अर्थ

खोप नलगाई विदेशमा रोजगारी कठिन

कोरोना भाइरसविरुद्ध खोप नलगाई वैदेशिक क रोजगारीमा जान समस्या पर्ने भएको छ। रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतले कोरोनाविरुद्धको खोप नलगाएकालाई प्रवेश नदिने घोषणा गरेको र अन्य मुलुक पनि सोही बाटोमा अघि बढेकाले समस्या पर्ने भएको सम्बद्धको भनाइ छ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ युएई र कुवेतले कोरोनाविरुद्धको खोप नलगाएका श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको उल्लेख गर्दै खाडीका अन्य मुलुक र मलेसियाले पनि सोही नीति अवलम्बन गर्ने सम्भावना देखिएको बताउँछन्। वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको सरकारी तथ्यांक छ।  

व्यवसायीहरू सरकारले विदेश जाने श्रमिकलाई खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको क्षेत्र धराशयी हुने जोखिम बढेको बताउँछन्। युएईले वैशाख २३ देखि नेपालबाट जानेलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेको छ। यसरी रोक लगाउँदा पाँच हजारभन्दा बढी नयाँ र बिदामा घर आएका कामदारलाई समस्या परेको व्यवसायीको भनाइ छ।  

त्यस्तै, कोरोनाले महामारीको रूप लिएपछि अर्को गन्तव्य मुलुक कुवेतले पनि नेपालबाट कामदार लगेको छैन। कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई आफ्नो मुलुकमा आउँदो साउन दोस्रो सातादेखि प्रवेश दिने नीति लिएको छ। तर नेपालमा खोप सहज नभएकोले नेपाली श्रमिकलाई यस्तो नीतिले खासै सहयोग नगर्ने व्यवसायीको भनाइ छ।  

कुवेतले कोरोनाविरुद्धको अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसन लगाएकालाई प्रवेश अनुमति दिने घोषणा गरेको छ। उता साउदी अरेबियाका रोजगारदाताले पनि खोप नलगाएका कामदार नपठाउन म्यानपावर तथा त्यस्ता यात्रु नबोक्न हवाई कम्पनीहरूलाई निर्देशन दिने गरेको व्यवसायी बताउँछन्।  

साउदी प्रवेश गर्नेले खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ। साउदीको आन्तरिक मन्त्रालयले आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा प्रवेश गर्न पाउने नियम घोषणा गरेको छ। खोप नलगाई काम गरेको भेटिएमा जरिवाना तिराउनुको साथै कामबाट हटाउने र कडा अटेरी गरे देशनिकालासम्म गर्ने नीति लिएको घोषणा गरिएको छ। साउदीस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर जीवन राई खोप नलगाउनेलाई समस्या पर्ने सम्भावना देखिएको बताउँछन्। ‘साउदी आउनुपूर्व कोरोनाको खोप लगाउनेलाई त्यत्ति समस्या नहोला नत्र गाह्रो पर्ने देखिन्छ,’ उनले भने।  

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आइरहेको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल अहिले देखिएको समस्या समाधानका लागि सरकारले तीन किसिमले प्रयास गनुपर्ने बताउँछन्। ‘पहिलो, श्रमिकलाई खोप लगाउन स्थानीय स्तरमा र दोस्रो, विदेशमा रहेका श्रमिकलाई गन्तव्य मुलुकमै खोप लगाउन अन्तर्राष्ट्रिय तहमा पहल गर्न ढिला गर्नु हुँदैन,’ उनले भने। उनले एकैचोटि धेरैलाई खोप लगाउन नसकिने अवस्था छ भने श्रम स्वीकृति लिइसकेकालाई पहिलो प्राथमिकता दिन सकिने उनले सुझाए। विभिन्न मुलुकमा रहेका नेपालीलाई विभेदरहित तरिकाले खोपको सुनिश्चितता गर्नुपर्ने दायित्व पनि सरकारको रहेको उनको भनाइ छ। कैयौं गन्तव्य मुलुकले आफ्ना नागरिकलाई प्राथमिकताका साथ कोरोनाको खोप दिए पनि ती मुलुकमै काम गर्ने नेपाली लगायत आप्रवासी श्रमिकलाई खोपमा बेवास्ता भइरहेको पाइएको छ।  

संघका पूर्वअध्यक्ष गुरुङ वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने एकातिर उनीहरू झनै मारमा पर्ने र अर्कोतर्फ रेमिटेन्स पनि कम हुने बताउँछन्। उनले सके सरकारले र नसके निजी क्षेत्रलाई प्रोत्साहन गरेर भए पनि खोप ल्याउने व्यवस्था हुनुपर्ने बताए। सरकारले भने अहिलेसम्म वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी कोरोनाविरुद्धको खोप दिने नीति ल्याएको छैन। व्यवसायीहरू श्रमिकको समस्यामा सरकार गम्भीर नहुँदा खोप दिन बेवास्ता भइरहेको गुनासो गर्छन्।  

गन्तव्य मुलुकबाट न्यून माग  

नेपालमा कोरोना महामारी तीव्र रूपमा फैलिएपछि कामदारदको मागपत्र पनि निकै कम आएको छ। व्यवसायीका अनुसार अहिले सबभन्दा बढी माग आएको कतारबाट हो। कतारका रोजगाराताले ४० हजार कामदारको माग गरेको व्यवसायी बताउँछन्।  

त्यस्तै, साउदीबाट २०, साइप्रसबाट १५, युएई र रोमानियाबाट पाँच÷पाँच हजार कामदारको माग आएको व्यवसायीले बताएका छन्। अन्य गन्तव्य मुलुकबाट भने फाटफुट रूपमा माग आउने गरेको बताइन्छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका संख्याको आधारमा सबभन्दा ठूलो मलेसियाले कोरोना महामारी सुरु भएदेखि नै नयाँ नेपाली श्रमिक लिएको छैन।  

थोरै संख्यामा आएका मागपत्र पनि कोरोनाको खोप नलगाएका कारण झनै समस्या परेको व्यवसायीको भनाइ छ। सरकारले खोप व्यवस्था नगरे वैदेशिक रोजगारी नै धराशयी हुने व्यवसायी बताउँछन्। खोप अनिवार्य नगरेका मुलुकमा जाने श्रमिक कम्तीमा १० दिन क्वारेन्टिन बस्नुपर्ने र त्यो खर्च आफैं तिर्नुपर्दा पनि समस्या भइरहेको कुरा बुझ्न सरकारसँग माग गरिएको छ।  

‘यतिखेर साउदी जाने कामदार अनिवार्य क्वारेन्टिन बस्नुपर्दा कम्तीमा ९० हजार रूपैयाँ खर्च हुन्छ,’ गुरुङले भने, ‘कमसेकम कोरोनाविरुद्धको खोप पाएको भए गरिब युवाको त्यो रकम त बचत हुन्थ्यो।’ कतारले पनि खोप नलगाएका व्यक्ति क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। १४ दिन क्वारेन्टिनमा बस्नु पर्दा एउटा श्रमिकले करिब एक लाख रूपैयाँको खर्च भार बेहोर्नुपर्ने व्यवसायी बताउँछन्।  

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकहरूको रोजाइमा खोपको जोहो गर्न सक्ने मुलुकमा नागरिक पर्ने व्यवसायीको भनाइ छ। छिमेकी मुलुक भारतले भने खोप लगाउने क्रम तीव्र पारेकाले रोजगारीका लागि अन्तर्वार्ता दिँदा नै उनीहरू दुवै खोप लगाएर पुग्ने गर्छन्। खाडी र मलेसिया रोजगारीमा धेरैजसो दक्षिण एसियाली मुलुकबाट रोजगारीका लागि पुग्ने गर्छन्।  

दक्षिण एसियाका जुन मुलुकमा खोप छिटो सहज हुन्छ, तिनै मुलुकका कामदारले विदेशमा रोजगारी पाउने सम्भावना देखिएको व्यवसायी बताउँछन्। भारतले आफ्ना नागकिलाई आफ्नै मुलुकमा उत्पादन भएको कोभिसिल्ड खोप दिइरहेको छ भने श्रीलंकाले अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको ५० लाख डोज खरिद गर्ने निर्णय गरिसकेको छ। श्रीलंकाका प्रधानमन्त्रीले दक्षिण एसियामा फाइजरको खोप खरिद गर्ने पहिलो राष्ट्र भएको घोषणा गरेका छन्। 

प्रकाशित: २३ असार २०७८ ००:३८ बुधबार

वैदेशिक रोजगारी