अर्थ

मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ।  

मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ।  

‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ बुधबार उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रोजगारी सुचारु होला भन्ने अनुमान मात्र हो।’ अघिल्लो वर्षको मार्चदेखि लकडाउन सुरु गरिए पनि त्यहाँ अझै पनि कोरोनाको प्रकोप कायमै छ।  

ढकालले महामारीका कारण मलेसियाको अवस्था खराब रहेको उल्लेख गर्दै अहिलेसम्म कोरोनाविरुद्ध दुई डोज खोप पाउनेको संख्या न्यून रहेको बताए। ‘अहिलेसम्म ९३ लाखले पहिलो र २७ लाखले दोस्रो डोजको खोप लगाएका छन्,’ उनले भने, ‘त्यसैले अहिलेसम्म धेरैको अनुमान डिसेम्बरपछि अवस्थामा केही सुधार हुन्छ कि भन्ने अपेक्षा छ।’ कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो।  

मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ। यतिखेर विदेशी कामदार भित्र्याउन मलेसिया सरकारले खासै अग्रसरता नलिएको उनको भनाइ छ। वैदेशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन।  

विभागका अनुसार हालसम्म सबै गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये रोजगारीका लागि मलेसिया जान करिब १० लाखले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिएकामध्ये यतिखेर करिब एक लाख ६० हजार मलेसियामा रहेको ढकालले बताए। ‘वैधबाहेक कागजपत्र पूरा नगरेका कैयौं नेपाली पनि मलेसियामा रहेको अनुमान छ,’ उनले भने। म्यानपावर व्यवसायी भने मलेसियामा वैध र अवैध गरी करिब तीन लाख नेपाली रहेको अनुमान गर्छन्।  

साउदीमा उडानको समस्या  

साउदी अरेबियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर जीवन राईले साउदी–काठमाडौं हवाई उडानको संख्या न्यून हुँदा घर फर्कनेलाई निकै समस्या भइरहेको बताए। ‘तीन लाखको हाराहारीमा नेपाली रहेको मुलुकमा काठमाडौंबाट कतार एअरवेज र हिमालयन एअरको मात्र उडान राखिएको छ,’ उनले भने, ‘जसले गर्दा अप्ठेरो परेका पनि समयमै घर फर्कन पाइरहेका छैनन्।’  

उनले हवाई उडान सहजै उपलब्ध नहुँदा महँगोमा टिकट किनेर पनि समयमा घर फर्कन श्रमिकलाई समस्या परिरहेको जानकारी गराए। ‘टिकट नपाएकै कारण कतिपयको बहिर्गमनका लागि पाएको अनुमति पनि सकिने गरेको छ,’ उनले भने, ‘यसले गर्दा कैयौंलाई अवैध हुनुपर्ने र जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ।’  

मलेसिया लगायतका गन्तव्य मुलुकले नेपाली कामदार लिन बन्द गरेको बेला साउदीका रोजगारदाताको चासो नेपाली कामदारप्रति भए पनि हवाई उडानको सहज उपलब्धता नहुँदा नेपालीको आवागमनका कठिन भइरहेको बताइएको छ। राईका अनुसार सन् २०२१ को जनवरी २४ देखि हालसम्म साउदीस्थित नेपाली राजदूतावासले ३५ हजार मागपत्र प्रमाणीकरण गरेको छ।  

जुलाइभर युएईमा प्रवेश निषेध

त्यस्तै, धेरै नेपाली श्रमिक रोजगारीका लागि जाने गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले जुलाईभर नेपाल लगायत विदेशी नागरिकलाई प्रवेश नदिने निर्णय गरेको त्यहाँस्थित नेपाली राजदूतावासकी श्रम काउन्सेलर निर्मला थापाले जानकारी दिइन् ।  

‘यो महिनाभर कोरोनाविरुद्ध खोप लगाएका वा नलगाएका कसैलाई पनि प्रवेश नदिने युएई सरकारको निर्णय छ,’ उनले भनिन्, ‘जुलाईपछि कोरोनाविरुद्ध खोप लगाएका श्रमिकलाई प्रवेशमा अनुमति दिने अपेक्षा गरेका छौं ’ युएई सरकारको यस्तो निर्णयले बिदामा घर आएका श्रमिकलाई निकै मार परेको छ। थापाले कोरोनाविरुद्धको खोप लगाएकालाई प्रवेशमा अनुमति दिन राजदूतावासले पहल गरिरहेको बताइन्।  

तर नेपालमा कोरोनाविरुद्ध खोप लगाउने कार्यमा निकै ढिलाइ भइरहेकाले वैदेशिक रोजगारीमा जाने श्रमिकले खोप कहिले पाउने हुन् भन्नेमा यकिन छैन। विज्ञहरूले वैदेशिक रोजगारीलाई धराशयी हुनबाट बचाउन र गरिब तथा बेरोजगारको आर्थिक अवस्था सुधार गर्न सरकारले सके सबैलाई नसके श्रम स्वीकृति लिएकालाई कोरोनाविरुद्धको खोप दिन सुझाव दिइरहेका छन्।  

त्यस्तै, कतिपय गन्तव्य मुलुकले खोप निर्माता कम्पनी छनोट गरेका कारण खोप खरिद गर्नुअघि त्यसबारे विचार गर्न पनि आग्रह गरिएको छ। अर्थविद्हरू वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्सले अर्थतन्त्र चलायमान बनाउन निकै सहज भइरहेको बताउँछन् । कोरोना महामारीबीच आर्थिक वर्ष २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  

चालु आर्थिक वर्षको १० महिनामा आठ खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अहिलेसम्म वैदेशिक रोजगारीमा पहिले नै गएकाले रेमिटेन्स पठाउँदा र हुन्डीको कारोबार रोकिँदा रेमिटेन्स नघटेको पाइए पनि अबको अवस्था त्यस्तो नहुन सक्ने विज्ञहरूको धारणा छ। 

प्रकाशित: २४ असार २०७८ ०२:१३ बिहीबार

वैदेशिक रोजगारी