अर्थ

कालीगण्डकी–तिनाउ डाइभर्सनः तटीय क्षेत्र मरुभूमि बन्ने, नदीको धार्मिक महत्व गुम्ने

सरकारी आयोजनामै धक्का

कालीगण्डकीमा भेटिएको शालिग्राम । तस्बिर सौजन्यः कुलराज चालिसे

गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ला हुँदै बगिरहेको कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसाल्ने उद्देश्य सहित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु हुन थालेको भन्दै सर्वत्र चाँसो बढेको छ । शनिबार बुटवलमा आयोजना कार्यालय उद्घाटन गरेपछि यो आयोजनाबारे चर्चा चुलिएको छ ।  

गण्डकी प्रदेश सरकारले यसको खुलेरै विरोध गरेको छ । कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहका पदाधिकारीले कुनैपनि हालतमा आयोजना अघि बढ्न नदिने उद्घोष गरिसकेका छन । कालीगण्डकीको पानीलाई डाइभर्सन गरेर तिनाउमा खसाल्दा यसले खासमा के असर गर्छ त ? यसका अध्येता भन्छन, ‘धार्मिक तथा सांस्कृतिक महत्वसँगै पूर्वाधारमा पनि यसले प्रयाप्त असर पार्छ । यसले तटीय क्षेत्रलाई मरुभुमि बनाउँछ ।’

कालीगण्डकीका अध्येता कुलराज चालिसेका अनुसार सबैभन्दा बढी यसले धार्मिक तथा सांस्कृतिक महत्व राख्छ । हिन्दु धर्मशास्त्र अनुसार कलिको ५ हजार वर्ष पछाडि विश्वका सबै तीर्थस्थलका देवीदेवता कालिगण्डकीको शालिग्राममा बास बस्ने भएकोले यसको धार्मिक महत्व छ । त्यस्तै विश्वको एकमात्र शालिग्राम पाइने नदी पनि कालिगण्डकी भएकोले यसलाई नोक्सान गर्नु हुँदैन । कालीगण्डकी उद्गमस्थल मुस्ताङदेखि देवघाटसम्म शालिग्राम पाइन्छन । मुस्ताङमा बढी र बीचमा केही कम पाइएपनि राम्दीदेवि देवघाटसम्म पर्याप्त मात्रामा शालिग्राम पाइन्छन् ।

‘शालिग्रामको बासस्थान भएकोले पनि नदीको पानी डाइभर्ट गर्न हुँदैन,’ चालिसेले भने । मुस्ताङको दामोदरकुण्डबाट कालीगण्डकी बगेर आउँदै गर्दा जल देवघाटमा मिसिएकोले पनि यसको धार्मिक महत्व रहेको उनले सुनाए । त्यसबाहेक देवघाटको महत्व कालिगण्डकीको कारणले बढाएको उनको भनाई छ ।  

त्यस्तै पानी डाइभर्सन गर्दा इकोलोजिकल असर पर्ने उनले बताए । कालीगण्डकी नदीको पानीले दायाँबायाँका क्षेत्रमा सिंचित गरेको हुनाले डाइभर्ट हुँदा त्यो क्षेत्र सुख्खा हुनेछ । ‘खोलाको वहाव नापेर हुँदैन, जमिनभित्र पनि कालीगण्डकीको पानी घुसेको छ । जमिनको भित्रभित्र पानी घुसेकोले त्यो क्षेत्र सुख्खा बनाउनु हुँदैन,’ चालिसेले भने, ‘नदी सुख्खा भएर माटोभित्रको पानी सुक्नासाथ खोलाछेउछाउका जरुवा सुक्छन । त्यो सुक्नु भनेको गाउँ मरुभुमि बन्नु हो ।’  

चालिसेका अनुसार शालिग्रामको कार्बन डेटिङ र सेडिमेण्ट अनुसन्धान गर्दा दुई करोड वर्ष अगाडि हिमाल उठेको र तेथिससागर लुप्त भएको तथ्य उजागर भएकोले कालीगण्डकीको वहाव परिवर्तन गर्नु हुँदैन । ‘विश्वका अन्वेषणकर्ताका लागि मात्र नभई विद्यार्थीले अवलोकन गर्ने प्रमुख आकर्षण क्षेत्रे पनि हो,’ उनले भने, ‘दुई करोड वर्ष अघि नै त्यहाँको डाइभर्सिटि कस्तो थियो भनेर बुझाउन यो अध्ययन क्षेत्र बन्न सक्छ ।’ गण्डकी प्रदेशको पर्यटकीय सम्भावना नास्ने अधिकार लुम्बिनी प्रदेशको त कुरै छोडौ संघीय सरकारसँग पनि नभएको उनले बताए ।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारबाट देखिएको कालीगण्डकी नदी । तनहुँ र नवलपुरबीचको यो खण्ड घुमाउरे घाटको नामले चिनिन्छ । फाइल तस्बिरः नागरिक 

अध्येता चालिसेका अनुसार राम्दीदेखि देवघाटसम्म नदीको लम्बाई करिब १३० किलोमिटर छ । यो नागवेलीमा आकारमा बगिरहेको छ । रैथाने खाद्य संस्कृतिको अवशेष पनि त्यही करिडोरमा देखिने उनले बताए । उनका अनुसार माछाको पुच्छर भएको शालिग्राम समेत त्यही क्षेत्रमा अध्ययनका क्रममा भेटिएका थिए । त्यसबाहेक धार्मिक महत्व बोकेको कुस पनि त्यही करिडोरमै पर्याप्त पाइने उनले सुनाए । ‘कालीगण्डकीलाई बीचमा पारेर पारिपट्टि कालीगण्डकी र वारिपट्टि शालिग्राम करिडोर बनिरहेका छन्, शव व्यवस्थापनसम्मको महत्व यो नदीले बोकेको छ,’ उनले भने, ‘हाइड्रोपावरको ललीपप देखाइएको छ, तर, यसले पार्ने दीर्घकालिन असर धेरै छन् ।’  

कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहका पदाधिकारी डाइभर्सनको विरुद्धमा छन् । तनहुँकोे ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भन्छन्, ‘कुनै हालतमा डाइभर्सन हुन दिन्नौ । नदी डाइभर्सन गरेर तिनाउमा पानी खसाल्दा यो क्षेत्र मरुभूमि हुनेछ । जल, वातावरण, वन्यजन्तु, चराचुरुङगीदेखि पर्यटन र धार्मिक महत्व नै यसले गुमाउँछ । हामीले नै यो नदी बचाउने हो । त्यसका लागि प्रभावित क्षेत्रका गाउँपालिकाका पदाधिकारी एकैठाउँ भएर विरोधमा जानेछौ ।’

श्रेष्ठका अनुसार कालीगण्डकी नदी आसपास ठूला आकारका टार छन् । हजारौं रोपनीका ती टारमा कालीगण्डकीबाटै लिफ्ट प्रविधिबाट पानी उकालेर सिंचाई गर्ने योजना छ । केही टारमा अहिले नै सिंचाई चलिरहेको छ । नदी डाइभर्सन गर्ने हो भने उब्जाउ हुने ती टार सिंचाइ अभावमा मरुभुमि बन्ने उनले बताए । ‘कालीगण्डकी आसपासका क्षेत्रलाई मरुभुमि बनाउने की वातावरण जोगाउने भन्ने चुनौतीको सामना गर्ने बेला आएको छ । अहिले डाँडाकाँडामा खानेपानीको मुहना सुकेका छन् । अब कालीगण्डीको पानी उकालेर बस्तीमा पुर्‍याउने योजना बनिरहँदा नदी नै डाइभर्ट गर्न अन्याय हुनेछ ।’  

वर्षाैअघिका चल्तीका खानेपानीका मुहान सुक्दै जाँदा डाँडाकाँडामा पानी अभाव हुन थालेको उनले बताए । ‘अबको विकल्प सोलारबाट विद्युत उत्पादन गरेर लिफ्टिङ प्रविधिमार्फत डाँडासम्म पानी उकाल्ने हो,’ उनले भने, ‘मुहान नै सुकाएपछि बस्तीका बासिन्दा तिर्खा मेट्न नपाउने अवस्थता रहन्छ, त्यतातिर पनि ध्यान दिनुपर्छ ।’ मधुवन, रुपटार, पिपलटार, अत्रौली, पुट्टार लगायतका क्षेत्रका ठुला टारले अब कालीगण्डकीकै पानीबाट सिंचाई गराउने योजना अघि बढिरहेको उनले बताए । अहिले पनि बैडीमा झन्डै २५ सय रोपनी क्षेत्रफलमा कालीगण्डकीकै पानीले सिंचाई भइरहेको उनले सुनाए ।

कालीगण्डकीको पानीलाई आसपासका सुख्खा टारसम्म उकालेर सिंचित गर्ने संघीय सरकारकै योजना रहेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता समेत रहेका इन्जिनियर हरिदत्त पौडेलका अनुसार कालीगण्डकीको पानीबाट नवलपुर क्षेत्रमा सिंचाई आयोजना बनाउने तयारी छ ।

 नवलपुर क्षेत्रको करिब ११ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिंचाइ गर्नका लागि योजना बनिरहेको छ । त्यस्तै एकीकृत उर्जा तथा सिंचाई विकास कार्यक्रम अन्तर्गत कालीगण्डकी करिडोरको करिब ३ हजार हेक्टर क्षेत्रफलमा थप सिंचाई आयोजना विस्तार गर्ने तयारी भईरहेको छ ।

 ‘कालीगण्डकीको दायाँबायाँ ठुला आकारका टार छन । ती टारमा हिउँद र वर्षामा पनि पानीको श्रोत छैन । कालीगण्डकीको पानी लिफ्टिङ प्रविधिबाट उकालेर सिंचाई गर्ने योजना छ,’ पौडेलले भने, ‘ती ठाउँमा लिफ्टिङ प्रविधिको विकल्प छैन । पहाडका अग्ला डाडाँकाडाँसम्म पनि सोलार राखेर पानी उकाल्न सकिने अवस्था छ । यी काम संघीय सरकारकै योजना हुन ।’  

त्यसबाहेक पर्यटन क्षेत्रमा यसको उत्तिकै महत्व छ । र्‍याफ्टिङ एशोसिएसन अफ नेपाल(नारा)का कास्की अध्यक्ष वीरेन्द्र लामाका अनुसार राम्दीबाट देवघाट हुँदै नारायणगढसम्मको र्‍याफ्टिङ निकै नै चल्तीको रुट हो । चारदिनको यो रुट पारिवारिक र्‍याफ्टिङका लागि प्रख्यात छ । ‘विदेशी र स्वदेशी पाहुनाले पनि यो नदीमा जलयात्रा गर्न रुचाउँछन । वर्षायाममा पनि यहाँ र्‍याफ्टिङ गराउन सकिन्छ,’ लामाले भने, ‘समथर भएर बगेको र शान्त प्रकृतिको रुट भएकोले हिउँद–वर्षा नै र्‍याफ्टिङ चल्छ ।’ उनका अनुसार विशेष गरि यो नदीमा र्‍याफ्टिङ फिसिङ ट्रिप चल्छ । पर्यटन क्षेत्रका लागि पनि महत्व को नदी भएकोले डाइभर्ट गर्नु भनेको पर्यटनलाई मार पार्नु रहेको उनले बताए । नाराका निवर्तमान अध्यक्ष नीम मगरले पनि कालीगण्डकीलाई डाइभर्ट गर्दा नेपालकै जलयात्रा व्यवसाय तहसनहस हुने बताउँछन् । ‘हामीलाई मात्र नभई स्थानीयलाई यसको झनै ठूलो असर पर्छ, त्यसैले यो बारेमा सोच्नुपर्छ,’ उनले भने, ‘राजनीतिक शक्तिले मात्र यहाँ काम गर्दैन । व्यवहारिक अवस्था पनि हेर्नुपर्छ ।’ 

कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलबस्तुमा सिंचाइ सुविधा पुर्‍याउनुका साथै १२६ मेगावाट विद्युत निकाल्नु यो आयोजनाको मुख्य उद्देश्य छ । गण्डकी प्रदेशको स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङगा र  लुम्बिनी प्रदेशमा पाल्पाको रम्भा गाँउपालिका–३ पीपलडाँडामा बाँध बाधी २७ किलोमिटर लामो सुरुङ मार्फत पाल्पाको तिनाउस्थित दोभानमा पानी खसालिनेछ । त्यसबाट १ सय मेगावाट बिद्युत निकाल्ने लक्ष्य छ । त्यस्तै दोभानमा  विशाल जलासय निर्माण गरी केही भाग पानी तिनाउमा छोडिनेछ । केही भाग पानी बुटवलको बेलवाससम्म सुरुङमार्ग मार्फत ल्याएर त्यहाँ २६ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ । बेलबाससम्म ल्याइएको पानीलाइ नहरबाट सिंचाइका लागि कपिलबस्तुको बाणगंगा पुर्‍याइने छ । आयोजनाका लागि १ खर्ब ८० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 

प्रकाशित: १३ असार २०७८ १०:३२ आइतबार

कालीगण्डकी–तिनाउ डाइभर्सन