अर्थ

महामारीमा पनि बैंकको नाफा बढ्यो

कोरोना महामारीका कारण अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदा बैंकिङ क्षेत्रको नाफामा भने उल्लेख्य रूपले वृद्धि भएको छ।  

चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा २७ वाणिज्य बैंकहरू ६२ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्। ती बैंकहरूले गत आर्थिक वर्ष ५४ अर्ब ३५ करोड सात लाख रूपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको अन्तिम महिनाको रिपोर्ट आउन अझै बाँकी रहेकाले नाफामा केही वृद्धि हुने बैंकरहरूको अनुमान छ।  

यस अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले नाफा वृद्धि गरेका छन् भने सातवटाले घटाएका छन्। गत वर्ष कोरोना महामारीका कारण औसतमा करिब १३ प्रतिशत लाभांश वितरण गरेका ती बैंकहरूले यसपटक औसतमा २० प्रतिशत हाराहारी लाभांश वितरण गर्ने सम्भावना देखिएको बैंकर बताउँछन्। कोरोना महामारीमा बैंकहरूले नाफा वृद्धि गर्नुलाई बैंकरहरूले पारदर्शीता र मेहनतको प्रतिफलको रूपमा बताउने गरेका छन्।

यता बैंकबाट कर्जा लिएका व्यवसायी भने बैंकहरूले अप्ठेरोको बेला पनि ऋणीलाई आवश्यकता भन्दा बढी पेलेर नाफा कमाएको आरोप लगाउँछन्। एक व्यवसायीले महामारीले कैयौं व्यवसायी पलायन भइरहेको बेला बैंकहरूले धमाधम नाफा गर्नु न्यायोचित नभएको गुनासो गरे। उनले भने, ‘तर यस्तो बेला बैंकहरूले नाफा गरे अनुसार व्यवसायीलाई छुट, सहुलियत दिन सकेका छैनन्।’

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बैंकहरूको नाफा बढ्नुमा पारदर्शिता मुख्य कारण रहेको बताउँछन्। ‘यतिखेर कतिपयलाई सबै क्षेत्र समस्यामा छन् भन्ने लाग्छ,’ उनले भने, ‘महामारीले सबै क्षेत्र समस्यामा छैनन्,’ उनले भने, ‘वास्तविकता चाहिँ थोरै क्षेत्रको अवस्था खराब भएको र अधिकांश कर्पोरेट सेक्टरले राम्रो गरेकाले हो।’ कर्पोरेट सेक्टरले राम्रो गरेका कारण नै बैंकले नाफा वृद्धि गरेको उनको भनाइ छ।  

अर्थशास्त्री नरबहादुर थापा महामारीमा बैंकहरूले नाफा वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय व्यापार राम्रो हुनुलाई लिन्छन्। ‘साथै नेपाल राष्ट्र बैंकले लिएको नीति, रेमिटेन्स आप्रवाहमा वृद्धि तथा महामारीमा कतिपय व्यवसाय फस्टाउँदा बैंकहरू नाफा वृद्धि गर्न सफल भएका हुन्,’ उनले भने।  

कोरोना महामारीका कारण उद्योग, व्यवसाय प्रभावित हुने देखिएपछि राष्ट्र बैंकले गत वर्ष पुनर्कर्जाको योजना सुरु गरेको थियो। करिब एक वर्षको अवधिमा एक खर्ब ३५ अर्ब रूपैयाँ हाराहारी पुनर्कर्जा वितरण भइसकेको छ। त्यस्तै महामारी सुरु हुँदा धेरैले रेमिटेन्समा भारी गिरावट आउने अनुमान गरेका थिए। तर पछिल्ला हरेक महिना रेमिटेन्स आप्रवाह बढ्दो छ। गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको १० महिनामा (साउन–बैशाखसम्म) आठ खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स आइसकेको छ।  

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका थापा महामारीको बेला बैंकहरूले कर्जा प्रवाह वृद्धि गर्दा वित्तीय स्थायित्वमा सहयोग पुग्ने बताउँछन्। ‘महामारीमा वित्तीय स्थायित्व कायम हुनु सुखद पक्ष हो,’ उनले भने, ‘यो बेला बैंकिङबाहेक अन्य सबै क्षेत्रले नोक्सानी बेहोरेका छन् भन्ने होइन। केहीले पहिलाको भन्दा राम्रो गरेका उदाहरण पनि छन्।’  चालु आर्थिक वर्षमा बैंकहरूको कर्जा प्रवाह २३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। कर्जा वृद्धि भएका कारणले बैंकहरूको नाफा वृद्धि स्वाभाविक भएको बैंकरहरूको भनाइ छ। थापा अर्थतन्त्रलाई बलियो बनाउन कर्जा प्रवाह हुनु पनि सेवा नै ठान्नुपर्ने बताउँछन्।  

गत वर्षको तुलनामा यो वर्ष सबभन्दा बढी नाफाको वृद्धिदर प्रभु बैंकको छ। यस बंैकले चालु आवको ११ महिनामा दुई अर्ब ४८ करोड २९ लाख रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा प्रभुले एक अर्ब ३६ करोड ६९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो नाफा गत वर्षको भन्दा ८१.६४ प्रतिशतले बढी हो।

यो वर्षमा धेरै नाफा गर्ने बैंकमा कुमारी र मेगा क्रमशः दोस्रो र तेस्रोमा छन्। कुमारीले गत आवको तुलनामा ७१.२५ प्रतिशतले नाफा वृद्धि गरी दुई अर्ब १० करोड पाँच लाख रूपैयाँ पुर्‍याएको छ। उक्त बैंकले गत आवमा एक अर्ब २२ करोड ६५ लाख रूपैयाँ खुद नाफा गरेको थियो। त्यस्तै मेगा बैंकले यो वर्षको ११ महिनासम्म दुई अर्ब ४७ करोड ७२ लाख रूपैयाँ नाफा गरेको छ। गत वर्षको भन्दा ६२.९२ प्रतिशतले नाफा वृद्धि गरेको यस बैंकले त्यतिखेर एक अर्ब ५२ करोड रूपैयाँ खुद नाफा गरेको थियो।  

११ महिनामा नेपाल बंगलादेश, सिटिजन्स, प्राइम कमर्सियल, ग्लोबल आइएमई लगायतका बैंकले पनि नाफामा उल्लेख्य वृद्धि गरेका छन्। गत आवमा एक अर्ब २४ करोड ४५ लाख रूपैयाँ खुद नाफा गरेको नेपाल बंगलादेश बैंकले ११ महिनामा एक अर्ब ९९ करोड ५५ लाख रूपैयाँ नाफा निकाल्न सफल भएको छ। त्यस्तै, सिटिजन्सको नाफा ११ महिनामा एक अर्ब ७६ करोड १२ लाख रूपैयाँ पुगेको छ। गत वर्ष सोही बैंकले एक अर्ब ११ करोड ६० लाख रूपैयाँ खुद नाफा गरेको थियो।  

गत आवमा वर्षभरिमा दुई अर्ब २९ करोड २८ लाख रूपैयाँ खुद नाफा गरेको प्राइम कमर्सियल बैंकले चालु आवको जेठ मसान्तसम्म ४९.५६ प्रतिशतले नाफा वृद्धि गरी तीन अर्ब ४२ करोड ९० लाख रूपैयाँ पुर्‍याएको छ। त्यस्तै ग्लोबल आइएमईले गत आवको तुलनामा अहिले ३९.४५ प्रतिशतले नाफा वृद्धि गरेको छ। गत वर्ष तीन अर्ब आठ करोड ८० लाख रूपैयाँ खुद नाफा गरेको उक्त बैंकले चालु आवको जेठसम्म चार अर्ब ३० करोड ६२ लाख रूपैयाँ नाफा गर्न सफल भएको छ।  

गत वर्ष एक अर्ब २५ करोड २० लाख रूपैयाँ खुद नाफा गरेको माछापुच्छ«े बैंकले यो वर्ष एक अर्ब ६७ करोड ८९ लाख रूपैयाँ नाफा गरेको छ। हालै हिमालयन बैंकसँग मर्जरको सम्झौता गरेको नेपाल इन्भेस्टमेन्ट बैंकले गत आवको तुलनामा यो वर्ष ३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ। गत वर्ष दुई अर्ब ५७ करोड १६ लाख रूपैयाँ खुद नाफा गरेको यो बैंकले चालु आवको ११ महिनामा तीन अर्ब ४१ करोड ५१ लाख रूपैयाँ नाफा गरेको छ।  

त्यस्तै, सानिमा बैंकले गत ११ महिनामा ३२.५३ प्रतिशतले नाफा वृद्धि गरी दुई अर्ब २५ करोड ७५ लाख रूपैयाँ पुर्‍याएको छ। गत वर्ष उक्त बैंकले एक अर्ब ७० करोड ३३ लाख रूपैयाँ खुद नाफा गरेको थियो। विगतमा वर्षमा त्यति धेरै नाफा गर्न नसक्ने गरेको सिभिल बैंकले समेत महामारीमा ३१.७७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ।  

गत आवमा ४५ करोड ७० लाख रूपैयाँ खुद नाफा गरेको सिभिलले चालु आवको जेठसम्म ६० करोड २१ लाख रूपैयाँ नाफा गरेको छ। उता एनएमबि बैंकले ११ महिनामा करिब ७० करोड रूपैयाँले नाफा वृद्धि गर्न सफल हुँदा कुुल नाफा दुई अर्ब ९८ करोड १२ लाख रूपैयाँ पुर्‍याएको छ। गत आवमा दुई अर्ब २७ करोड ६ लाख रूपैयाँ खुद नाफा गरेको उक्त बैंकको नाफा जेठसम्म ३१.२९ प्रतिशतले वृद्धि भएको हो।  

सिद्धार्थ बैंकको यस अवधिमा २८.४७ प्रतिशतले नाफा वृद्धि हुँदा दुई अर्ब ६८ करोड ८५ लाख रूपैयाँ पुगेको छ। गत वर्ष सोही बैंकले दुई अर्ब नौ करोड २७ लाख रूपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा नबिल बैंकको नाफा २४.२४ प्रतिशतले वृद्धि भई चार अर्ब ४३ करोड ११ लाख रूपैयाँ पुगेको छ। नबिलले गत वर्ष तीन अर्ब ५६ करोड ६६ लाख रूपैयाँ नाफा गरेको थियो।  

कोरोनामा महामारीमा नाफा वृद्धि गर्ने अर्को बैंक एनसिसी पनि हो। गत वर्ष एक अर्ब १३ करोड नौ लाख रूपैयाँ खुद नाफा गरेको उक्त बैैंकले चालु आवको ११ महिनामा २२.५३ प्रतिशतले नाफा वृद्धि गरी एक अर्ब ३८ करोड ५७ लाख रूपैयाँ पुर्‍याएको छ।

एनआइसी एसियाले ११ महिनाको अवधिमा तीन अर्ब ६६ करोड ८४ लाख रूपैयाँ नाफा गरेको छ। उक्त बैंकले गत आवमा तीन अर्ब १२ करोड १४ लाख रूपैयाँ खुद नाफा गरेको थियो। त्यस्तै बैंक अफ काठमाण्डुको नाफा १५.३५ प्रतिशतले बढ्दा एक अर्ब ७४ करोड ३४ लाख रूपैयाँ पुगेको छ। उक्त बैंकको गत वर्षको नाफा एक अर्ब ५१ करोड १४ लाख रूपैयाँ थियो। 

सरकारी स्वामित्वको नेपाल बैंकले गत वर्षको तुलनामा यसपटक करिब १० प्रतिशतले नाफा वृद्धि गरी दुई अर्ब ८१ करोड ५३ लाख रूपैयाँ पुर्‍याएको छ। सोही बैंकले गत वर्ष दुई अर्ब ५५ करोड ६४ लाख रूपैयाँ खुद नाफा गरेको थियो। सनराइज बैंकको नाफा करिब पाँच प्रतिशतले बढेको छ। गत वर्ष एक अर्ब ३९ करोड २८ लाख रूपैयाँ खुद नाफा गरेको उक्त बैंकले चालु आवको ११ महिनामा एक अर्ब ४६ करोड २९ लाख रूपैयाँ नाफा गरेको छ। त्यस्तै लक्ष्मी बैंकको नाफा करिब ७५ लाख रूपैयाँले वृद्धि भई यस अवधिमा एक अर्ब ४९ करोड २८ लाख रूपैयाँ पुगेको छ। गत वर्ष उक्त बैंकले एक अर्ब ४८ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको थियो।  

चालु आवको ११ महिनामा २० बैंकले धेरथोर नाफा गरिरहँदा सञ्चालनमा रहेका सात बैंकको भने नाफा घटेको छ। यस अवधिमा धेरै नाफा घटाउनेमा सेन्चुरी बैंक छ। उक्त बैंकको नाफा ११ महिनामा ४०.७२ प्रतिशतले घट्दा ५३ करोड ७२ लाख रूपैयाँमा सीमित भएको छ। उक्त बैंकले गत वर्ष ९० करोड ६३ लाख रूपैयाँ खुद नाफा गरेको थियो।  

त्यस्तै, इन्भेस्टमेन्ट बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको हिमालयन बैंकको नाफा पनि ३७.२० प्रतिशतले घटेर एक अर्ब ५९ करोड ६७ लाख रूपैयाँमा सीमित छ। उक्त बैंकले गत वर्ष दुई अर्ब ५४ करोड २५ लाख रूपैयाँ नाफा गरेको थियो। चालु आवमा नाफा घटाउने बैंकमा नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, कृषि विकास र राष्ट्रिय वाणिज्य छन्। एसबिआईको जेठसम्म एक अर्ब १० करोड ७२ लाख रूपैयाँ नाफा भएको छ। उक्त बैंकले गत आवमा एक अर्ब ५३ करोड रूपैयाँ खुद नाफा गरेको थियो। स्ट्यान्डर्ड चार्टर्डको नाफा २६.३२ प्रतिशतले घट्दा एक अर्ब ४६ करोड रूपैयाँ भएको छ। गत वर्ष सोही बैंकको नाफा एक अर्ब ९८ करोड २८ लाख रूपैयाँ थियो।  

त्यस्तै, एभरेस्टले २४ प्रतिशतले नाफा घटाउँदा एक अर्ब ८९ करोड ९१ लाख रूपैयाँमा झरेको छ। गत वर्ष उक्त बैंकले दुई अर्ब ४९ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको थियो। त्यस्तै कृषि विकास बैंकले अहिले दुई अर्ब ६६ करोड १० लाख रूपैयाँ नाफा गरेको छ। यो नाफा गत वर्षको तुलनामा २३.२७ प्रतिशतले कमी हो। गत आवमा त्यस बैंकले तीन अर्ब ४६ करोड ८० लाख रूपैयाँ खुद नाफा गरेको थियो।  

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा ११.८९ प्रतिशतले नाफा घटाउँदा तीन अर्ब ९२ करोड ३० लाख रूपैयाँमा सीमित भएको छ। गत आवमा उक्त बैंकको नाफा चार अर्ब ४५ करोड २५ लाख रूपैयाँ गरेको थियो। 

प्रकाशित: २८ असार २०७८ ०२:३७ सोमबार

बैंकिङ क्षेत्र