अर्थ

बुद्धभुमीले आफ्नै लगानीमा बनायो ३ करोड बढी लागतको पुल

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ। नगरपालिकाले वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला–अलीनगर गाउँ जाड्ने पुल बनाएको हो। बहुवर्षे आयोजना अन्तर्गत २ वर्ष लगाएर ३ करोड ३३ लाख ६२ हजार ५८० रुपैयाँ लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ। 

२० दशमलव ५ मिटर लामो र ७ दशमलव २० मिटर चौडा पुल निर्माण गरिएको ईन्जिनियर निकिता त्रिपाठीले बताइन्। पालिको बहुवर्षे आयोजना अन्तर्गत यो आयोजना दोश्रो ठूलो रहेको उनले बताइन्। बुद्धभुमीमा रिङरोड बनाउने पालिकाको सबैभन्दा ठूलो आयोजना हो। पुलको उद्घाटन गर्दै मेयर केशवकुमार श्रेष्ठले सदरमुकाम तौलिहवासंग जोड्नका लागि पुल निर्माण गरिएको बताए। ‘अब आफ्नो पालिका र तौलिहवामा आउजाउ गर्न निकै सजिलाे भएकाे छ,’ उनले भने। 

तरकारी उत्पादन गर्ने वडाकारुपमा रहेको पूर्व धनकौली गाबिसभित्र निर्माण गरिएको यो पुलले कृषकहरु धेरै लाभान्वित हुने उनले बताए। प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले पालिकाको आफ्नै लागनीमा बनाइएको यो पुलले राम्रो सन्देश गएको बताए। ‘पालिकाले टोले सडक मात्र बनाउने भन्ने गरिन्थ्यो तर यो पुल निर्माणले नगरपालिकाले ठूलो काममा नि हात हाल्छ भन्ने सन्देश गएको छ।’ वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले पुल निर्माणले तरकारीको पकेट क्षेत्र रहेको धनकौलीमा आर्थिक कारोवार बढ्ने बताए। ‘सदरमुकाम र पालिका बीच दूरी घटाएको छ कृषकलाई धेरै नै फाईदा हुन्छ। यसअघि यहाँ पुल नहुँदा काठे पुलमा जोखिमपूर्ण यात्रा गर्न गाउँलेहरु बाध्य थिए। विद्यार्थीहरुलाई पनि आउजाउ गर्न सजिलो भएको छ', उनले भने। 

मेयर केशवकुमार श्रेष्ठको अध्यक्षता, राजनकुमार श्रैष्ठको संचालनमा भएको उद्घाटन समारोहमा वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, ईन्जिनियर निकिता त्रिपाठी लगायतले मन्तब्य दिएका थिए। पुल सम्झौता अनुसार नै तोकिएको समयमा निर्माण सम्पन्न भएको बताइएकाे छ।

प्रकाशित: १७ असार २०७८ १३:०० बिहीबार