अर्थ

उदयपुरमा १२ प्रतिशत रोपाइँ

उदयपुरमा विगतको तुलनामा यस वर्ष बेलैमा सुरु गर्न पाउँदा उदयपुरमा १२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत रामकुमार केसीका अनुसार सिँचाइ सुविधा नभएको ठाउँमा पनि बेलैमा रोपाइँ सुरु भएको छ।

स्थानीय किसान सुनबहादुर दनुवारले पोहर परारजस्तो खडेरी यसपालि छैन, त्यसैले बेलैमा रोपाइँ गर्न पाइन्छ भन्ने लागेको बताए। ज्ञान केन्द्रका अनुसार धेरैजसो आकाशे पानीको भरमा धान खेती गर्दै आएका उदयपुरका किसान मौसमले साथ दिए असारभित्रै रोपाइँ गरिसक्छन् । खडेरी परेर ढिला भए असार दोस्रो सातादेखि ढिलोमा भदौ पहिलो साताभित्र रोपाइँ गरिसक्नुपर्छ नत्र उत्पादन नहुने किसान बताउँछन् । ०७५ र ०७६ सालमा खडेरीले सताउँदा भदौ अन्तिमतिर रोपाइँ गर्नु परेको तर पनि धान राम्रै उत्पादन भएको ज्ञान केन्द्रको अभिलेखले जनाएको छ।  

उदयपुरमा त्रियुगा नगरपालिका १ देखि १३ नम्बर वडासम्म धानलाई मुख्य बाली बनाउने किसान छन् । १४, १५ र १६ वडाहरू भने पहाडी भेगमा परेकाले बेसी, खोँच र खोला किनारमा मात्र धान खेती हुन्छ। चौदण्डीगढी नगरपालिकाका १४ वडामध्ये ११, बेलका नगरका ८ मध्ये ५ वडामा धान खेती हुन्छ । कटारी नगरका १४ मध्ये पहाडी भेगका ७ वटाबाहेकका वडामा मुख्य बाली धान नै हुन्छ । जिल्लाका अन्य ४ गाउँपालिकामा भने खोँच र बेंसी तथा खोला किनारमा मात्र धान खेती हुने ज्ञान केन्द्रले जनाएको छ।  

जिल्लामा ०७५/७६ मा प्रतिहेक्टर ३.८५ मेट्रिक टन धान उत्पादन भएको थियो । खडेरीका कारण ०७६/७७ मा ३.६५ मा खुम्चिएको थियो। जिल्लामा दर्जन हाराहारी प्रजातिका धान रोपन्छ । तराईमा राधा १२, स्वर्ण सबवन, ललका बासमती, मन्सुली, कान्छी मन्सुली, राम विलास, सावित्री, सुक्खा १ र सुक्खा ३ प्रजातिका धान लगाउने गरिएको ज्ञान केन्द्रले जनाएको छ । सुक्खा १ र सुक्खा ३ थोरै पानीमा पनि फल्ने हुँदा सिँचाई सुविधा नपुगेको क्षेत्रमा लगाइन्छ । 

अन्य प्रजातिका धानलाई प्रशस्त पानी चाहिने भएकाले सिँचाइ सुविधा पुगेको खेतमा मात्र लगाउनुपर्ने हुन्छ । पहाडी भेगमा चाहिँ बर्खे धान थापाचिनी र हिउँदेमा भोटाङे, पोखरेली र मार्सी प्रजातिका धान लगाउने गरिएको छ। उदयपुरमा १३ हजार २ सय ८३ हेक्टरमा धान खेती गरिन्छ । यसमध्ये हालसम्म १ हजार ५ सय ९० हेक्टर क्षेत्रलमा रोपाइँ भइसकेको छ।  

चक्लाबन्दीमा रोपाइँ गर्दै मनाइयो धानदिवस उदयपुरमा असार १५ गतेको धान दिवस तथा रोपाइँ महोत्सव’ सदरमुकामनजिकै बहेडवाको चक्लाबन्दी खेतीमा रोपाइँ गरेर मनाइएको छ । त्रियुगा नगरपालिका–१३ को बहेडवामा रहेको १ सय ५० बिघा खेतमा सामूहिक रोपाइँ गरेर दिवस मनाइएको हो। रोपाइँ कार्यक्रम त्रियुगा नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना (जोन) र जिल्ला समन्वय समितिको सहकार्यमा गरिएको हो। 

प्रकाशित: १६ असार २०७८ ०१:२२ बुधबार

उदयपुरमा १२ प्रतिशत रोपाइँ