अर्थ

वर्षे धान भित्र्याउँदै किसान

सिन्धुलीको तीनपाटन गाउँपालिका १० का किसान वर्षे धान काट्दै। तस्बिर : अनिल भण्डारी/नागरिक

मुलुकभर फैलिएको कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा जारी रहँदा सिन्धुलीको तीनपाटन गाउँपालिकाका किसान धान काट्न व्यस्त छन्। तीनपाटन गाउँपालिका, वडा नम्बर १० का किसान चैते धान काट्न व्यस्त भएका हुन्।  

कोरोना भाइरसका कारण जिल्लाभर निषेधाज्ञा भइरहँदा तीनपाटनका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याई छ। यो गाउँपालिकाका केही स्थानमा तीन बाली हुने भएकाले हिउँदे धान र वर्षे (चैते) धान किसानले रोप्दै आएको स्थानीय बताउँछन्। ‘हाम्रो गाउँमा वर्षे धान काट्न सबै किसान व्यस्त छन्,’ स्थानीय युवा राजन कार्कीले भने, ‘यहाँका किसानले चैतमा रोपेको धान जेठ अन्तिमदेखि असार पहिलो साताभित्र थन्क्याएर पुनः हिउँदे धान रोप्ने गरेका छन्। 

तीनपाटनमा वर्षे धान राम्रो फल्दै आएको छ। सिँचाइको राम्रो सुविधा भएकाले तीन बाली भित्र्याउन यहाँका किसानलाई सहज छ। चैतमा रोपेको धान असारमा भित्र्याउने र पुनः असारमै हिउँदे धान रोपेर कात्तिक–मंसिरमा धान भित्र्याएपछि किसानले गहुँ मुसुरो जस्ता बाली लगाउने गरेका छन्।

वर्षे धान काट्ने काम अन्तिम चरणमा पुगेको स्थानीय पदमबहादुर कार्कीले बताए। ‘अबको केही दिनमै धान भित्र्याएर पुनः धान रोपिन्छ, यहाँका खेतमा दुईपटक धान किसानले लगाउदै आएका छन्,’ उनले भने, ‘किसानको जिउने मजबुत आधारनै यही धान बाली हो।’ किसानहरू सरकारले बेलेमै मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताउँछन्। 

विगत वर्ष झैं यस वर्ष पनि वर्षे धान राम्रो फलेको किसानको भनाइ छ। हिउँदे धान जिल्लाका धेरै स्थानमा हुने भए पनि वर्षे धान भने तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोसीका केही स्थानमा मात्र हुन्छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App