अर्थ

नेप्सेले तीन हजार नाघ्यो

लगानीकर्ताको आकर्षण बढ्दै गएपछि सेयर बजार मापक परिसूचक नेप्से तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ। सोमबार बुलिस ट्रेन्डलाई पछ्याउँदै नेप्से ४२.२४ बिन्दुले बढेपछि ३०२५.३४ पुगेको हो। जो अहिलेसम्मकै उच्च हो।  

केही दिनदेखि नेप्से लगातार बढिरहेको छ। यस दिन तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर खरिदबिक्रीमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार पाँच सय १८ रूपैयाँमा कारोबार भयो। होटल एन्ड टुरिजम, बैंकिङ, जलविद्युत् लगायत उपसमूहको कारोबार बढेको छ। नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ।  

असार १ देखि आवश्यकता अनुसार बैंक सञ्चालन हुने

असार १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गरिएको उल्लेख गर्दै यस्तो जनाएको हो। सीमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भीड बढ्न गएको हुँदा स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनीकरणको आवश्यक उपाय अबलम्वन गर्नुपर्नेछ।  

निक्षेपको तुलनामा कर्जा लगानी न्यून

पछिल्लो एक सातामा बैंकहरूको निक्षेप संकलनको तुलनामा करिब आधा कमले कर्जा लगानी भएको छ। बैंकर्स संघले सोमबार सार्वजनिक गरेको विवरण अनुसार जेठ अन्तिम साता (२१–३० सम्म) १३ अर्ब रूपैयाँ निक्षेप संकलन हुँदा आठ अर्ब रूपैयाँ मात्र लगानी हुन सकेको छ। वैशाख महिनाको तुलनामा भने जेठ मसान्तसम्ममा बैंकहरूले २७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब रूपैयाँले कर्जा लगानी बढाएका छन्। जेठको अन्तिम सातासम्म सबै बैंकहरूले ३९ खर्ब ८२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्। त्यस्तै सोही अवधिसम्म ३६ खर्ब ४२ अर्ब रूपैयाँ लगानी गर्न बैंकहरू सफल भएका छन्।

प्रकाशित: १ असार २०७८ ०२:५० मंगलबार

नेप्सेले तीन हजार नाघ्यो