अर्थ

बाढीपहिरोले ३१ सडक खण्ड अवरुद्व

बाढीपहिरोले देशभरका ३१ ठाउँमा सडक अवरुद्व भएकोमा बिहीबार साँझसम्म १५ खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक विभागले पछिल्लो समय आएको बाढीपहिरोले विभिन्न राजमार्गको ३१ सडक खण्ड अवरुद्व भएकोमा बिहीबार बेलुकासम्म चारवटा सडक दुवैतर्फ खुलाएको जनाएको छ। १२ खण्ड अहिलेसम्म खुलाउन सकेको छैन।  

गत जेठ ३१ गतेदेखिको निरन्तर वर्षाले देशभरका सडक तथा पुलहरू भत्काएको छ। सडक विभागका उपमहानिर्देशक तथा यान्त्रिक महाशाखाका भुवन अधिकारीले विभागले आफ्नो सम्पूर्ण जनशक्ति तथा उपकरण परिचालन गरेर अवरुद्व सडक खुलाउने प्रयत्न गरिरहेको बताए। ‘विभागसँग भए जति सबै स्रोत साधन प्रयोग गरेर जतिसक्दो चाँडो पहिरोले पुरिएका सडक सञ्चालन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘वर्षा र पहिरो झर्ने क्रम नरोकिएकाले सोचेजस्तो छिटो काम हुन सकिरहेको छैन।’

सडक विभागको तथ्यांक अनुसार बाढीपहिरोले साँफेबगर–मार्तडी–कोल्टी राजमार्ग, डुम्रे–बेसीसहर–चामे राजमार्ग, पाँचखाल–मेलम्ची–टिम्बु खण्ड, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ खण्ड, अरनिको राजमार्ग अन्तर्गतको काठमाडौं–धुलिखेल–दोलालघाट, खाडीचौर–कोदारी खण्ड, राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुल्सीपुर, शितलपाटी–थारमारे मुसीकोट खण्ड, छिन्च–कुदु–जाजरकोट–दुनै, धो–तिन्जे–मरिस सडक अवरुद्ध भएको छ। ती सडकमा कतै पहिरो खसेर, कतै बाढीले बगाएर क्षति पुर्‍याएको छ। बाढीपहिरोले मूर्तिया–गुलरिया खण्ड, खोड्पे–चैनपुर सडक खण्ड, कर्णाली राजमार्ग अन्तर्गतको जमुनाहा–नेपालगन्ज कोहलपुर–सुर्खेत, खुलाल–हिल्सा खण्ड पनि अवरुद्ध भएको छ। बाढीपहिरोकै कारणले सुर्खेत–दैलेख महावुलेखगाल्जे, नाग्मा–गमगढी–नाक्चेनाग्रा लगायतको खण्ड पनि अवरुद्व भएको छ।

अवरुद्ध सडक खोल्न २०५ ठूला उपकरण परिचालन

सडक विभागका उपमहानिर्देशक अधिकारीले बाढी पहिरोले अवरुद्ध सडक खुलाउन दुई सय पाँच ठूला उपकरण (हेभी इक्विपमेन्ट) परिचालन गरिएको बताए। ‘पहिरो पन्छाउन सडक विभाग मातहतका सबै उपकरण परिचालन गरेका छौं,’ उनले भने, ‘सम्भावित पहिरो जान सक्ने ठाउँलाई पायक पारेर राजमार्गका विभिन्न स्थानमा स्ट्यान्ड बाई अवस्थामा राखेका छौं।’  

सडक विभाग, यान्त्रिक महाशाखाले २०५ उपकरणमध्ये ८७ वटा विभिन्न प्वाइन्टमा राखेर परिचालन जनायो। २०५ उपकरणमध्ये १३० वटा विशेष गरेर पहिरो पन्छाउने खालका छन्। ‘सामान्यतया पहिरो गएको ३० मिनेटभित्रै पन्छाउने उपकरण पुर्‍याउने लक्ष्यसहित परिचालन गरिएको छ,’ उनले भने, ‘नौबिसेदेखि नारायणगढसम्म मात्रै ६ स्थानमा उपकरण परिचालन गरेका छौं।’ उपमहानिर्देशक अधिकारीले सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग र अन्य राजमार्ग समेत पर्याप्त जनशक्ति खटाएर काम गरिरहेको दाबी गरे। ‘पहिरोले सिद्धार्थ राजमार्गमा धेरै असर पारेको थियो,’ उनले भने, ‘बिहीबार २ः०० बजेदेखि सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा खुलाएका छौं।’

पाँचखाल मेलम्ची–टिम्बु सडक योजनाका प्रोजेक्ट म्यानेजर किरण कार्कीले बाढीपहिरोले मेलम्ची बजारदेखि टिम्बु हेलम्बुतर्फ जाने सडक लेदोको कारणले अवरुद्व भएको बताए। ‘पाँचखालदेखि मेलम्ची बजारसम्मको सडक अवरुद्व छैन,’ उनले भने, ‘मेलम्ची बजारदेखि उत्तरतर्फबाट टिम्बु जानेतर्फ करिब दुई सय मिटर सडक बाढीको लेदोले कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकेका छैनौं।’ प्रोजेक्ट म्यानेजर कार्कीले निरन्तर पानी परिरहेकोले अवरुद्ध सडक खुलाउन गाह्रो भएको बताए।

सडक डिभिजन कार्यालय साँफेबगरका इन्जिनियर दमनकुमार विष्ट साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड मध्ये आधा दर्जन ठाउँमा बाढी पहिरोले सडक अवरुद्व भएको बताउँछन्। ‘निरन्तर पानी परेकाले पहिरो झर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘अहिलेसम्म ६ भन्दा धेरै ठाउँमा अवरुद्व छ। हामीले पहिरोले पुरिएको सडक क्लियर गर्ने काम गरिरहेका छौं।’

प्रकाशित: ४ असार २०७८ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App