अर्थ

कास्कीमा रासायनिक मल पर्याप्त

म्याग्दीको बेनी नगरपालिका–५, सेताढुंगामा धान रोपाइँमा व्यस्त स्थानीय। तस्बिर सौजन्य : अनुप बानियाँ

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।  

महानगरपालिकाले विभिन्न ५५ वटा कृषि सहकारीमार्फत मल बिक्री वितरण हुँदै आएको उल्लेख गरेको छ। ‘महानगरपालिकाले नै मूल्य तोकिदिएको छ। तोकिएको मूल्यमा सहकारीले किसानलाई बिक्री गरेका छन्,’ कृषि महाशाखा प्रमुख मनहरि कडरियाले भने, ‘ठाउँ अनुसार मूल्य तय गरिएको छ। बजार क्षेत्रमा केही सस्तो पर्छ।’ ढुवानी गर्नुपर्ने ठाउँमा भने केही बढी मूल्य तिर्नुपर्ने बाध्यता छ। ढुवानीले गर्दा कास्कीका टाढाका ठाउँमा मूल्य थोरै बढी पर्छ। किनभने त्यसमा ढुवानी खर्च जोडिन्छ।’

कास्कीमा बर्सेनि दुई हजार मेट्रिक टन रासायनिक मल खपत हुने गरेको तथ्यांक छ। कृषिविज्ञ समेत रहेका कडरियाका अनुसार हाइब्रिड धानलाई बढी रासायनिक मल प्रयोग गर्नुपर्छ। किसानबाट मल अभावको गुनासो कृषि महाशाखा समक्ष आइपुगेको छैन। ‘अभाव र अपुग भएको गुनासो आएको छैन,’ उनले भने, ‘रासायनिक मलको प्रयोग समेत कम हुँदै गएको छ।’ किसानले पछिल्लो समय घरेलु गाईभैंसीको मल (प्रांगारिक), जुत्तो, पिना, कुखुराको सुली लगायत मल प्रयोग गर्ने गरेका छन्। किसानलाई कृषिमा अनुदान अन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको छ। तरकारी तथा फलफूल उत्पादन गर्ने किसानलाई प्लास्टिक तथा असिना छेक्ने तारजाली अनुदान दिइएको छ।  

कृषि महाशाखाले युरिया, पोटास र डिपिए मल किसानलाई उपलब्ध गराउँदै आएको छ। युरिया प्रतिकिलो २०/२१ रूपैयाँ तय गरिएको छ। डिपिएको मूल्य ५० रूपैयाँको सेरोफोरमा तय गरिएको उनले बताए। ‘तोकिएको मूल्यमा किसानलाई उपलब्ध हुन्छ,’ उनले भने, ‘तर टाढा ढुवानी गर्नुपर्दा ढुवानी खर्च त्यसमा जोडिन्छ।’ कृषि सहकारीले मल बिक्री वितरणको लागि बर्सेनि आवेदन बढाउँदै लगेका छन्। महानगरले पनि आवश्यकता अनुसार किसानलाई सजिलोको लागि आवेदन अनुसार कृषि सहकारीलाई मल बिक्री गर्ने स्वीकृति दिँदै आएको छ।  

कास्कीमा ताल किनारका फाँटमा रोपाइँ भइसकेको छ। फेवाफाँट, बेगनास फाँट र रूपातालको तालबेसी फाँटमा रोपाइँ भइसकेको महानगरपालिकाले जनाएको छ। सिचाइँ सुविधा पुगेको क्षेत्रमा पनि धान रोपाइँ सुरु भइसकेको छ। तथ्यांक अनुसार १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ। कास्कीमा १२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको तथ्यांक छ। पोखरामा ३३ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक कृषि महाशाखासँग छ। पोखरामा २०–२५ प्रतिशत क्षेत्र हाइब्रिड धानले ओगटेको छ। 

रैथाने जातका धानलाई प्रांगारिक मल नै सुहाउने कृषिविज्ञ बताउँछन्। पोखराको फाँटहरूमा पहेंले, अनदी, जेठबुढो, खोल्टोखोला, रमनी जस्ता धान उत्पादन हुन्छ। हाइब्रिड प्रतिहेक्टर पाँच टनसम्म फल्ने गरेको तथ्यांक छ। स्थानीय जातको धान भने तीन टन प्रतिहेक्टर उत्पादन हुन्छ।

प्रकाशित: ३ असार २०७८ ०२:२७ बिहीबार

रासायनिक मल म्याग्दीको बेनी नगरपालिका–५ सेताढुंगा धान रोपाइँ