अर्थ

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ। परिसंघले नेपाल सरकारसँगको समझदारीमा अघि बढाएको अभियान कार्यान्वयन गर्न स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी आइतबारबाट सञ्चालनमा ल्याएको होे।

यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो।  

परिसंघले अघि सारेको स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने अभियान कार्यान्वयनमा सरकारले साथ यसअघि नै प्रतिबद्धता जनाएर समझदारीपत्रमा हस्ताक्षर भएको छ। परिसंघले हरेक वर्ष मुलुकमा एक हजार उद्योग सञ्चालन गर्ने र डेढ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ।

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल–स्वदेशीको लक्ष्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको छ।’

अभियान अन्तर्गत कुल गार्हस्थ उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य लिइएको छ। पाँच वर्षमा मुलुकको वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने योजना बनाएको परिसंघले जनाएको छ।  

प्रमुख १० वस्तुको आयात प्रतिस्थापन गर्न तिनको आन्तरिक उत्पादन बढाएर पाँच वर्षभित्र आयात ४० प्रतिशतले घटाउने लक्ष्य यो अभियानले लिएको छ। प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने, आयात प्रतिस्थापन गर्ने उद्योगहरू स्वदेशमै स्थापना गर्न प्रोत्साहित गर्ने, राष्ट्रिय स्वाभिमान बढाउने रणनीतिसहित औद्योगिक पूर्वाधार, कृषि, वैदेशिक लगानी र सेवा क्षेत्रको विकास गर्ने योजना बनाएको परिसंघले जनाएको छ।  

नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, प्रवद्र्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्न यो अभियान सुरु गरिएको हो।  

नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्ने, स्वदेशी उत्पादन उपभोग गर्न प्रोत्साहन गर्ने, उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउने योजना छ। नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी लोगो तयार गरिएको छ। परिसंघद्वारा प्रस्ताव गरिएको लोगो निश्चित मापदण्ड र प्रक्रिया अवलम्वन गरी सबै नेपाली उत्पादनले प्रयोग गर्न सक्ने बताइएको छ।

यो अभियान सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने परिसंघको ठहर छ। नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी बनाउन यो अभियानले सघाउने विश्वास गरिएको छ। नेपाल सरकार र परिसंघको समन्वयमा अभियानको प्रभावकारिताका सम्बन्धमा मूल्यांकन गरी सोको आधारमा परिमार्जन र सुधार गरिने समझदारी भएको छ। 

प्रकाशित: २१ असार २०७८ ०६:११ सोमबार