पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातमा वृद्धि गरिएको २८ प्रतिशत भाडावृद्धि फिर्ता लिन माग गरेका छन्। पाँच विद्यार्थी संगठनले बिहीबार विज्ञप्ति जारी गरेर कोभिड–१९ ले जनता थलिएको, लाखौंको रोजगारी गुमेको र जनता आर्थिक रूपमा जर्जर भएर एक पेट खाना जुटाउन समेत गाह्रो भइरहेको बेला भाडा बढाउन गलत निर्णय भएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन्।
अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सना, अनेरास्ववियुका महासचिव आरती लामा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर भाडावृद्धि तत्कालै फिर्ता लिन माग गरेका हुन।
भाडावृद्धिले लकडाउनमा सहरबाट घर गएका विद्यार्थी पढाइमा फर्कनै नसक्ने अवस्था आएको उनीहरूको तर्क छ। भाडावृद्धिलाई उनीहरूले दीर्घकालीन रूपमा जनताको पैसा लुटेर व्यवसायी पोस्ने व्यवस्था गरिएको भनेका छन्। ‘भाडावृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकार हुने चेतावनी दिन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संगठनले शुक्रबार यातायात व्यवस्था विभागमा ज्ञापनपत्र बुझाएर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन्। विद्यार्थी संगठनले विरोध गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य प्रतिलिटर एक रूपैयाँ घटाएको छ। यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि सार्वजनिक यातायातको २० देखि २८ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।
अन्तरप्रदेश सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २६ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।
प्रकाशित: १ श्रावण २०७८ ०४:४० शुक्रबार