अर्थ

सुन्दर सपना,फितलो कार्यान्वयन

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर तथा सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन पूरा गरेर निर्माण सुरु गर्ने घोषणा गरेको थियो। तर सरकारले चालु आर्थिक वर्षको बजेटमा अघि सारेको यो योजनाले मूर्त रुप लिन सकेको छैन। 

बजेट वक्तव्यमा उल्लेख गर्ने,कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भएको देखिन्छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेका भौतिक पूर्वाधार मन्त्रालयका अधिकांश योजना अघि बढ्न सकेका छैनन्। मध्यावधि निर्वाचन घोषणा भएसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं कोटेश्‍वरको सवारी चापलाई व्यवस्थित गर्न तिनकुने–जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन्।  

गत आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरेर निर्माण सुरु गर्ने भनेको आयोजनाको न सम्भाव्यता अध्ययन भयो, न निर्माण सुरु भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशव शर्माले कोभिड–१९ महामारीका कारण जापानी टोली तीनकुने–कोटेश्वर जडीबुटी खण्डको अध्ययन गर्न आउन नसकेको बताए। ‘यो खण्डको सुरुङ र फ्लाइओभर अध्ययन जापानी टोलीले गर्ने टुंगो लागिसकेको थियो,’ उनले भने, ‘कोभिड–१९ ले जापानी टोली नआउँदा अध्ययन कार्यले गति लिन सकेन।’  

सरकारले आगामी तीन वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्ग मापदण्ड अनुसारको डेडिकेटेड चार लेनको सुरक्षित र द्रुत सडकको रुपमा स्तरोन्नति गर्ने घोषणा गरेको थियो। चालु आवको बजेटमा सरकारले सो सडक निर्माण थाल्न १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार अहिले यो खण्डमा टुक्र–टुक्रा गरेर डिपिआर बनाउने काम भइरहेको छ। ‘पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अहिले खण्ड-खण्डमा छुट्ट्याएर काम गर्ने प्रयास भइरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘बुटवल–नारायणगढ खण्डमा काम सुरु भएको छ। अन्य खण्डमा डिपिआर बनाउने काम भइरहेको छ।’ सडक विभागका अनुसार यो खण्ड चार लेनको बनाउन मात्रै ७६ वटा पुलको डिजाइन लगायत काम गर्नुपर्ने भएकाले धेरै काम हुन सकेको छैन।

मन्त्रालयको वित्तीय प्रगति ६१.९ प्रतिशत  

सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत एक खर्ब ३८ अर्ब बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार  विनियोजित बजेटमध्ये चालु आवको हालसम्म ६१.९ प्रतिशत खर्च भएको छ। मन्त्रालयका प्रवक्ता केशव शर्माले हालसम्म ६१.९ प्रतिशत वित्तीय प्रगति भएको बताए। ‘अहिलेसम्म मन्त्रालयको वित्तीय प्रगति करिब ६२ प्रतिशत छ,’उनले भने,‘कोभिड १९ महामारीले पनि चालु आर्थिक वर्षमा विनियोजित बजेट अपेक्षाकृत ढंगले खर्च हुन सकेन।’  

मन्त्रालयका प्रवक्ता शर्मा बजेट वक्तव्यमा पूर्वतयारीबिनै योजना तथा कार्यक्रम राखिने भएकाले पनि कार्यान्वयनमा समस्या भएको बताउँछन्। ‘बजेटमा आगामी आर्थिक वर्षभित्रै कार्यान्वयन भनेर आउने गर्छ,’ उनले भने, ‘डिजाइन तयार पारेर कार्यान्वयन गर्ने हो कि आयोजना बजेटले भने त्यो खुलाएको देखिँदैन।’  

त्यतिमात्रै होइन, चालु आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालय मातहत राखिएका अधिकांश कार्यक्रमको कार्यान्वयन निकै फितलो देखिन्छ। सरकारले सडक विभाग मातहतका आयोजनाको लागि चालु आर्थिक वर्षमा एक खर्ब ४ अर्ब ७ करोड २ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर विभागका अनुसार चालु आवको अन्त्यसम्म ६० देखि ६५ प्रतिशतसम्म वित्तीय प्रगति हुने लक्ष्य छ। सडक विभागले कोभिड-१९ महामारीका कारण पूर्वाधार निर्माणको कामले गति नलिन नसकेको जनायो।  

विभागका महानिर्देशक अर्जुनजंग थापाले बजेटमा समावेश गरिएका योजना तथा कार्यक्रम एकै वर्षमा सम्पन्न नहुने बताउँछन्। ‘बजेट वक्तव्यमा समावेश हुने सबै कार्यक्रम एकै वर्षमा कार्यान्वयन हुने खालका हुँदैननु,’ उनले भने, ‘बजेटमा कार्यक्रम परेसँगै विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र बोलपत्र डकुमेन्ट, साइट क्लिरेन्स लगायत काम गरेपछि मात्रै निर्माणमा अघि बढ्ने गर्छ।’  

महानिर्देशक थापाले नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि मात्रै योजनाको प्रक्रियागत रुपमा मात्रै सुरु हुने बताउँछन् । ‘बजेटमा आउनेबित्तिकै एकै वर्षमा आयोजना बन्छन भन्ने हुँदैन,’ उनले भने, ‘बजेटमा परेपछि पूर्वसम्भाव्यता अध्ययन सुरु हुने गर्छ। अन्य प्रक्रिया पूरा भएर निर्माण हुन त वर्षौं लागिहाल्छ नि।’ 

आधा दर्जन सुरुङमार्गमध्ये दुइटा अघि बढे  

सरकारले चालु आर्थिक वर्षमा आधा दर्जनभन्दा धेरै सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री खतिवडाले चालु आवमा आधा दर्जनभन्दा धेरै सुरुङमार्गको लागि ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । सरकारले आगामी आवमा नौबिसे नागढुंगा, सिद्धार्थ राजमार्गको बुटबल पाल्पा खण्डमा, खुर्काेट–चियाबारी, बिपीनगरको खुटिया-दिपायल, गण्ंोशमान सिंह राजमार्गको थानकोट चित्लाङ र लामाबगर–लाप्चे सडक खण्डमा सुरुङको काम सुरु गर्ने घोषणा गरेको थियो। तीमध्ये दुइटाको मात्रै निर्माण अघि बढेको छ । नागढुंगा सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ। सिद्धार्थ राजमार्गको बुटबल-पाल्पा खण्डको टेन्डर आह्वान भइसकेको छ । काठमाडौंको टोखा र नुवाकोटको छहरे खण्ड तथा रसुवाको बेत्रावती-स्याफ्रुबेसी खण्डमा सुरुङ निर्माण गर्ने घोषणा गरेको थियो। यी आयोजनाको अध्ययन भइरहेको सडक विभागले जनायो।

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको छ। सोही अवधिमा पाँच सय चार किलोमिटर ग्राभेल र दुई सय ८४ किलोमिटर कच्ची सडक निर्माण भएको छ। आर्थिक सर्वेक्षणका अनुुसार मुलुकभर रणनीतिक र स्थानीय गरी कालोपत्रे सडक १५ हजार ९ सय ७४ किलोमिटर पुगेको छ। 

ग्राभेल सडक ८ हजार ५ सय ८२ र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर पुगेको छ । चालु आवको आठ महिनामा एक सय २९ पुल तयार भएका छन्। गत आवमा दुई सय १० वटा पुल निर्माण सम्पन्न  भएको थियो। सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलकभर ९१ प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आवको आठ महिनामा एक लाख ५५ हजार ८ सय ८ जनसंख्यामा थप खानेपानीको पहुँच पुगेको हो। सरकारले सम्पूर्ण नेपाली जनताको घरधुरीमा शौचालय रहेको जनाएको छ। 

प्रकाशित: ३० असार २०७८ ०२:५० बुधबार