अर्थ

मध्यबर्खामा ४०० मेगावाट बिजुली आयात

चालु आर्थिक वर्षको प्रिमनसुनको समयमा आएको बाढीपहिरोले बर्खामा बिजुली निर्यात गर्ने योजनामा धक्का लाग्ने भएको छ। गत जेठ मसान्तदेखि आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा निर्यातको सट्टा उल्टै आयात गर्नुपर्ने बाध्यता सिर्जना भएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ।  

प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो। तर चालु आर्थिक वर्षमा निजी क्षेत्रले बिजुली उत्पादन गरिरहेका आधा दर्जनभन्दा धेरै आयोजना क्षतिग्रस्त हुँदा १४० मेगावाट बिजुली सिस्टमबाट बाहिरिएको छ।  

जेठ मसान्तदेखि नै मनसुन सुरु भएर नेपालका अधिकांश नदीनालामा पानीको सतह बढेको छ । तर जलविद्युत् आयोजनाहरूले जडित क्षमता बराबर बिजुली उत्पादन गर्न सकेका छैनन् । नदीनाला बढे पनि जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न नसक्दा बर्खामा समेत झण्डै एक तिहाई बिजुली भारतबाट आयात गरेर आन्तरिक माग पूरा भइरहेको प्राधिकरणको भनाइ छ।

नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दी रिभरमा आधारित भएकोले हिउँदमा कम बिजुली उत्पादन हुनु नौलो कुरा होइन। तर बर्खामा पनि कुल मागको एक तिहाइ हाराहारी बिजुली आयात गर्नुपर्ने अवस्था छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदनकुमार तिमिल्सना बाढीपहिरोले निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको १४० मेगावाट बिजुली रोकिँदा बर्खामा समेत भारतबाट आयात गर्नुपरेको बताउँछन्  ‘एकातर्फ यो वर्ष गत वर्षको पिकआवरमा भन्दा बिजुलीको माग बढेको छ,’ उनले भने, ‘अर्काेतर्फ जेठ मसान्तको बाढीपहिरोले १४० मेगावाटभन्दा बढी बिजुली सिस्टमबाट आउट भएकोले यो बेला अघिल्लो वर्षभन्दा धेरै आयात  गर्नुपरेको हो।’

प्राधिकरणका अनुसार १५ असार २०७७ को पिकआवरमा ११ सय २५ मेगावाट बिजुलीको माग थियो। उक्त माग प्राधिकरणबाट उत्पादित चार सय २६ मेगावाट, निजी क्षेत्रबाट उत्पादित पाँच सय ४४ मेगावाट र भारतबाट आयातित १५५ मेगावाटले धानेको थियो। तर १५ असार २०७८ को पिकआवरमा १३ सय ५७ मेगावाट बिजुलीको माग थियो। उक्त माग प्राधिकरण मातहतका आयोजनाको ४ सय ७७ मेगावाट, निजी क्षेत्रको जलविद्युत् आयोजनाको ४ सय ६४ मेगावाट र भारतबाट आयातित ४ सय १६ मेगावाटले धानेको प्राधिकरणले जनायो।  

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बाढीपहिरोले जलविद्युत आयोजनामा क्षति पुर्‍याएकाले जडित श्रमता अनुसार बिजुली उत्पादन गर्न नसकेको बताए। ‘प्रिमनसुनकै समयमा आएको बाढीपहिरोले झण्डै एक दर्जनभन्दा धेरै आयोजनामा असर पारेको छ,’ उनले भने, ‘बर्खाको कारण आयोजनाले क्षमता अनुसार बिजुली उत्पादन गर्न समेत सकिरहेका छैनन्।’ आयोजनामा बालुवा ग्रेगान, काठ, दाउरा लगायतका अवरोधले समस्या परेको छ। ‘बाढीपहिरोले कतिपय जलविद्युत् आयोजनाको निर्माणस्थलमा समेत पुग्न सकेका छैनौं,’ उनले भने, ‘हामीले सकेसम्म मर्मतसम्भार गरेर चलाउने प्रयास गरिरहेका छौं।’

यद्यपि चालु आर्थिक वर्षमा करिब १ सय ४० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको थियो । प्राधिकरणका अनुसार प्राधिकरण मातहतका आयोजनाबाट ५८० मेगावाट, सोलार प्लान्टबाट १२ मेगावाट, निजी क्षेत्रबाट ७४० मेगावाट बिजुली राष्ट्रिय राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ‘राष्ट्रिय ग्रिडमा जडित सबै जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा उत्पादन हुन सक्दैन,’ उनले भने, ‘उपभोक्ताको मागको आधारमा पनि भारतबाट आयात गर्नु परेको हो।’  

प्रवक्ता तिमिल्सना असारभित्रै माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिटबाट १५२ मेगावाट बिजुली थप भएसँगै बर्खामा बाढीपहिरोबाट समस्या नभएको खण्डमा भारतबाट बिजुली आयात गर्न नपर्ने दाबी गर्छन्। प्राधिकरणका अनुसार गत वैशाख २१ गते पिकआवरमा ६० प्रतिशतभन्दा धेरै बिजुली भारतबाट आयात गरेर माग धानिएको थियो। पिक आवरमा १४ सय ५५ मेगावाट बिजुली माग थियो। त्यो बेला भारतबाट ८ सय ४० मेगावाट आयात गरिएको थियो। प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी भारतबाट एक अर्ब ७२ करोड युनिट बिजुली आयात गरेर माग पूरा गरेको हो।  

भारतबाट आयात गरिएको बिजुलीको मूल्य करिब १३ अर्ब ५८ करोड रूपैयाँ थियो । गत आवमा खपत भएको ७७४१ गिगावाट आवर (सात अर्ब ७४ करोड युनिट) बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरिएको थियो।  गत आर्थिक वर्षमा ७ अर्ब ७४ करोड युनिटमध्ये प्राधिकरण मातहतका आयोजनाबाट तीन अर्ब २ करोड युनिट, निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट दुई अर्ब ९९ करोड युनिट बिजुली खरिद भएको थियो। 

प्रकाशित: १८ असार २०७८ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App