अर्थ

गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब रुपैयाँ बढीको बजेट ल्याएको छ। प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयको समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५ अर्ब ६८ करोड १८ लाख रुपैयाँले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ७२ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ६ करोड  ४७ लाख ९४ हजार र  पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ भने वित्तीय ब्यबस्थापनतर्फ २४ करोड विनियोजन प्रस्ताव गरिएको छ । कुल बजेटमा पूँजीगततर्फ विनियोजित रकम  ४३.५ प्रतिशत, चालु खर्चतर्फ ५५.७ प्रतिशत र वित्तीय ब्यबस्थापनतर्फ ०.८ प्रतिशत रहेको छ ।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ र सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख रुपैयाँ हुने उल्लेख छ । यसैगरी समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टी बापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख २७ हजार रहेको बजेटमा उल्लेख छ ।

सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट ४ अर्ब १० करोड घाटा बजेट हो । सो घाटा बजेट चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको २ अर्ब १० करोडको मौज्दात रकमबाट पूर्ति गरिने मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । त्यस्तै बाँकी २ अर्ब घाटा बजेट आन्तरिक ऋणबाट १ अर्ब र एक अर्ब नेपाल सरकारबाट ऋण लिएर पूर्ति गरिने उनले बताए ।

प्रकाशित: १ असार २०७८ ११:३६ मंगलबार

गण्डकी प्रदेश आर्थिक वर्ष २०७८÷०७९