सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको अभ्यास गरिरहेका गण्डकी प्रदेशका गाउँहरूमा चहलपहल बढाउन मद्दत गर्ने उद्देश्यले मोबाइल एप्स ‘भिजिट गण्डकी’ बनाइएको छ।
नेपाल पर्यटन बोर्ड, पोखराको आर्थिक सहयोगमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाले एप्स बनाएको हो। यसमा अंग्रेजी र नेपाली भाषामा गण्डकीका ५० वटा गाउँहरूको सूचना, नक्सा, तस्बिर र भिडियो राखिएको छ।
‘हाम्रो एप्सबाट ती गाउँहरूको चिनारी मिल्नुका साथै बुकिङ र पेमेन्ट गर्न सकिनेछ’, भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारी भन्छन्, ‘गाउँ पर्यटनको मार्केटिङमा मोबाइल एप्स नयाँ आयाम हो।’
एप्समा कास्की जिल्लाका ताङतिङ, कालाबाङ, घलेल, ल्वाङ, हयाङ्जाकोट, याङ्जाकोट, मिर्सा र भदौरे गाउँ समेटिएका छन् भने पर्वत जिल्लाका भुकदेउराली, चित्रे र लव्सीबोट गाउँ छन् भने स्याङ्जाका सिरुबारी, पित्लेक, सुन्तलाबारी, भैंसेगौडा, खिलुङ र कोल्मा गाउँको जानकारी दिइएको छ।
एप्समा तनहुँका टुटेपानी, फिरफिरे, कोरिखा, तनहुँसुर, करादिप, दुम्सीदरै र आँपस्वारा गाउँ छन्। अनि लमजुङका घलेगाउँ, राइनासकोट, काउलेपानी, भुजुङ, पसगाउँ र कुडुले छन्। बागलुङका भकुण्डे, बिहुँकोट, ढोरपाटन र कटेरी गाउँ छन्। मनाङका ओडार र ताचै गाउँ छन् भने मुस्ताङका ठिनी, स्याङ र मराङ गाउँ छन्।
यसरी पहिलो चरणमा समेटिएका म्याग्दीका गाउँहरूमा ताकम, झिँ र झाँक्रीपानी गाउँ छन् । साथै नवलपुरका अमलटारी, डेडगाउँ, प्रिपहर र लामिचौर गाउँ छन् भने गोरखाका लिगलिगकोट, बारपाक, पसलाङ र बेतिनी गाउँ।
भिटोफले गएको शुक्रबार आयोजना गरेको अनलाइन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले मोबाइल एप्स शुभारम्भ गरेका थिए। उनले गाउँघरको डिजिटल मार्केटिङ र तालिमका कार्यक्रममा भिटोफ गण्डकीसँग निरन्तर हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, बुम इन्टरनेशनलका विजय देवान राई, भिटोफ केन्द्रका अध्यक्ष ध्रुब सिम्खडा, भिटोफका सल्लाहकारहरू टिकाराम सापकोटा र डा. रामजी शर्माले ‘भिजिट गण्डकी’ मोबाइल एप्स गाउँ पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा बन्नेमा आशावादी भएको बताए।
बुम इन्टरनेशनलको प्राबिधिक सहयोगमा एप्स बनाइएको हो। यसमा ५० वटा गाउँको जानकारी दिइएको छ भने करिब तीन सय होमस्टकोे लिस्टिङ मात्र गरिएको छ। गाउँको सूचना पर्यटन पत्रकार अमृत भादगाउँलेले लेखेका हुन्।
‘उचित प्रचारप्रसारको अभावले हाम्रा गाउँहरूले पर्यटक पाउन सकेका छैनन्’, एप्स निर्माण समितिका संयोजक एवं ग्रामीण पर्यटनविज्ञ तारानाथ पहारी भन्छन्, ‘त्यसैले हामी क्रमशः गण्डकीका अरु गाउँलाई पनि एप्समा थप्दै जानेछौं।’
इतिहासअनुसार नेपालमा वि.सं. २०५४ सालदेखि स्याङ्जाको सिरुबारीबाट सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास भएको थियो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाइमा सिरुबारीलाई नेपालको पहिलो पर्यटन गाउँ घोषणा गरिएको थियो। आज सिरुबारीलाई पच्छ्याउँदै गाउँगाउँमा सामुदायिक होमस्टेसहितको पर्यटन अभ्यास भैरहेको छ।
प्रकाशित: २९ असार २०७८ ११:४४ मंगलबार