अर्थ

हुलास वायर र तुलसी मोटरमा मजदुर आन्दोलन

मोरङका दुई उद्योगमा कार्यरत मजदुरलाई बिनाकारण निष्कासन गरेपछि आन्दोलनमा सुरु सम्बद्ध उद्योगमा भएको छ।

बूढीगंगा गाउँपालिका–३ मा रहेको हुलास वायर इन्डस्ट्रिज र विराटनगर–१९ मा रहेको तुलसी मोटर पम्पका मजुदरले श्रम ऐनअन्तर्गतको सेवा सुविधा दिनुपर्ने लगायत माग राख्दै आन्दोलन थालेका हुन्। हुलास वायरका ९३ र तुलसी मोटरका २४ मजदुरलाई बिनाकारण निष्कासन गरेको भन्दै दुवै उद्योगका मजदुर आन्दोलित भएका हुन्।

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कासन गरेको मजदुर बताउँछन्। यहाँ १० वर्षदेखि काम गर्दै आएका मजदुरलाई सरकारले तोकेअनुसारको सेवा सुविधा दिइएको छैन।  

हुलास वायरका आन्दोलनरत मजदुरले सरकारले तोकेको सेवा सुविधासहित निष्कासनमा परेका मजदुरलाई पुनः रोजगारी दिनुपर्ने माग राखेका छन्।  

त्यसैगरी, तुलसी मोटर पम्प उद्योगले श्रम ऐनले तोकेभन्दा कम पारिश्रमिक दिएको र त्यहाँ कार्यरत मजदुलाई विगत दुई महिनादेखि काम नदिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।  

तुलसी मोटर पम्प उद्योगमा मजदुरले ट्रेड युनियन गठन गर्न खोजेपछि उनीहरूलाई २ महिनादेखि काम नदिएको मजदुर संजयकुमार चौधरीले बताए। मजदुरलाई काम गर्न नदिएपछि श्रम कार्यालय विराटनगरमा उनीहरूले उजुरी दिएका थिए। उजुरी दिएपछि श्रम कार्यालयले काम नदिएका कर्मचारीलाई तत्काल काम दिन र हटाइएका कर्मचारीलाई पुनर्बहाली गरी यथास्थानमा काम गर्न गराउन पत्राचार गरे पनि व्यवस्थापन पक्षले भने बेवास्ता गरेको आरोप लगाएका छन्।  

‘यहाँ ४ वर्षदेखि काम गर्दै आएको छु,’ मजदुर चौधरीले भने, ‘यहाँ कार्यरत मजदुरमध्ये २४ जना मिलेर टे«ड युनियन कांग्रेस श्रम कार्यालयमा दर्ता गर्‍यौँ। युनियन दर्ता गरेको निहुँमा हामीलाई विभिन्न प्रकारका दबाब दिँदै गेटबाट प्रवेश दिइएको छैन।’ २/३ महिनादेखि कामबाट वञ्चित गरेपछि पुनः रोजगारी दिनुपर्ने र श्रम ऐनअनुसारको तलब सेवा सुविधा दिनुपर्ने माग राख्दै ५ दिनदेखि आन्दोलन गरेको हो। श्रम कार्यालयले उद्योगका नाम दिइएको पत्रको व्यवस्थापन पक्षले सुनुवाइ नगरेको चौधरीले बताए।  

उद्योगमा कार्यरत ७७ जना मजदुरमध्ये २४ जनाले आन्दोलन गरेका हुन्। उद्योगको गेटमा धर्नामा बसेका मजदुरलाई प्रहरी प्रशासनले जबरजस्ती हटाएको थियो। आन्दोलनरत मजदुरको माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन्। तुलसी मोटर पम्पसहित शिखर अर्गनाइजेसन प्रालि र नटराज एग्रो प्रालि सञ्चालनमा रहेका छन्।  

प्रकाशित: २५ असार २०७८ ०६:१५ शुक्रबार

मजदुर आन्दोलन