्यात विस्तारका लागि सम्बन्धित गहना उत्पादनमा प्रयोग भएको आयातित कच्चा पदार्थमा लागेको भंसार महसुल फिर्ता गर्ने व्यवस्था हुनुपर्ने माग अघि सारेको छ।  

त्यस्तै, निर्यातकर्ताले आफूलाई आवश्यक पर्ने सुन आफैंले आयात गर्न पाउने व्यवस्था गर्ने, सम्बन्धित आर्थिक वर्षभित्र भुक्तानी आउनुपर्ने सर्तसहित निकासीकर्ताको जिम्मामा पछि भुक्तानी प्राप्त हुने गरी निकासी गर्न सकिनेको व्यवस्था गर्ने, नेपालका अन्य वस्तुले निकासी भए बापत पाउने सुविधा, प्रोत्साहन, अनुदान आदि बहुमूल्य गहनाको निकासीमा पनि दिने, स्वदेशी रत्न, पत्थरको प्रशोधन एवं निर्यातको लागि निजी क्षेत्रसँगको सहकार्यमा प्रशोधन केन्द्र, प्रदर्शन तथा निर्यातगृह आदि स्थापना र सञ्चालन गर्ने, स्वदेश तथा विदेशमा ज्वेलरी एक्स्पो गर्ने, विदेशस्थित नेपाली नियोगलाई निर्यात प्रवद्र्धनको कार्यमा थप सक्रिय पार्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ श्रावण २०७८ ०२:३२ बिहीबार

अर्थतन्त्र