मुस्ताङको दामोदरकुण्डबाट बगेको कालीगण्डकी नदी विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुगेर त्रिशूलीमा मिसिन्छ। करिब पाँच सय किलोमिटर दूरी पार गर्दा कालीगण्डकीले फरकफरक भूगोल समेट्छ। पर्यावरणीय, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो नदी यतिबेला निकै चर्चामा छ। कारण हो, कालीगण्डकीको पानीलाई डाइभर्सन गरी बुटवल भएर बग्ने तिनाऊ नदीमा खसाल्ने कालीगण्डकी–तिनाऊ, डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्ने सरकारी घोषणा।
गण्डकी प्रदेश सरकार कालीगण्डकी डाइभर्सनको खुलेरै विरोधमा उत्रेको छ। लुम्बिनी प्रदेश आयोजनाको समर्थनमा छ। यसै कारण अहिले लुम्बिनी र गण्डकी प्रदेश सरकारको तानातानमा कालीगण्डकी परेको छ। संरक्षणकर्ता भने कालीगण्डकीलाई संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्। उपयोगमा तानातान गर्ने तर संरक्षणमा चासो नदिने सरकारी रबैयाबाट संरक्षणकर्मी चिन्तित छन्। संरक्षणकर्मी भन्छन्, ‘जसले बढी यो नदीको संरक्षण गर्नुपर्ने हो, उसैले दुरुपयोग गरिरहेको छ। नदीको संरक्षण नहुँदा यसलाई फरक प्रयोजनमा उपयोग गर्न खोजिएको हो।’
चिरञ्जीवी शर्मा म्याग्दीका कानुन व्यवसायी हुन्। शर्माले पाँच वर्षअघि बेनी नगरपालिका विरुद्ध जिल्ला अदालतमा रिट दायर गरेका थिए। रिटको विषय थियो– नगरपालिकाले बजारबाट निस्केको फोहर सिधै कालीगण्डकीमा मिसाएकाले त्यस्तो कार्यमा रोक लगाउनुपर्छ।
साथै, बधशालाबाट निस्केको फोहोर पनि कालीगण्डीमै मिसाउनेगरी बनाइएको पूर्वाधार हटाउनुपर्छ। शर्माको रिटपछि अदालतले स्थलगत अवस्था बुझ्नु भनेर नगरपालिकालाई भने पनि विकल्प नभएको भन्दै फोहोर फाल्न रोकिएन। शर्माका अनुसार अहिले पनि बेनी बजारबाट निस्केको सबै फोहोर कालीगण्डकीमै मिसाइन्छ। बेनी बजारको ढल पनि सिधै कालीगण्डकीमा मिसाइएको छ। बेनी बजारको फोहोर गलेश्वर महादेव नजिकै लगेर कालीगण्डकीमा खसाइन्छ।
त्यसबाहेक जथाभावी नदीदोहन पनि उस्तै छ। नदी किनारका क्रसर उद्योगबाट निस्कने फोहोर पनि कालीगण्डकीमा मिसाइएको छ। ‘कालीगण्डकीको संरक्षणमा बेवास्ता गरिएको छ। आसपासका सबै बस्ती र बजारको फोहोर फाल्ने ठाउँ अहिले कालीगण्डकी बनेको छ,’ शर्माले भने, ‘त्यसैले संरक्षण हुनुपर्छ भन्ने आबाज उठाएको हुँ। तर, मेरो आबाजको कतै सुनुवाइ भएन, उल्टै मप्रति गलत नजर लगाइयो।’
शर्माको पहल एउटा उदाहरणमात्र हो। कालीगण्डकीलाई सबैतिरबाट संरक्षणविहीन अवस्थामा छाडिएको अध्येता बताउँछन्। कालीगण्डकी अध्येता कुलराज चालिसेका अनुसार धौलागिरि अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा फोहोर फाल्ने मुख्य ठाउँ कालीगण्डकीलाई बनाइएको छ। सहरबाट निस्केको ढल सोझै नदीमा मिसाइन्छ। फोहोर बिसर्जन, ढल मिसाउने, अतिक्रमण गर्ने काम हुँदा पनि संरक्षणमा ध्यान नदिइएको उनले बताए।
‘कालीगण्डकी फोहोर बोक्ने नदी होइन, धार्मिक र सांस्कृतिक महŒव बोकेको यो नदी संरक्षण गर्नुपर्नेमा कतैबाट चासो देखाइएको छैन,’ उनले भने, ‘सुरुङ बनाएर पानी लैजाने कुरा गर्दा हामी विरोधमा छांै। संरक्षण अभावमा कालीगण्डकी पिल्सिएको छ तर उपयोगमा भने हानथाप देखिएको छ।’ चालिसेका अनुसार स्याङजा, पर्वत र गुल्मीको मिलन सेतीवेणीमा पनि कालीगण्डकीमा मिसिने गरी ढल खसाइको छ। ‘गण्डकीलाई माता भनेर पूजा गर्ने हो। शालीग्राम पुज्ने ठाउँ (सेतीवेणी) को आश्रमको शौचालयको पाइप कालीगण्डकीमा मिसाइएको छ,’ चालिसेले भने, ‘कालीगण्डकीको संरक्षण र सम्मान गरिएको छैन।’
कालीगण्डकीका धेरै घाटमा शवको अन्तिम संस्कार गरिन्छ। शवको संस्कारपछि बचेका गुन्द्री, बास, कपडा पनि यसैमा बगाइन्छ। ‘कालीगण्डकीप्रति हामीले सम्मान गरेका छैनांै। केवल यसको महŒव छ भनेर मात्र बोलिरहेका छौं,’ उनले भने, ‘अतिक्रमण पनि कम छैन। सहरीकरणसँगै अतिक्रमणको चपेटामा कालीगण्डकी परेको छ। धौलागिरि अञ्चलभित्र अधिक अतिक्रमण छ।’ चालिसेका अनुसार कालीगण्डकी किनारमा ठाउँठाउँमा आश्रम बनाइएको छ। ती आश्रम पनि नदीकै जग्गामा बनेका छन्। आश्रमको फोहोर सिधै नदीमा मिसाइएको उनले बताए। जताततै फोहोर गरिएको छ। ‘संरक्षण भन्ने कतै देखिन्न। नवलपुर, पाल्पा, स्याङजा र तनहुँमा समस्या कम छ,’ उनले भने, ‘जसले पूजा गरेको छ उसैले नोक्सान गरेको छ।’
अर्का विश्लेषक विश्व सिग्देल पनि सुरुङमार्ग बनाएर कालीगण्डकीको पानी तिनाऊ लैजान खोज्नु पटक्कै जायज नभएको बताउँछन। कालीगण्डकीले सही रूपमा संरक्षण पाउन नसकेको उनले बताए। उनका अनुसार पछिल्लो समय कालीगण्डकीको दायाँबायाँ बाक्लो बस्ती बसिसकेको छ। किनारका ठाउँठाउँमा सहर विकास भएका छन्। ती सहरको फोहोर विर्सजन स्थल कालीगण्डकी बनेको उनले बताए। ‘कालीगण्डकी अतिक्रमण पनि अति छ, दुर्गन्ध उस्तै छ,’ सिग्देलले भने, ‘अतिक्रमण र दुर्गन्धबाट जोगाउन जरुरी छ।’ कालीगण्डकीको संस्कृति, प्रकृति, पर्यावरण संरक्षण भएमात्र यसको सार्थकता हुने उनले बताए।
‘पहिला हरेक कोणबाट संरक्षण गरौं, त्यसपछि बल्ल कुन रूपमा उपयोग गर्ने भन्ने योजना बनाऔं,’ उनले भने, ‘हामीले कालीगण्डकीलाई प्रेम गरेकै छैनौं। पे्रम नगर्दा यसको पानी अन्यत्र लगेर उपयोग गर्न खोजिएको हो। कालीगण्डकीको प्रवाहलाई बिथोल्नु हुँदैन, जस्ताको तस्तै बग्न दिनुपर्छ।’
सिग्देलका अनुसार संरक्षण नहुँदा कतिपय ठाउँमा त नदीको मापदण्ड नै छैन। ‘संरक्षणमा नजाने तर टनेलको कुरा निस्कँदा विरोध मात्र गरेर भएन, सम्पदा हो भने जोगाउनु पनि पर्छ। अब संरक्षणबारे पनि बोल्न थालौं,’ उनले भने, ‘कालीगण्डकी बचाउने योजना बनाऔं। अहिले संरक्षण नहुँदा जसले पायो उसैले उपयोग गर्छु भनेका छन्।’ कालीगण्डकीकै सम्पत्ति मानिने शालीग्रामको चोरी निकासी व्यापक भएको उनले बताए। ‘शालीग्रामको संरक्षणको गर्न नसक्नेले नदी जोगाउन सक्दैन,’ उनले भने, ‘अहिले संरक्षण नहुँदा अन्यत्र उपयोग गर्न खोजिएको हो। अबको पहिलो काम नदी संरक्षण हुनुपर्छ। त्यसपछि बल्ल उपयोगबारे बोल्न थालौंला।’
प्रकाशित: २० असार २०७८ ०६:०३ आइतबार