अर्थ

कोरोना कहरः मासिक १० अर्ब गुमाउँदै पर्यटन क्षेत्र

विपद्मा विकल्पको खोजीमा पर्यटन व्यवसायी, पुनर्कर्जा नपाएको साना व्यवसायीको गुनासो

व्यवसायी सुदर्शन कार्कीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मनहरा टाउन प्लानिङमा खोलेको संगम स्वास्थ्य सामग्री उद्योगमा मास्क उत्पादन गरिँदै। तस्बिर : नागरिक

सुदर्शन कार्कीले २०६० सालदेखि चरिकोटमा होटल चलाउँदै आएका थिए। कोरोना महामारी आउनु र लकडाउन हुनुअघिसम्म उनको होटल आन्तरिक पर्यटकले भरिभराउ हुन्थ्यो। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग वाणिज्य परिषद्का उपसभापतिसमेत रहेका कार्कीको संगम होटलमा वार्षिक सरदर २० लाखभन्दा धेरैको कारोबार हुन्थ्यो। कोरोनाको पहिलो लहरसँगै १ करोड ७० लाख लगानी गरेर खोलेको होटलमा ताल्चा लाग्यो। तीन महिना कुरे पनि सुधारको छेकछन्द आएन।

विकल्पमा उनले बैंकबाट डेढ करोड ऋण थपेर गत असोजमा मास्क उद्योग खोले। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मनहरा टाउन प्लानिङमा रहेको उनको ‘संगम स्वास्थ्य सामग्री उद्योग’ ले दैनिक ५० हजारभन्दा बढी मास्क उत्पादन गर्छ। होटेल बन्द भएर बिचल्लीमा परेका मजदुरलाई उनले त्यही मास्क उद्योगमा ल्याएर रोजगारी दिएका छन्। विपद्ले व्यावसायिक यात्रा मोड्नुपर्ने बाध्यता बनाएको उनले बताए।  

विपद्मा विकल्पको खोजीमा पर्यटन व्यवसायी, पुनर्कर्जा नपाएको साना व्यवसायीको गुनासो

कोभिडले होटल व्यवसाय ध्वस्त पारे पनि कोभिडले नै गर्दा खोलएको मास्क तथा सेनिटाइजर उद्योगमा उनले व्यावसायिक सफलता पाएका छन्। मास्क उद्योगकै नाफाले बैंकको किस्ता तिरिरहेको उनी बताउँछन्। सम्पूर्ण खर्च कटाएर मासिक २ लाखभन्दा धेरै आम्दानी भइरहेको उनले बताए।  

कार्कीले जस्तै धेरै पर्यटन व्यवसायीले विकल्पमा नयाँ व्यवसाय खोल्दैछन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वकोषाध्यक्ष रामहरि तिमिल्सिनाले सन् २००५ देखि ठमेलमा हिमायन सिनरी ट्रेकिङ कम्पनी राम्रैसँग चलाउँदै आएका थिए। सिजनमा सयभन्दा धेरैलाई रोजगारी दिँदै आएका थिए। तर लकडाउनले कार्यालयको भाडा तिर्नसमेत धौ–धौ भयो। विकल्पमा उनी आफ्नै जन्मथलो धादिङको त्रिुपरासुन्दरी–७ पुगेर कुखुरा फार्म खोल्ने सुरसारमा छन्। उनी भन्छन्, ‘पहिला हरिया डलर सोहोरिन्थ्यो, अब कुखुराको सुली सोहोर्ने भइयो।’ पर्यटन व्यवसाय तत्कालै उक्सिने नदेखिएकाले जीविकोपार्जनका लागि नयाँ पेसा अँगालिएको तिमिल्सना बताउँछन्। कार्की र तिमल्सिनाजस्तै सबैले भनेजस्तो विकल्प पनि अपनाइहाल्न सक्दैनन्। ठमेल पर्यटन विकास समितिका उपाध्यक्ष भविश्वर शर्माका अनुसार केही पर्यटन व्यवसायीले वैकल्पिक पेसा व्यवसाय अँगाले पनि अधिकांश पर्यटन व्यवसायी धराशायी हुने अवस्थामा पुगेका छन्, अधिकांश व्यवसायी भने अहिले पनि पर्ख र हेरकै अवस्थामा छन्।  

अहिले काठमाडौं र पोखरामा मात्रै २ हजारभन्दा धेरै ट्रेकिङ व्यावसायी छन्। कोरोनाकै कारणले ट्रेकिङका तीन सिजन खेर गइसके। कोरोनाका कारण ट्रेकिङ क्षेत्रले मात्रै १६ अर्ब जति नोक्सान बेहोरिसक्यो। ट्रेकिङ क्षेत्रसँग आबद्ध ३ लाख ५० हजारभन्दा धेरै मजदुर प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार यस्तै अवस्था रहिरहने हो भने ट्रेकिङ व्यावसायी मात्र होइन व्यवसाय नै पलायन हुने अवस्था आउन लागेको छ। सरकारले सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी योजना आरम्भ गरिसकेको थियो। चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वलाई नै प्रभाव पार्दा नेपाल पनि बच्न सकेन। महामारी रोक्न पहिलो चरणमा २०७६ चैत ११ देखि मुलुकभर लकडाउन भयो। त्यसले गर्दा पर्यटन क्षेत्र ठप्प हुन पुग्यो। बिस्तारै तंग्रिन थालेको अवस्थामा कोरोनाको दोस्रो लहर भित्रियो। त्यसपछि जारी निषेधाज्ञाले पर्यटन क्षेत्रलाई गम्भीर घाइते बनाएको छ।  

मासिक १० अर्ब नोक्सान

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने पर्यटन क्षेत्रले मात्रै कोभिड–१९ को असरले मासिक १० अर्ब रूपैयाँभन्दा धेरै नोक्सान बेहोर्दै आएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले होटल, विमान सेवा, ट्रेकिङलगायत पर्यटनसम्बद्ध क्षेत्रबाट मासिक १० अर्ब रूपैयाँ घाटा हुने देखाएको छ। सरकारले चैत ११ गतेदेखि ठप्प भएको अन्तर्राष्ट्रिय हवाई उडान भदौदेखि र आन्तरिक हवाई तथा लामो रुटका सवारीसाधन असोज १ गतेदेखि सञ्चालनमा ल्याएको थियो। महामारीकै बीचमा बहराइन र कतारका राजकुमारलाई हिमाल आरोहणका लागि विशेष अनुमति दिएको थियो। बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको २९ असोज २०७७ मा सफल आरोहण गरेको थियो। कतारका राजकुमार सेख मोहमद विन अब्दुल्लासहितको १४ जनाको टोलीले २०७७ कात्तिक २६ मा अमादब्लम हिमालको सफल आरोहण गरेको थियो। यी दुई अरबी मुलुकका राजकुमारले हिमाल आरोहण गरेर फर्किएसँगै नेपालको पर्यटन क्षेत्रबारे विश्वव्यापी रूपमा सकारात्मक सन्देश पनि प्रवाह भयो। सरकारले २०७७ कात्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा खुला गर्ने निर्णय गर्‍यो।  

सरकारले गत मंसिर १ गतेदेखि पर्यटन क्षेत्रका सबै गतिविधि खुला गरेको थियो। कोभिड–१९ का कारण पर्यटन क्षेत्रले मासिक १० अर्ब रूपैयाँभन्दा धेरै नोक्सानी बेहोर्दै आएको बताउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय शर्मा पनि पर्यटन व्यावसायीहरू जस्तै नेपालको पर्यटन क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको बताउँछन्। कोरोनाको पहिलो लहरको असरबाट तंग्रिँदै गरेको पर्यटन क्षेत्र कोभिडको दोस्रो लहरका कारण फेरि चपेटामा परेको छ।  

कोरोनाकै कारणले नेपालको पर्यटन क्षेत्रले करिब एक खर्ब रूपैयाँ जतिको नोक्सानी बेहोरिसकेको छ। बोर्डका अनुसार कोभिड–१९ को संक्रमण केही कमी भएसँगै कात्तिक २०७७ देखि आन्तरिक पर्यटनको चहलपहल सुरु भएको र कात्तिकदेखि २०७८ को वैशाखको सुरुवाती दिनसम्ममा नेपालको पर्यटन क्षेत्र आफ्नो खर्च उठाउने हैसियतमा पुगिसकेको थियो। बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार २०७७ कात्तिकदेखि कोभिड १९ को संक्रमणमा कमी आएसँगै विदेशी पर्यटक आवागमनको सुरुवात भएको थियो। बोर्डका अनुसार सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ४, फ्रेब्रुअरीमा ९ हजार १ सय ४६ र मार्चमा १४ हजार ९ सय ९७ जना विदेशी पर्यटक नेपाल आएका थिए। वैशाख १६ देखि दोस्रो लहरको कोरोना नियन्त्रणका लागि निषेधाज्ञा गरिएपछि पर्यटन क्षेत्रमा फेरि कालो बादल मडारिएको छ। पर्यटन बोर्डका प्रवक्ता लामिछाने दोस्रो लहरको कोरोना अझै घातक भएकाले असर लामो समयसम्म रहने अनुमान गर्छन्। कोभिडविरुद्धको खोप अभियानसँगै पर्यटन क्षेत्र पुनरुत्थान हुने आशा भने उनको छ।

पर्यटनको हिस्सा घट्दो

राष्ट्रिय योजना आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सन् २०१८/१९ मा पर्यटन क्षेत्रले कुल ग्रार्हस्थ्य उत्पादनको २.७ प्रतिशत हिस्सा ओगेटेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए। तर महाव्याधिका कारणले सन् २०२० मा भने २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल आए। आयोगको अध्ययनअनुसार २ लाखभन्दा धेरै मजदुरले पर्यटन क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए। एक विदेशी पर्यटकले दैनिक ४८ अमेरिकी डलर खर्च गर्ने सो अध्ययनले देखाएको थियो। औसतमा विदेशी पर्यटकको नेपाल बसाइ भने १२.७ दिन हुने गर्छ। आयोगले कोभिडको महामारीपछि कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको १ प्रतिशतभन्दा कम रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगले वार्षिक प्रतिवेदनमा सुझाएको छ, ‘सीमित क्षेत्रका बाहेक अधिकांश उद्योगव्यवसायहरू छिटै, आफैं बौरिन नसक्ने अवस्थामा पुगेकाले उनीहरूलाई महसुस हुने, प्रत्यक्ष लाभ हुने र बौरिन मद्दत मिल्ने खालको राहतको व्यवस्था गर्नु आवश्यक छ।’ आयोगले द्रुत रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गरी नागरिकको आय बढाउने र त्यसमार्फत आन्तरिक माग वृद्धि गर्ने विषयमा दोस्रो रणनीतिमा जोड दिएको छ।  

केन्द्रीय तथ्यांक विभागले २०७७ फागुनमा लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म नै पूर्ण प्रभावित रहने प्रक्षेपण गरेको थियो। तर कोभिडको सबैभन्दा धेरै असर आवास तथा भोजन सेवा र यातायात तथा भण्डारण क्षेत्रमा परेको देखियो। तसर्थ आवास तथा भोजन सेवा २५.७ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्र १३.४ प्रतिशतले खुम्चिने संशोधित अनुमान गरेको थियो। विभागको तथ्यांकबाटै के पुष्टि हुन्छ भने कोभिडको सबैभन्दा धेरै असर आवास तथा भोजन (पर्यटन क्षेत्र) मा नै परेको देखाउँछ। कोभिडको पहिलो लहरबाट धराशायी भएका पर्यटन व्यवसायीलाई उकास्न सरकारले सहुलियत दरमा पुनर्कर्जा ल्याएको थियो। तर टानका अध्यक्ष खुमबहादुर सुवेदी साना ट्रेकिङ व्यवसायीले सरकारले सहुलियत दरमा दिने भनेको पुनर्कर्जासमेत पाउन नसकेको बताउँछन्।

पुनर्कर्जा १९ अर्ब ८८ करोड

नेपाल राष्ट्र बैंकका अनुसार कोभिडबाट प्रभावित पर्यटन क्षेत्रका व्यवसायीले गत वैशाख १० सम्म आफ्नो व्यवसाय उकास्न भन्दै करिब २० अर्ब रूपैयाँ पुनर्कर्जा लिएका छन्। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पर्यटन व्यवसायीले पुनर्कर्जाबापत १९ अर्ब ८८ करोड रूपैयाँ ऋण लिएको बताउँछन्। विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४३ अर्ब ७१ करोड रूपैयाँ उपलब्ध गराएको छ। जसमध्ये पर्यटन व्यवसायीले ४५.४९ प्रतिशत अर्थात् १९ अर्ब ८८ करोड रूपैयाँ पुनकर्जा लिएका हुन्। ३२ वटा बैंक तथा वित्तीय संस्थाबाट ३ सय १५ ऋणीले सो पुर्नकर्जा लिएका हुन्। प्रवक्ता ढकाल कोभिड प्रभावित कति पर्यटन व्यवसायीले पुनकर्जा लिए भन्ने आधिकारिक तथ्यांक आइनसकेको बताउँछन्। पर्यटन क्षेत्रले ४५.४९ प्रतिशतका दरले पुनर्कर्जा पाएको छ। कोभिडबाट अति प्रभावित होटल व्यवसायीले न्यूनतम २ करोड ५४ लाख रूपैयाँदेखि २० करोड रूपैयाँसम्म पुनकर्जा लिएका छन्। पुनकर्जाको ब्याजदर ५ प्रतिशत मात्रै छ।  

ठूला होटल व्यवसायी तथा पर्यटन व्यवसायीले पुर्नकर्जा पाए पनि साना पर्यटन व्यवसायीले भने पुनर्कर्जा पाउनै नसकेको गुनासा पनि आएका छन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष शर्मा पहुँचवाला तथा ठूला होटल व्यवसायीले पुनर्कर्जा पाए पनि साना पर्यटन व्यवसायीले पाउन नसकेको बताउँछन्। तर राष्ट्र बैंकका प्रवक्ता ढकाल भने प्रक्रिया पूरा गरेर आएका सबैजसो पर्यटन व्यवसायीले पुनर्कर्जा पाएको दाबी गर्छन्।

सरकारी छुटको सुविधा

संघीय सरकारले कोभिड महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्टलाई लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क मिनाहा गर्ने निर्णय गरेको थियो। २०७७ फागुन २० मा बसेको मन्त्रिपरिषद्को बैठकले होटल उद्योगका रूपमा दर्ता भई नियमित रूपमा नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई २०७६ चैत ९ देखि भदौसम्म भुक्तानी गर्नुपर्ने डिमान्ड शुल्कको शतप्रतिशत छुट दिने निर्णय गरेको थियो। सोही बैठकले २०७७ असोज १ देखि माघ मसान्तसम्म पनि डिमान्ड शुल्कमा ५० प्रतिशत छुटको निर्णय गरेको थियो। प्रदेश सरकारले पनि लकडाउनको अवधिमा पर्यटन व्यवसायको इजाजतपत्रको नवीकरणमा जरिवाना नलाग्ने व्यवस्था गरेको थियो।  

सरकारले नयाँ बजेटमा पनि गत वर्षजस्तै उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिने व्यवस्था गरेको छ। कोरोना प्रभावित होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, हवाई सेवा, हस्तकलाजस्ता अन्य व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था गरेको छ। महामारीमा आइसोलेसन सेन्टरका रूपमा होटल सञ्चालन गरे सरकारले निर्धारण गरेको रकम उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने बजेट वक्तव्यमा उल्लेख छ। अन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकबराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ। निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोहीअनुसारको सुविधा प्रदान गर्ने भएको छ।  

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिसा निःशुल्क प्रदान गर्ने भनिएको छ। स्थानीय तह र निजी क्षेत्रको समन्वय एवं सहकार्यमा कृषि पर्यटन, पर्यापर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाइ खेल पर्यटन, शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवद्र्धन गरिने सरकारले जनाएको छ। प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले नयाँ बजेटमा कोरोनाबाट अत्यधिक प्रभावित होटल, ट्राभल ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याएको छ।  

वाग्मती प्रदेश सरकारले पनि कोभिड प्रभावित व्यवसायको नवीकरण तथा विलम्ब शुल्क छुट दिने निर्णय गरेको थियो। वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले २०७६ चैत ११ को लकडाउनका कारणले उपत्यका पर्यटन कार्यालयबाट नवीकरण हुने पर्यटन व्यवसायको इजाजतपत्रको नवीकरण अवधिको म्याद थप गर्नुका साथै समयमै नवीकरण नगर्दा लाग्ने जरिवाना र विलम्ब शुल्कसमेत छुट दिने निर्णय गरेको थियो।

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७६/७७ मा १ अर्ब ६५ करोड रूपैयाँ पर्यटन क्षेत्रका लागि बजेट विनियोजन गरेको थियो। तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले कोभिड–१९ का कारण विनियोजित बजेटमध्ये ४३ करोड रूपैयाँ मात्रै खर्च भएको जानकारी दिए।

सगरमाथा आरोहण

पर्यटन विभागले महामारीबीच यो वर्ष सगरमाथा आरोहणका लागि ४३ समूहका ४ सय ८ जनालाई अनुमति दिएको थियो। राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको बहराइन रोयल गार्ड सगरमाथा आरोहण दलले २०७८ वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरे। पर्यटन विभागका निर्देशक मीरा आचार्यले ओरोहणको सिजन अझै नसकिएकाले अहिलेसम्म कति ओरोहीले सगरमाथा ओरोहण गरे भन्ने यकिन तथ्यांक आइनसकेको बताइन्।

आन्तरिक पर्यटक प्रवद्र्धन आवश्यक रहेको महसुस

नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय पर्यटककै भरमा चल्दै आएको थियो। तर कोभिड महामारीले पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएसँगै पर्यटन क्षेत्रले नौलो अनुभव तथा पाठ सिक्दै आएको छ। पर्यटन विभागका महानिर्देशक तामाङ कोभिड महामारीपछि विदेशीलाई मात्रै पर्यटक मान्ने आम धारणालाई परिर्वतन गर्न आवश्यक रहेको बताउँछन्। उनी पश्चिमा पर्यटकले भन्दा पनि स्वदेशी पर्यटकको घुमघाम र खर्च गर्ने क्षमता धेरै बढेकाले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिन्छन्।  

नेपालको पर्यटन क्षेत्रले पछिल्लो पाँच वर्षको अवधिमा धेरै ठूलो विपत्ति तथा समस्या झेल्दै आइरहेको छ। २०७२ सालको महाभूकम्प, भारतीय नाकाबन्दी र चार पर्षपछि कोभिड महाव्याधिको सामना गर्नुपर्‍यो। त्यसैले पनि विदेशीको मात्र भर नपरी आन्तरिक पर्यटक प्रवद्र्धनबाटै पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्ने र विपत्तिसँग जुध्न आवश्यक पर्ने कोष तथा अन्य संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता देखियो।  

रोकिएन नयाँ होटल दर्ता  

कारोना महामारीका बाबजुद पर्यटन क्षेत्रका पूर्वाधार निर्माण कार्य भने रोकिएन। महामारीले पर्यटन क्षेत्र धराशायीजस्तै बनाए पनि व्यवसायीले पर्यटन क्षेत्रमा आफ्नो लगानी भने रोकेका छैनन्।  

पर्यटन विभागको तथ्यांकअनुसार कोभिड–१९ को महामारीका बेलामा पनि ठूला तारे होटेल थपिने क्रम भने रोकिएन। झापाको धुलाबारीमा १ अर्ब ५० करोड कुल पुँजीको पाँचतारे डिलक्स भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएर सञ्चालनमा आएको छ। यसै अवधिमा आफ्नो संरचना तयार पारेर द्वारिकाज काठमाडौं भिलेज होटल प्रालि बत्तीसपुतली र इमिरो प्लाजा (बसेरा बुटिक होटल) पनि पर्यटन विभागमा दर्ता भएका छन्।

बसेरा बुटिक डेढ अर्बको कुल पुँजीमा सञ्चालनमा आएको हो। कोभिडकै समयमा तीन तारे होटलहरू आफ्नो भौतिक संरचना तथा स्तरोन्नति गर्दै चार तारे होटलमा अपग्रेड भएका छन्। त्यस्ता होटलमा पोखराका होटल बाराही, होटल सांग्रिला भिलेज र होटल ल्यान्डमार्क, रूपन्दहीको नान्स होटल र नेपालगन्जको होटल स्नेह छन्। महामारीकै बेला बर्दिबासमा होटल नव्या थपिएको छ। काठमाडौंमा होटल लिटिल जेम्स र भक्तपुरमा होटल भादगाउँ दुईतारे थपिएका हुन्। कोराना अवधिमा रिसोर्टतर्फ भने पाँचवटा दर्ता भए। पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ कोभिडको जोखिम मोलेरै भए पनि व्यवसायीले सुदूर भविष्यको सपना र सम्भावना देखेर लगानी गर्दै आइरहेको बताउँछन्।

प्रकाशित: १२ असार २०७८ ०२:४६ शनिबार

कोरोना कहर पर्यटन क्षेत्र होटल आन्तरिक पर्यटक