अर्थ

शारडाको नेतृत्वमा युवा व्यवसायीको फोरम

आयात निर्यातकर्ता व्यवसायीको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ। संघको युवा विभागको रूपमा गठित फोरमको नेतृत्व गौरव शारडाले पाएका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको हो।  

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ। ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदानमार्फत व्यवसाय क्षेत्रका लागि योग्य युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए। 

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरू सिकाउँदै उनीहरूको दक्षता र क्षमता विकास गर्नेछ। यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार गर्ने बताइएको छ। फोरमको सल्लाहकारमा सुशील गुप्ता छन्। उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ।  

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन्। आयात निर्यात व्यापार प्रवद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंल र फोरमका अध्यक्ष शारडाले संयुक्त रूपमा ब्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन्।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वंशलले युवा व्यवसायीलाई उपयुक्त निकायमा आफ्ना मुद्दा जोडदार रूपमा उठाउन सुझाए। ‘तपाईंहरूले आवाज नउठाइकन कसैले सुन्दैन,’ उनले भने। नवगठित फोरमका अध्यक्ष शारडाले सफलताका लागि निरन्तर सिक्नुपर्ने औंल्याउँदै युवा व्यवसायीलाई एकै ठाउँमा ल्याएर कर्पोरेट जगतका चुनौतीको सामना गर्न सक्ने बनाउनु आफूहरूको उद्देश्य रहेको बताए। उद्योग, व्यवसायका नवप्रवेशीलाई विधि, प्रक्रिया, प्रचलित ऐन–कानुन लगायत विषयमा प्रशिक्षण, अग्रजका अनुभव लगायत माध्यमबाट दक्ष बनाउने योजना उनले सुनाए।

प्रकाशित: १३ असार २०७८ ०३:०६ आइतबार

शारडाको नेतृत्वमा युवा व्यवसायीको फोरम