अर्थ

कटारी नगरको बजेट ६९ करोड : नगर टुक्राउनेदेखि बिपन्नलाई घरबाससम्मको नीति

तोकिएको समयभन्दा एकसाता ढिला नगर अधिवेशन गरेको उदयपुरको कटारी नगरपालिकाले आगामी वर्षको बजेट पारित गरेको छ। स्थानीय तहहरुले असार १० भित्र अनिवार्य नगरसभा सम्पन्न गरिसक्नुपर्ने मन्त्रालयको निर्देशन भए पनि कटारी नगरपालिकाले शुक्रबार मात्र बजेट अधिवेशन गरेको हो।  

बिहीबार सुरु भएर शुक्रबार सम्पन्न भएको कटारीले सातौं नगर अधिवेशनमा उपप्रमुख भीमकुमारी राउतद्वारा प्रस्तुत आगामी आर्थिक वर्षका लागि ६९ करोड ९ लाख २० हजार ५ सय ५० रुपैंयाको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ। नगर अधिवेशनले पारित गरेको बजेट पत्रकार सम्मेलन गरी शुक्रबार नगरपालिकाले सार्वजनिक गरेको छ।  

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारका अनुसार पारित बजेटमा संघीय सरकारबाट प्राप्त हुने ४९ करोड ५९ लाख, प्रदेशबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० लाई अनुमानित आय मानिएको छ। अधिवेशनले नगरपालिकाका १४ वटै वडा प्रत्येकलाई ७० लाखका दरले बजेट बिनियोजन गरिएको प्रवक्ता दनुवारले बताए।  

नगरपालिकाले छुट्टै गाउँपालिका बनाउन चाहने वडाहरुलाई स्वायत्तता दिनेदेखि अति बिपन्न नगरबासीलाई आवासको व्यवस्था गरिदिनेसम्मको योजनाअघि सारेको छ। आगामी वर्ष नगरले दिर्घकालीन नगर विकासको लक्ष्यलाई आधार मान्दै नीति कार्यक्रम ल्याएको पत्रकार सम्मेलनमा नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। आर्थिक वर्ष ०७८÷७९ मा बिभिन्न आधारभूत कार्यक्रमहरु सञ्चालन गर्दै नगरपालिकाको दीगो विकास लक्ष्य प्राप्तीको नीति लिइएको उनले बताए।  

मेयर श्रेष्ठले नगरबासीलाई कोभिड संक्रमणबाट बचाउन १ करोडको कोष स्थापना गर्नेगरी बजेट बिनियोजन गरिएको बताएका छन्। गतवर्ष र यसवर्ष सताएको कोविड रोकथाम कार्यक्रमका लागि १ करोड बजेट बिनियोजन गरिएको बताउँदै उनले वडामा स्वास्थ्य केन्द्रमार्फत एन्टिजेन परीक्षण गर्दै नगरवासीहरुलाई कोविडमुक्त बनाउने योजना अघि सारेको बताए। त्यसैगरी नगरवासीलाई छिट्टै खोपको व्यवस्था मिलाएर कोभिडबाट बचाउने नीति पनि नगरसभाले पारित गरेको छ।  

आगामी वर्ष ५ नम्बर वडाका अति विपन्न बलबहादुर थापा मगरकी श्रीमति दिलमाया थापा मगर र चमेली तामाङ परिवारलाई बास बस्ने व्यवस्था मिलाइने उनले बताए। त्यसका लागि आवश्यक जग्गा व्यवस्था गरेर आवास घर निर्माण गरिदिने योजना नीति कार्यक्रमले पास गरेको मेयर श्रेष्ठले बताए। त्यसैगरी नगरपालिकाबाट छुट्टिएर अलग्गै गाउँपालिका बनाउन चाहेका पहाडी भेगका ५ वडाहरुलाई स्वायत्ता दिदै थप प्रक्रिया अघि बढाउन सिफारिस गर्ने नीति पनि नगर अधिवेशनले पारित गरेको छ।

कटारीका ९, १०, ११, १३ र १४ नं. वडाहरुले अलग्गै गाउँपालिका बनाउने भन्दै केही समयअघि नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। उनीहरुको माग सम्बेधन गर्दै छुट्टै गाउँपालिका बनाउन आवश्यक प्रक्रिया अघि बढाउने नीति अधिवेशनले पारित गरेको छ। त्यसका लागि कानुनी प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समिति, प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने नीति पारित गरिएको छ।

प्रकाशित: १९ असार २०७८ १३:४३ शनिबार

नगर अधिवेशन २०७८/०७९ बजेट