अर्थ

सीमा बन्द छ, तैपनि रोकिएन तस्करी

जोखिम कम गर्न भारतसँगको नाका बन्द भए पनि बाँकेमा तस्करी रोकिएको छैन। सरकारले बेलाबेला लगाइएको बन्दाबन्दी (लकडाउन) र स्थानीय प्रशासनले गरेको निषेधाज्ञायता मात्रै बाँकेमा लाखौं मूल्य बराबरका तस्करीका सामान बरामद भएका छन्। गत सोमबार मात्रै प्रहरीले बाँकेका तीन सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरेको छ। नेपालगन्जस्थित जमुनाह, जानकी गाउँपालिका–२, बेलभार र डडुवा गाउँपालिका–१ खडैचा नाकाबाट लुकाइछिपाई ल्याएका २० वटा कुखुरा, केही चिसो, कपडालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ।

शनिबार पनि प्रहरीले भन्सार छली ल्याएको ठूलो परिणामका सामान बरामद गरेको थियो। नेपालगन्ज उपमहानगरपालिका–७ एमपी स्कुल नजिकैको घरमा लुकाइछिपाई राखेको अवस्थामा आठ लाख रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। नेपालगन्ज जमुनाहका ३२ वर्षीय मोनु कवडियाले उक्त सामान भन्सार छली भारतबाट नेपाल भित्र्याएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीर्घराज उपाध्यायका अनुसार मोटरसाइकल तथा गाडीका पार्टपुर्जा, कपडा, छातालगायतका सामग्री निषेधाज्ञाका बेला कवडियाले भन्सार छलेर ल्याएका थिए। यति मात्र होइन सीमा नाका बन्द भए पनि भन्सार छलेर सामानहरू दिनप्रतिदिन भित्रि रहेका छन्। नेपाल–भारत खुला सीमा र बिचौलिया कारण भारतबाट बाँकेमा अवैध सामान भित्रिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वैशाखयता मात्रै प्रहरीले १५ पटक करिब ३५ लाख बराबर मूल्यको सामान बरामद गरेको छ।

भैंसी ६, दुई गाडी, कपडा, चिनी, तरकारी, पानको पत्तालगायतका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उपाध्यायले जनाए। ‘खुला सिमानाका कारण तस्करी रोकिएको छैन,’ उनले भने, ‘कोरोना भाइरसका बेला सीमा नाकामा निगरानी गर्न समस्या भयो।’ सीमामा सुरक्षा उपस्थिति बढेपछि तस्करीको सामान समातिने क्रम भने तुलनात्मक रूपमा बढेको छ। तर लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ।

सीमा बन्दको अवस्थामा पनि चोरी, निकासी तथा पैठारी बृद्धि नरोकिँदा स्वदेशी उत्पादनलाई ठूलो असर परेको छ। ‘झट्ट हेर्दा धेरै मालसामान बरामद गरिएकाले चोरी निकासी पैठारी घटेको देखिन्छ। तर सीमा बन्द हुँदा पनि नियमित चोरी निकासी पैठारी त अत्यधिक भइरहेको पाइयो,’ जानकी गाउँपालिका–५, का वकिल बागवानले भने, ‘चोरी निकासी पैठारीले नेपाली बजार धारासायी हुन्छ त्यसैले यो पूर्णरूपमा नियन्त्रण हुनुपर्छ।’  

भारतबाट तस्करी नरोकिँदा आफ्नो व्यवसायसमेत बन्द गर्नुपरेको उनी बताउँछन्। उनी कुखुरा व्यवसायी हुन। ‘भारतबाट तस्करी भएर आउने कुखुरा बजारमा छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘स्वदेशी उत्पादन हुँदा हाम्रो कुखुरा बिक्री नै हुँदैन।’ तस्करी रोकिएको भए आफूले घाटा नबहोर्नुपर्ने उनको भनाइ छ। प्रायः दैनिक रूपमा तस्करीका सामान पक्राउ हुँदै आएकाले भारतबाट नेपाल र नेपालबाट भारत मालसामानको नियमित तस्करी हुने क्रम नरोकिएको स्थानीयले बताएका छन्। सुरक्षाकर्मीसँगकै मिलेमतोमा तस्करी हुँदै आएको स्थानीयको आरोप छ। सीमानाका बन्द भए पनि तस्करले सामान वारिपारी गरिरहेको उनले जानकारी दिए। भारतीय उत्पादनले यहाँको उत्पादनमा प्रभाव पारेको रामप्रसाद चौधरीले जनाए। भारतबाट आउने तरकारीलगायत कृषिजन्य सामग्री सस्तो हुने र स्थानीय उत्पादन केही महँगो हुँदा बजारसँग प्रतिस्पर्धा हुन समस्या आइरहेको उनको भनाइ छ।

‘सबैतिर सीमा बन्द छ। सुरक्षाकर्मीको मिलेमतोबिना सामान वारीपारी गर्न असम्भव जस्तै छ,’ उनले भने, ‘तस्कर गर्नेहरूले सेटिङमै विशेष गरी राति र बिहान झिसमिसेमा एकदमै सामान ओसारपसार गरिहेका छन्।’ सीमावर्ती सीमा क्षेत्रका चोर बाटोबाट र सुरक्षाकर्मीको आँखा छलेर तस्करी हुँदै आएको पाइएको छ।

प्रकाशित: २४ असार २०७८ ०३:१७ बिहीबार

तस्करी