अर्थ

पेट्रोलिम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइइन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १९ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएकोप्रति विरोध जनाउँदै विद्यार्थी संगठनले सो मूल्यवृद्धि तत्कालै फिर्ता गर्न माग गरेको हो।

यूनियनले प्रेस विज्ञप्ति जारी गर्दै पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएको जनाएको छ। संगठनले ‘कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो मुलुक नै आक्रान्त बनिरहेको र जनता रोग र भोकबाट ग्रसित हुनुपरिरहेको अवस्थामा सरकार जनताप्रति जवाफदेही हुनुको सट्टा उल्टै भ्रष्टाचारी, दलाल र माफियाहरुको योजनाअनुसार सञ्चालित भइरहेको देखिन्छ भने नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली स्वयम् तिनै दलाल र माफियाहरुको नाइके बनेर यस्ता जनविरोधी क्रियाकलापहरु गरिरहेका छन्। हाम्रो सङ्गठन पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर विरोध एवम् निन्दा गर्दछ।’ जारी गरेको विज्ञप्तिमा भनेको छ।

संगठनले मूल्यवृद्धि अविलम्ब फिर्ता नगरिए सशक्त सङ्घर्षमा उत्रिने समेत उल्लेख गरेको छ।

प्रकाशित: २४ असार २०७८ ०९:५२ बिहीबार

स्वतन्त्र विद्यार्थी यूनियन पेट्रोलियम पदार्थ