अर्थ

बढी भाडा लिने सवारीसाधन कारबाहीमा

कारबाहीमा परेका सवारीसाधन प्रहरी परिसरमा ।

निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ। चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि उनीहलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।  

प्रहरीले तीन वटा हाइस, दुई वटा बस र एउटा जिपलाई निश्चित दररेटभन्दा बढी भाडा लिएको भन्दै कारबाही गरेको हो। ६ वटा सवारीहरुलाई नियन्त्रणमा लिई तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न लगाइएको र जनही १ हजार ५ सयका दरले जरिवाना समेत तिराईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए। ‘तोकिएभन्दा बढी भाडा फिर्ता गराईने भएको छ', उनले भने,‘अब उप्रान्त तोकिएभन्दा बढी भाडा नलिने भनी यातायात व्यवसायीसँग सम्झौता पनि भएको छ।’ कतै अनियमितता भए खबर गर्न उनको आग्रह थियो।

प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायीका पदाधिकारी लगायतको उपस्थितिमा चालक तथा सहचालकहरुलाई प्रशिक्षण एवं ट्राफिक नियमका बारेमा सुसूचित समेत गराइएको छ।  

यसैबीच जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले करिब ८ यि लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाको आधारमा सन्धिखर्क नगरपालिकाका विभिन्न ठाउँबाट रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयार भएको ७९५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

प्रकाशित: २६ असार २०७८ १४:३६ शनिबार

सवारीसाधन कारबाही निषेधाज्ञा